खाेटाङ, चैत २५ : नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा जिल्लावासी महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त गरेपछि उहाँका आफन्त तथा जिल्लावासी खुशी भएका हुन् ।
सरकारबाट गभर्नरमा नियुक्त हुनुभएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र खोटाङवासीले अधिकारीलाई बधाई तथा शुभकामना दिइरहेका छन् । भट्टराईले अधिकारी असाधारण व्यवसायिक क्षमता भएका, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभवका खानी भएको जनाउँदै खोटाङको साधारण परिवार र परिवेशमा जन्मेर आफ्नै मेहनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर कुशलता प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भट्टराईले इमानदारिताका साथ काम गर्न अधिकारीलाई सुझाव दिए । अधिकारीलाई पाँच वर्षे डेपुटी गभर्नर पदबाट बाहिरिएपछि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । खोटाङको दक्षिणी क्षेत्रमा जन्मेका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गरेका छन ।
सन् १९९४ मा राष्ट्र बैङ्कका उपनिर्देशक भइसकेका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ । नवनियुक्त गभर्नर अधिकारीले खोटाङको सिम्पानी माविबाट विसं. २०३८ सालमा एसएलसी उत्तिर्ण गरेका थिए । काङ्ग्रेस सभापतिविरुद्ध भातृ सङ्गठन नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठको अभिव्यक्तिप्रति भातृ सङ्गठनहरुले विरोध जनाएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई अभद्र अभिव्यक्ति दिएको भन्दै विभिन्न दश भातृ सङ्गठनले विज्ञप्ति मार्फत् विरोध जनाएका हुन् । सभापति श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९)को आशंकामा कटारी अस्पतालमा आइसोलेसनमा बसेर भागेका र उनका आफन्तसहित नौँ जनालाई क्वारेन्टाइनमा नराख्न नगरप्रमुख राईमाथि दबाव दिँदै अभद्र अभिव्यक्ति दिएको भन्दै उक्त गतिविधि राजनीति र सामाजिक हितविपरीत भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई, क्षेत्र नं १ का उपभासति लोकेन्द्र राजभण्डारी, तरुण दल अध्यक्ष भीषण राई, नेविसङ्घ अध्यक्ष राजकुमार बस्नेत, ट्रेड युनियन काँग्रेस अध्यक्ष कृष्ण आचार्य, नेपाल महिला सङ्घ अध्यक्ष रामकुमारी राई, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ अध्यक्ष मिलन कसजु, नेपाल प्रेस युनियन अध्यक्ष उत्तम चौलागाई, नेपाल स्वास्थ्यकर्मी सङ्घका प्रकाश घिमिरेलगायतले हस्ताक्षर गरे ।
“आन्तरिक विषयलाई लिएर केही व्यक्तिले बदनाम गर्ने काम गरिरहेका छन्”, सभापति श्रेष्ठले भने, “यसलाई पार्टीभित्रै छलफल गरेर समाधान गर्छौँ ।”

