“परिवारका साथमा हुन पाए ढुक्क हुन्थ्यो”
सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

रूकुम, वैशाख ८ : चौरजहारी वडा नं ५ का नौ युवा घर जानका लागि अहिले पोखरा आइपुगेका छन् ।  तीन दिनको पैदल यात्रापछि यहाँ आइपुगेका  उनीहरु यतिबेला पोखरा महानगरपालिका वडा नं ९ स्थित नवप्रभात स्कूलमा आश्रय लिइरहेका छन् ।

गोरखाको बारपाक र आसपासका ठाउँमा भूकम्पबाट भत्किएका  निर्माण  गर्दै आएका उनीहरु लकडाउनमा काम नभएपछि परिवारको न्यास्रो मेटाउन आफ्नै जन्मघरतिर हिँडेका हुन् ।

पैदलयात्रीमध्ये प्रेम केसीले लकडाउनले दिन बिताउनै मुश्किल भएपछि घर हिँडेको बताए । “हामी गोरखामा घर बनाउने काम गथ्र्यौँ तर कोरोनाले गर्दा काम गर्न पाइएन, सरकारले लकडाउनग¥यो , स्थानीय सरकारले राहत त दिएको थियो, राहतको रासन खाएर दिन काट्न साह्रै गाह्रो भयो, यो विपत्को बेला घर जान पाए परिवारका साथ बस्न पाइन्थ्यो, खेतीपातीको काम गर्न पाइन्थ्यो ।” उनिहरु यही वैशाख ५ गते हिँडेर ७ गते यहाँ आइपुगेका छन्  ।

एक्काइस वर्षीय पवन केसी पनि काम गरेर खान नपाएपछि घर हिँडेको बताउँछन् । “काम गर्न पाएनौँ, घरबाट बाआमाले अरुहरु घरआए, तिमीहरु कहिले आउँछौ भन्दै फोन गर्न थाले, अनि हामी हिँडेका हाैं”, केसीले भने, “हामी नौ जनालाई छ दिन पुग्ने रासन स्थानीय सरकारले दिएको थियो तर सहज भएन राहतको रासनमा दिन बिताउन, बरु गाउँमै गएर परिवारसँगै बस्ने र गहुँ काटेर दिन बिताउने भनेर पैदलयात्रा गरेका हौँ ।”  केसीले आँबुखैरेनीमा अभियान भट्ट नामका एक व्यक्तिले पानी र  फलफूल दिएको तथा २० किलोमिटरसम्म गाडीमा ल्याइदिएको बताए ।

केसीको समूहलाई पोखरा आएपछि एक स्थानीयवासी महिलाले केही खानेकुरा, रिचार्ज कार्ड र रु नौ सयका साथ सामुदायिक स्कूलमा बस्ने मिलाएकी हुन् । उस्तै उमेर समूहका तन्नेरीहरुको एउटै चाहना परिवारको साथ दुःखसुख साटेर खेतीकिसानीमा दिन बिताउने रहेको देखिन्छ ।

“सरकारले रुकुमसम्म पु¥याइदिए निकै खुशी हुने थियाैं । गहुँ काट्ने बेला भएको छ, वनका काफल पनि सम्झिरहेका छौँ”, समूहका एक युवकले भन्नुभयो, “हामी रहरले नभई बाध्यताले पैदल यात्रा गरेका हाैं, घरसम्म पुग्न पाए हुन्थ्यो ।” तिनका अनुसार बागलुङबाट नै रुकुम पुग्न तीन दिन लाग्छ ।

पोखरा–९ का वडा सचिव लोकदर्शन कोइरालाले युवाहरु बाटामा अलपत्र परेको खबर पाएपछि उद्धार गरिएको बताए । “अहिले परिस्थिति जटिल छ, पैदल हिँड्नु रहर नभई बाध्यता बनेको छ, यस बेला घरका परिवारको साथमा रहन खोज्नु स्वाभाविक पनि हो, हामीले उनिहरुलाई बागलुङसम्म पु¥याउनका लागि पहल गरेका छौँ”, कोइरालाले भने, “सिडिओ कार्यालयको अनुमति पत्र कुरेका छौँ, मिल्यो भने बागलुङसम्म  गाडी व्यवस्था हामी गर्न तयार छौँ ।”

कोइरालाका अनुसार रेडक्रसले १०  कम्बल र आमा समूहले  उक्त सामुदायिक स्कूलमा १० जनाका लागि ओढ्ने ओछ्याउने व्यवस्था गरेका छन् ।  खानाका लागि भने स्थानीयवासीको सहयोग जुुटिरहेको छ । आवश्यक परे अरुलाई पनि खाना खुवाउन सकिने कोइरालाले बताए । उनले भने, “अहिले सिद्धमार्ग आमा समूहले खाना पकाउन सहयोग गरिरहेको छ, वडामा १९ वटा आमा समूह सक्रिय छन्, आवश्यक परे सबैलाई परिचालन गरेर हामी अलपत्र परेकालाई खाना खुवाउन तयार छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय