लकडाउनमा घर जान पाउँदाको खुशी !
मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित

फिदिम, वैशाख १६ : पाँचथरको कुम्मायक–१ यासोकका टेकवीर लावती हिउँदभरी काठमाडौंमा ज्यामी काम गर्छन् । बर्खा लागेपछि गाउँ फर्कन्छन्, खेतीपाती गर्छन् । छ जनाको परिवार पाल्ने लावतीको आधार यासोकको खेतीपाती र काठमाडौंको रोजगारी हो । चैत लाग्दै थियो,उनी गाउँ जाने तयारी गर्दै थिए ।

“चैत ९ गते साथीहरुले सुनाए– अब पूरै देश बन्द हुन्छ रे । गाउँ जाने तयारी गरौँ”, लावतीले सम्झिए, “तर मालिकले चैत १२ गते पारिश्रमिक दिने बताए । हामी त विलखबन्दमा पर्‍यौँ ।” चैत ११ गतेबाट लकडाउन सुरु भयो । उनी काठमाडौंमै अड्किए ।

“परिवार एकातिर छन्, आफू अर्कातिर छु । परिवार चलाउन जम्मा गरेको पैसाले महिना दिन खाएँ । भाग्यले आज घर जान पाएको छु”, आईतबार फिदिममा भेटिएका लावतीले भने, “अझै कतिदिन क्वारेन्टाइनमा बस्नुपर्ने भन्छन् । पैसा नलिए त राम्रै हुन्थ्यो । पक्कै रोग सरेको छैन होला ।” पाँचथरका स्थानीय तहले काठमाडौंमा अलपत्र परेका स्थानीयवासीलाई उद्धार गरी ल्याउने क्रममा लावतीले घर आउने अवसर पाएका हुन् ।

“काठमाडौंबाट खोजेर यहाँसम्म ल्याए । एक पैसो खर्च पनि भएको छैन”, लावतीले स्थानीय तहका जनप्रतिनिधि र काठमाडौंमा उद्धार गर्ने व्यक्तिलाई धन्यवाद दिँदै भने, “परिवारसँग छुटेर कोठामा थुनिएर बस्नुपर्दा साह्रै दुःख भयो । आज घर आउन पाउँदा खुशी भएँ । अब त नानीहरु (छोराछोरी)लाई यासोक (क्वारेन्टाइन)मै भए पनि देख्न पाउँछु ।”

काठमाडौं उपत्यकामा अलपत्र परेका जिल्लावासीलाई काठमाडौंमा सक्रिय पाँचथरवासीका सामाजिक संघ संस्थाको पहलमा जिल्ला ल्याइएको हो । उक्त कार्यमा यहाँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित पूर्वसांसदहरु, प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहले विशेष पहल गरेका हुन् । शुक्रबार र शनिबार मात्रै काठमाडौंमा रहेका २ सय ९२ जना जिल्ला आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए ।

यसरी आउनेमै पर्छन् जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाकी मञ्जु लिम्बू पनि । “घर आउने तयारीमै थियौँ । नानीको परीक्षा सकिँदै थियो । श्रीमानको बिदा मिलेको थिएन”, घर जाने क्रममा फिदिम आइगेकी लिम्बूले भनिन्, “सानो नानीसँग रातारात हिँड्नुप¥यो । अझै घर पुग्ने टुङ्गो छैन ।” लकडाउन लागू गर्ने निर्णय समयमै नहुँदा काठमाडौं तथा जिल्ला आउने क्रममा बाटोमा ठूलो सास्ती भोग्नुपरेको उनको अनुभव छ । “नानीसँग क्वारेन्टाइनमा छु । छिटो परीक्षण गरी होम क्वारेन्टाइनमा पठाइदिनु भए हुन्थ्यो”, लिम्बूले भनिन् ।

काठमाडौंबाट घर फर्किनेमा पीडा र खुशीको सम्मिश्रण भेटिन्छ । कोही साँच्चै समस्यामा परेर गाउँ फर्केका छन् त कोही आफन्त र छरछिमेकी गाउँ जाने भएपछि काठमाडौंमै बस्न सक्ने हुँदाहुँदै पनि घर फर्केका छन् । घर जाने क्रममा काठमाडौंबाट फिदिम आइगेका जिल्लाको मिक्लाजुङ–३ आरुबोटेका धनकुमार फियाकले भने, “रासन सकिएको थियो । पर्याप्त राहत पनि पाइएको थिएन । धन्न घर आउने मौका पाएँ । निकै दुःख भए पनि गाउँ आउन पाउँदा बेग्लै आनन्द भयो ।”

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन घोषणा भएको एक महिनापछि काठमाडौं उपत्यकामा अलपत्र जिल्लावासीको उद्धार गरिएको हो । यसरी उद्धार गरिएकालाई जिल्लामा ल्याई यहाँस्थित क्वारेन्टाइनमा राखिएको छ ।

“गाउँमा सङ्क्रमण फैलने त्रास हुने हुनाले सबैलाई क्वारेन्टाइनमा राख्ने प्रवन्ध गरेका हौँ । र्‍यापिड डाइग्नोस्टिक परीक्षण (आरडिटी) गरेपछि होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्काउन स्थानीय तहहरुलाई आग्रह गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले भने । ग्रामीण क्षेत्रमा बढेको सङ्क्रमणको जोखिमलाई ध्यान दिन प्रशासनले सबै पक्षसँग आग्रहसमेत गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय