माडी उपत्यकाः बिकासका अवसर र चुनौति (भाग -२)
मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित

टीकाराम पौडेल

माडी उपत्यकाको समग्र बिकासको कुरा गर्दा त्यहांको आर्थिक, सामाजिक अवस्था, प्राकृतिक सम्पदा र भू बनावट अनि दिगो र प्रभावकारी बिकासका बारेमा सोच्नु जरुरी छ । स्थानीय समुदायका आवश्यक्ता, चाहना र आकांक्षा परिपूर्ति गर्न र माडीलाई समृद्ध र सम्पन्न बनाउनका लागि जैविक विविधता संरक्षणमैत्री बिकासको मोडल तयार गरी अगाडी बढ्ने बाटो रोझ्नुपर्ने देखिन्छ ।

वास्तवमै माडी नेपालको एउटा उत्कृष्ट र मौलिक भू बनावट भएको उपत्यका भएकोले यसलाइ अत्यन्त सुन्दर, आकर्षक र मोडल बस्तीका रुपमा बिकास गर्नेतर्फ गम्भिरतापूर्वक अध्ययन, अनुसन्धान गरी योजना निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने अवस्था छ ।

वन र वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको सहभागिताका लागि नेपालले अंगिकार गरेको नीति र कार्यक्रम संसारका अन्य देशका लागि समेत मोडल भएको छ । तराइ क्षेत्रमा जैविक विविधतामैत्री बिकासको मोडलका रुपमा माडीको बिकासलाई अगाडि बढाउन सकिएमा यसले माडीको समृद्धि र संशारमा नेपालको गरिमा बढाउन समेत मद्दत पु¥याउने बिश्वास लिन सकिन्छ ।

अब परम्परागत र झारा टार्ने मोडलका बिकासले माडीको कायापलट गर्न सकिने अवस्था छैन । यसका बिविध पक्ष र कारणहरु छन । माडीको बिकासको कुरा गर्दा केहि यस्ता पक्षहरु प्नि छन जो धेरै सोच, बिचार, चिन्तन, मनन र समन्वय, सहकार्य गरेर अगाडी बढ्नुपर्ने हुन्छ ।

बिकासको एउटा आधार बिजुली र संचार

चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत प्राकृतिक सम्पदा हो । अनुपम प्राकृतिक वातावरण र विश्वमा दुर्लभ रहेका वन्यजन्तुहरुको वासस्थान भएका कारण चितवन राष्ट्रिय निकुञ्ज सन १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सफल भएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत हुनुमा आंफैमा त्यस स्थानको र देशको पहिचान विश्व सामु बनाउन सफल हुनु हो भने देश र त्यस स्थानको गौरबको विषय पनि हो ।

विश्व सम्पदा सूचीमा समाबेश भए पछि त्यसको आफनै मूल्य र मान्यता छन भने संरक्षण र व्यवस्थापनको हिसाबले युनेस्कोले तोकेको मापदण्डको पालना गर्नुपर्र्ने नियमनकारी वाध्यता पनि संगसंगै रहेको छ । युनेस्कोले जहिले पनि उक्त सम्पदालाई खलल पुग्न सक्ने खालका कृयाकलाप नगर्न प्रेरित र नियमन गर्छ भने उक्त नियमनकारी अवस्थाले कतिपय स्थानीय आवश्यकता परिपुर्तीमा केही असहजता पनि आउन सक्ने अवस्था रहन्छ ।

यद्यपी अति आवश्यक विषय र त्यसलाई पूर्ती गर्दा सम्पदालाई न्यून जोखिममा गर्न सकिन्छ भन्ने लागेमा सम्पूर्ण प्रक्रिया पुर्याई युनेस्कोसंग अनुमति लिई त्यस्ता काम गर्न सकिन्छ । माडीमा विजुली र टेलिफोन सेवाका लागि वन्यजन्तुलाई असर नपर्ने गरी केबुल लाईन अण्डर ग्राउण्ड गरेर सञ्चालन गरिनुलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ ।

