२८ असोज, काठमाडौं । चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हरायो । हैदरावादको यो पाँचौं हार हो ।
चेन्नाईले पहिले ब्याटिङ गर्दै हैदरावादसामु १६८ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् ।
यो जितसँगै चेन्नाई अंक तालिकाको छैटौं नम्बरमा पुगेको छ र प्लेअफको दौड रोमाञ्चक बनेको छ ।
चेन्नाई, हैदरावाद र राजस्थान रोयल्सको समान ६–६ अंक भएको छ । रेन रेटका आधारमा हैदरावाद पाँचौं र राजस्थान सातौं स्थानमा छन् । चौथो नम्बरमा रहेको कोलकाता नाइट राइडर्सको आठ अंक छ । हैदरावाद र चेन्नाईले बाँकी टिमसँग एक–एक म्याच बढी खेलेका छन् । यी दुवै टिमले आठ खेल खेलिसकेका छन् । साभार अनलाइनखबर