काठमाडौं, वैशाख ७ : औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधिको पुरै तलव दिन उद्योगी व्यवसायी सहमत भएका छन्। आज उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य परिसंघ, घरेलु तथा साना उद्योग महासंघ , नेपाल चेम्बर अफ कमर्सलगायत प्रतिनिधिहरुसँगको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कोरोनाका कारण विश्वभरी रहेका नेपाली युवाहरुले रोजगारी गुमाएर स्वदेश फर्किएको अवस्थामा उत्पादनशील उद्यमशिलतामा सहभागी गराउन विशेष योजना तयार गर्न कार्यदल समेत गठन गरेको छ।
वाणिज्य मन्त्रालयको औद्योगिक लगानी तथा प्रर्वद्धन महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलमा कृषि तथा पशुपंक्षी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा उद्योगका छाता संगठनका प्रतिनिधी सम्मिलित छन्।
कार्यदललाई १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिएको मन्त्रालयले जनाएको छ । बैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ चरणमा वर्गीकरण गरी उच्चस्तरीय समितिमा प्रस्ताव लैजाने निर्णय समेत गरेको छ।