माडीबासीको आवश्यकतालाई महसूस गरि चितवन राष्ट्रिय निकुञ्जले धेरै पहिला नै पोलबाट तार तानेर बिजुली सेवा उपलब्ध गराउन सहमति प्रदान गरेको भएता पनि युनेस्कोबाट स्वीकृती प्राप्त नहुंदा करिब १० बर्ष उक्त काम रोकियो र पछि विकल्पको रुपमा निकुञ्ज भित्र अण्डर ग्राउण्ड तार बिछ्याइ बिजुलि र संचार सेवा उपलब्ध गराउने प्रस्तावमा सहजै स्वीकृती प्राप्त भएको थियो ।

सोही बमोजिम माडीमा बिजुलि र संचार सेवा उपलब्ध भएको अवस्था छ । माडीको बिकासका लागि बिजुली र संचारको क्षमता बिकास गर्नुपर्ने भएमा पछि सम्मका लागि दिगो र भरपर्दो उपाय अवलम्वनमा ध्यान दिनुपर्ने हुन्छ ।

कमजोर भू बनोट र बाढी पहिरोको जोखिम

माडी भ्यालीको उत्तर र दक्षिण तर्फ चुरे र सोमेश्वर पहाड रहेका छन । जुन उत्पत्तीको हिसावले कान्छो पहाड हो भने यसको बनोट ढुङ्गा र माटोको मात्र हो । हिमालय चट्टानबाट, महांभारत पहाड चट्टान र ढुङ्गा माटोबाट बनेको छ ।

जसले गर्दा हिमालयमा हिउं पहिरोमात्र जाने, महांभारतमा माटोको भाग बढी भएको स्थानमा पहिरो जाने हुन्छ भने चुरे पहाडलाई संरक्षण गरिएन भने सबै स्थानमा बर्षादको पानीले माटो,गिटी,ढुङ्गा, स्वतहः बगाएर लैजाने र सो पहाडको तल्लो भागमा खेती योग्य जमिन पुरिदिने, खोलाको सतह पुरिनाले पानी चारै तर्फ बग्ने, घर जग्गा बगाउने र जमिन मरुभूमीकरण तर्फ जाने गर्दछ ।

जंगलमा आगो लगाउने, कमजोर जमिन खनजोत गर्ने, उत्खनन् गर्ने र बढि चरिचरण गर्ने कारणले कमजोर पहाडमा पहिरो जाने खतरा रहन्छ । माडी भ्यालीमा अहिले गएर हेर्दा उत्तर तर्फ चितवन राष्ट्यि निकुञ्ज पर्ने भएकोले कुनै पनि मानबीय कृयाकलाप नभएकोले बाढी पहिरोको असर प्रायः शुन्य छ भने दक्षिण तर्फको सोमेश्वर पहाड तर्फ मध्यवर्ती सामुदायिक वनको रुपमा प्रयोग भईरहेको र बस्ती पनि करिब पहाडको फेदीसम्म रहेको छ ।

पहाडको फेदीसम्म खनजोत र मध्यवर्ती सामुदायिक वन अतिक्रमण,वनमा अत्यधिक काठ दाउरा संकलन, चरिचरण, अनियन्त्रत रुपमा ढुङ्गा,गिटी,वालुवा उत्खनन् एवं संकलनका कारणले घेरैजसो खोलाहरुमा सोमेश्वरबाट ढुङ्गा,गिटी,वालुवा बगेर आई खोलाको सतह त्यहांको जमिन भन्दा अग्लो भई रहेको छ र त्यसैको कारणबाट खोलाको वरिपरिको जग्गा मरुभूमीकरण तर्फ उन्मुख छ भने बस्तीहरु जोखिममा परेका छन ।

संरक्षणको बिषयलाई राम्रोसंग नबुझेका मानिसहरुले बगेर आएको ढुङ्गा,गिटी,वालुवा उठाएर विक्री गर्नु पर्छ भन्ने कुरा चर्को रुपमा उठाउंछन र दीर्घकालीन संरक्षणको विषयमा मौन रहन्छन । स्थानीय मानिसहरु पनि तत्कालको समस्या समाधान गर्नेमा नै खुसी हुन्छन र सो कार्य पनि भने जसरी गर्न सक्दैनन् अन्ततोगत्वा समाधान हुनको सट्टा समस्या थपिंदै गएको छ र जोखिम बढ्दो अबस्थामा छ ।

सोमश्वरबाट बग्ने सबै खोलाहरु उत्तर तर्फ बस्तीको बीचोबीच बग्दै रिउखोलामा मिसिन्छन र रिउखोला पूर्बबाट पश्चिम तर्फ बगेको छ । सबै खोलामा आएको बाढी भू—क्षय भई बगाएर ल्याएको ढुङ्गा,गिटी,वालुवा थुप्रिदै जांदा रिउ खोलाको सतह पनि बढेर पानी खोलामा नअटाएर बाढीको समयमा खेतीयोग्य जमिन तर्फबाट बग्ने र उक्त जमिनमा पनि बालुवाले पुर्ने गरेकोले सयौं विगाहा आवादी निजी नम्बरी जग्गामा पनि खेति गर्न नसकेर बांझो नै बसको देखिन्छ ।

साबिक अयोध्यापुरी गा.वि.स.को क्षेत्रमा बगाई,घांघर लगायतका धेरै खोलाहरु रहेका छन भने माडीमा पानीको बहाबको शुरुवात पनि त्यहीबाट नै हुन्छ । यस्तो अत्यन्त कमजोर भू बनोट भएको क्षेत्रमा बिकास गर्न खोज्दा बिनास बढ्ने र मानिसको जिउधन समेत जोखिममा पर्ने खतरालाई दृष्टिगत गर्नु जरुरी छ ।

वनक्षेत्र अतिक्रमण र वनभित्रको अब्यवस्थित बशोवास

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने माडी नगरपालिकाको सिमांकन भित्र पर्ने मध्यवर्ती वनमा ब्यापक अतिक्रमण छ । हाल चर्चामा रहेको कुसुम खोला, कान्छी बगाई पनि सोही स्थानमा नै पर्दछ । यदि यि लगायतका अतिक्रमित क्षेत्रमा रहेका बसोबासलाई समयमा नै व्यवस्थापन गरिएन भने माडीको भविश्य जोखिममा परिरहने छ ।

अतिक्रमित वन क्षेत्र र सो वन क्षेत्रमा आश्रीत मानिसहरुका बारेमा कसैले ध्यान दिएको पाइदैन । आश्चर्यको कुरा यो छ कि आफनो बसोबास जीवन जोखिममा परिरहेको छ तर जनताको सेवक भनिने राजनिति कर्मीहरुले अतिक्रमित क्षेत्रमा भएको बसोबास व्यवस्थापनको कुरा त गर्दैनन् नै अतिक्रमण भएको क्षेत्रमा नियमानुसार सरोकारवाला निकायले ब्यवस्थापन गर्न खोज्दा समेत भाँजो हालेर भोटको राजनीति गर्ने गरेका छन ।

यस्तो कार्यले माडीका समग्र जनताको खुट्टामा बन्चरो हान्ने काम भएको छ । यो विषमा थोरै मानिसहरुको स्वार्थ रहेको तर अधिकांस मानिसले दुःख कष्ठ झेल्नु परेको छ र परिरहने छ । यसको मतलब मानिसलाई दुःख दिनु पर्छ लखेट्नु पर्छ भन्ने चाही होईन । उचीत छानबीन गरेर वास्तविक जग्गा नै नभएकाहरुको पहिचान गरि उचित स्थानमा व्यवस्थापन गरिनु पर्दछ ।

यसैमा माडी बासिको भविश्य सुन्दर हुने छ भने जंगलको बीचमा वन्यजन्तुको जोखिम मोलेर अव्यवस्थित बसोबास गरेका मानिसहरुको पनि भविश्य सुनिश्चित र सुखमय हुने छ । चितवन राष्ट्रिय निकुञ्जले संकलन गरेको आ.व. २०७०÷२०७१ सालको तथ्यांक हेर्दा माडी क्षेत्रमा भएको वन अतिक्रमणको अवस्था यस्तो देखिन्छ ।

उल्लेखित अतिक्रमण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकोले सो को संरक्षण व्यवस्थापनको जिम्मेवारी पनि सोही कार्यालयको हुन आउंछ । बिगतमा निकुञ्जले अतिक्रमण व्यवस्थापन गर्न पहल गरेता पनि राजनितिक दल र जिल्ला स्थित अन्य कुनै पनि कार्यालयबाट सहयोग नमिल्दा यो कार्यले पूर्णता पाउन नसकि अतिक्रमणको समस्याले बिकराल रुप लिंदै गएको देखिन्छ । वास्तविक सुकुम्बासी पहिचान गरि उनीहरुलाई उपयुक्त स्थानमा व्यवस्थीत बसोबास गराई उक्त स्थान खाली गर्न उपयुक्त हुने देखिन्छ । सो नभएमा निम्न लिखित समस्या हुने देखिन्छ ।

(क) वरिपरि वन क्षेत्र भएकोले वन्यजन्तुले बालीनाली नोक्सान गर्ने र मानव एवं पशु चौपायको क्षति निरन्तर भई रहने ।

(ख) प्याउली, कान्छी बगाई र कुसुमखोला चुरेको भिरालो एवं ठाडा खोलाको छेउमा पर्ने भएकोले खनजोत,चरिचरण र आगलागी गर्दा अत्यधिक भू—क्षय भई अयोध्यापुरी लगायत सो भन्दा पश्चिममा पर्ने माडीको सबै क्षेत्रमा नदी उकास भई पानी गाउं तर्फ आउने हुँदा मानव बस्ती र खेतियोग्य जमिन तीब्र रुपमा पुरिने क्रम झन बढ्दै जाने ।

(ग) खेती जोगाउने शिलशिला र प्रतिशोधका कारण वन्यजन्तुको अबैध शिकार भई मानिसहरु पक्राउ पर्ने र दण्ड जरिवानामा पर्ने क्रम नरोकिने ।

(घ) अबैध बसोबास भएकोले न्यूनतम मानवीय भौतिक बिकासका कार्यक्रमहरु गर्न नमिल्ने, वन्यजन्तुबाट हुने क्षतिको राहत नपाउने ।

(ङ) वन्यजन्तुको वासस्थान बिनाशका साथै ठुला वन्यजन्तु ओहोर दोहोर गर्ने कोरिडोर विनाश एवं अबरुद्ध हुँदा जनधनको क्षति बढ्ने ।
(च) निकुञ्जले नियमन गर्न खोज्दा सधै बादविबाद भई रहने र उक्त स्थानमा बस्ने मानिसहरुलाई हीनताबोध भईरहने साथै स्थायी बसोबासको प्रत्याभुती र पूर्ण रुपमा अपनत्वको महसुस नहुने ।

(छ) सधै जोखिममा जंगलको बिचमा जीवन निर्वाह गर्नुपर्ने जनताका छोराछोरी शिक्षा, स्वास्थ्य, सुरक्षा, खानेपानी, यातायात जस्ता आधारभूत आवश्यक्ताबाट सधै बिमुख रहनुपर्ने ।

अतिक्रमण हटाइ व्यवस्थित बशोवासको बिकल्प

कुसुमखोला,प्याउली, कान्छी बगाई र बांदरझुलामा बसोबास गरेका ब्यक्तिहरुका बारेमा निश्पक्ष छानविन गरी ब्यवस्थित बशोवास गराउनै पर्ने ठहर भएका ब्यक्तिलार्ई अन्यत्र स्थायी बसोबासको व्यवस्थापन गर्न नसिकने अवस्था भएमा अमुवाखोलाको मध्यवर्ती भागमा दुर्बै तर्फ तटवन्ध गरी एउटा पुल निर्माण गरी ठोरीको पुरानो आवादी चौतारा पारिदेखि नै बशोवास गराउने र बांदरझुलाको पश्चिममा रहेका मानिसहरुलाई पनि पूर्व तर्फ मात्र व्यवस्थित बसोबास गराई वनको व्यवस्ति सिमांङकन गरि कडाईका साथ संरक्षणको व्यवस्था मिलाउने एउटा विकल्प हुन सक्दछ ।

यो कार्य गर्दा अन्य आवादीबाट ३ कि.मि भित्र वरिपरि निकुञ्ज रहेको राष्ट्रिय निकुञ्जको दक्षिण पूर्वी कुनामा पर्ने शिकारी वासको नम्बरी आवादीमा बसोबास गर्ने मानिसहरुलाई पनि बांदर झुलामा सारिएमा अतिक्रमण नियन्त्रणका साथै छरिएर रहेको वस्ती पनि एकत्रित र व्यवस्थित हुने देखिन्छ । यसो भएमा भने उक्त बांदर झुला भन्दा पश्चिम र अयोध्यापुरी भन्दा पूर्वको कोरिडोर सुरक्षित रहने साथै घरबास बिहिनका लागि घरबासको ब्यवस्था भइ शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा आदीको प्रबन्ध गर्न पनि सजिलो हुने देखिन्छ ।

वन्यजन्तुको असर

चितवन नयां वस्र्र्ती हो । वि.संं २०१२ सालदेखि फंडानी गरी बस्ती वस्न शुरु गरिएको चितवनमा पहाडबाट आउने मानिसहरुको रोजाई भरतपुर नारायणगढ गैंडाकोट नभई माडी नै थियो भन्ने कुरा हाम्रा बुवा, हजुर बुवाले भन्ने गर्नुहुन्थ्यो । पहाडबाट आउने मानिसहरुको रोजाई खेती योग्य जमिनको साथसाथै गाई भैसी पालेर जंगलमा चराउने, घांस दाउराको सुबिधा हेरेर वस्ती रोज्ने चलन थियो ।

माडीमा खोलानाला प्रशस्त भएकोले पानीको सुबिधा, हाल चितवन राष्ट्यि निकुञ्ज भएको क्षेत्र जंगल भएकोले गाई भैसी चराउन र घांस काट्न, काठ दाउरा संकलन गर्न प्रशस्त पाईने भएकोले पहाडका मानिसहरु सिधै माडी जाने गरेका थिए । त्यहांबाट ठोरी नाका नजिक पर्ने भएकोले कपडा, नुन लगायतका वस्तु ल्याउन सजिलो पनि भयो किनभने उक्त समयमा पूर्व पश्चिम राजमार्ग पनि थिएन र नारायणगढमा बजार पनि थिएन ।

वि.सं. २०३० सालमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना पश्चात निकुञ्ज भित्र पहिला उपभोग गरेको चरिचरण, काठ दाउरा र घांस संकलनको कार्य पनि रोकियो । विस्तारै निकुञ्ज नियममा कडाई हुदै गयो । भरतपुर सदरमुकाम आवत जावत गर्न पनि सुबिधा प्राप्त बाटोबाट मात्र सुर्योदय देखि सुर्यास्तसम्म मात्र हिड्न पाईने भयो । यसले गर्दा प्रशस्त गाई भैसी पाल्ने चलनमा पनि विस्तारै परिवर्तन भयो भने निकुञ्जको सुरक्षा राम्रो बन्दै गए पछि वन्यजन्तुको संख्यामा पनि बृद्धि हुंदै गयो ।

बाघ,गैंडा, चितुवा, मृग प्रजाति, बंदेलको संख्यामा उल्लेख्य बृद्धि भयो भने जंगली हात्तीको संख्या बृद्धिको साथै बाह्रै महिना बस्न थाल्यो । निकुञ्ज भित्र छाडा प्रवेशमा बन्देज लागे पछि गाई भैसी चरिचरण निषेध गरियो । जसको फलस्वरुप स्थापना कालमा २० प्रतिशतमा रहेको घांसे मैदानको क्षेत्र खुम्चिदै आधा भन्दा पनि कम हुन पुग्यो भने सालघारीमा पनि अन्य प्रजातिका मिश्रित बोट विरुवाका साथै अग्लो ढड्डीले छोप्यो र घांसे मैदान ढड्डी घारीमा परिणत भयो ।

चैत्र बैशाखमा जंगलमा ढडेलो लागे पश्चात पालुवा पलाउंदा सबै वन्यजन्तुहरु निकुञ्ज भित्र नै चरिचरन गर्न रुचाउछन भने उक्त घांस बढेर छिप्पिंदै जांदा श्रावण भदौ देखि पौष माघसम्म वन्यजन्तुहरु कलिलो घांसको खोजीमा निकुञ्ज बाहिर मध्यवर्ती क्षेत्र र अवादीमा निस्कने गरेको पाईन्छ । जंगली हात्ती भदौदेखि धान खानको लागि निस्कने गर्दछ भने बंदेल चित्तल पनि मध्यवर्तीको आवादीमा जाने गरेको पाईन्छ ।

यसरी निकुञ्ज बाहिर जाने वन्यजन्तुबाट खेतीबाली नोक्सानी, घरपालुवा जनावरलाई आक्रमण र मानिस पनि आक्रमणमा पर्दा घाईते र मृत्यु हुने गरेको छ । चारै तीर वन क्षेत्र भएकोले माडीमा यस्ता घटनाहरु अन्यस्थानको तुलनामा धेरै वढी हुने गरेका छन । मानव वन्यजन्तु द्वन्दका घटनामा कतिपय अराजक र उच्छृङखल तत्वहरुले मानिसहरुको सेन्टीमेन्टलाई अवसरको रुपमा लिई ब्यक्तिगत र राजनैतीक स्वार्थपूर्तीको खेल खेल्ने गरेको पनि पाईएको छ ।

पीडितलाइ राहत दिने भन्दा पनि आफ्नो स्वार्थपूर्तीमा केन्द्रित रहेर बिभिन्न प्रकृतिका आन्दोलन हुने गरेको देखिन्छ । यहां सम्मकी निकुञ्जका कर्मचारीले नै वन्यजन्तुलाई मध्यवर्तीमा पठाएर घटना गराईएको हो भन्ने जस्तो वातावरण सृजना गर्न उद्यत रहने जमातको पनि कमि छैन । अधिकांस मानव वन्यजन्तु द्वन्द सम्बन्धि घटनाहरु मानबीय कमजोरीका कारण हुने गरेको देखिन्छ ।

कतिपय जंगल भित्र र कतिपय जंगलको छेउमा गाऊवस्ती घटनाहरु ह्ुने गरेका छन । सांझ परेपछि र विहान उज्यालो नहुंदै एक्ला एक्लै जंगलको छेउछाउमा जाने ,चरिचरणको लागि छेउछाउमा गाई भैसी लैजाने र निकुञ्ज भित्र घांस दाउरा चोरी निकासी गर्न जांदा अधिकांस घटनाहरु भएको पाईएको छ ।

माडीको बिकासको कुरा गर्दा वन्यजन्तुलाई गाऊ बस्तीमा आकर्षण गरेर पर्यापर्यटनका माध्यमबाट आर्थिक उन्नति र समृद्धि हासिल गर्ने वा वन्यजन्तुलाई आवादी क्षेत्रमा प्रबेश गर्न नसक्ने खालका संरचना निर्माण गरेर बिकास गर्ने हो भन्ने बारेमा ठोस धारणा सहितको योजना बनाउन जरुरी छ । तीन तहको सरकार अनि मध्यवर्ती क्षेत्र समेत भएकोले माडीको दिगो र समृद्धिका लागि आर्थिक स्रोतको कमी हुने देखिंदैन । केवल जनप्रतिनिधि र सरोकारवालाहरुको इच्छासक्ति, समन्वय र सहकार्यको खाँचो छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर