बेलग्रेड — स्कटल्यान्ड सन् १९९६ यता पहिलोपल्ट युरोपेली च्याम्पियनसिप फुटबललाई छनोट भएको छ । यसका लागि स्कटल्यान्डले बिहीबार प्लेअफमा सर्बियालाई टाइब्रेकरमा ५–४ ले हरायो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
खेलमा स्कटल्यान्डको नियन्त्रणका आधारमा यही टिम जितलाई बढी हकदार देखियो । खेलका नायक भने विजयी टिमका गोलरक्षक डेविड मार्सल रहे । उनले सर्बियाका लागि फुलहम स्ट्राइकर एलेक्जान्डर मिट्रोभिचले गरेका अन्तिम प्रहार जोगाएका थिए ।
कुल २४ टिम सहभागी रहने युरो च्याम्पियनसिप २०२० मा स्कटल्यान्ड समूह ‘डी’ मा छ । यसमा रहेका अन्य टिममा इंग्ल्यान्ड, चेक गणतन्त्र र सन् २०१८ को विश्वकप उपविजेता क्रोएसिया छन् । यो समूहको खेल वेम्बली र हाम्पडेन पार्कमा हुनेछ । स्कटल्यान्डका सबै पाँच पेनाल्टी गोलमा परिणत भएको थियो । मिट्रोभिचका लागि खेल बिर्सनलायक रह्यो ।
रेड स्टारको राज्को मिटिच रंगशालामा भएको खेलको अधिकांश सयम उनी स्कटल्यान्डको डिफेन्सका अगाडि चुपचाप रहन बाध्य रहे । टाइब्रेकरमा उनको प्रहार बायाँ कुनातर्फ लागेको थियो र यसमा विपक्षी गोलरक्षक मार्सलले सही अनुमान लगाए । रायन क्रिस्टीले खेलको ५२ औं मिनेटमा स्कटल्यान्डलाई अग्रता दिलाए, तर लुका जोभिचले घरेलु टिमबाट ९० औं मिनेटमा बराबरी गोल गरे । यससँग खेल अतिरिक्त समयमा गएको थियो ।
स्कटल्यान्ड पुरुष फुटबलको कुनै ठूलो प्रतियोगिताको अन्तिम चरणमा पुगेको यो २३ वर्षयता पहिलो हो । ऐतिहासिक जित र युरोपेली च्याम्पियनसिपमा छनोटपछि स्कटल्यान्डका खेलाडीले मैदानमै ठूलो खुसी मनाएका थिए ।साभार कान्तिपुर दैनिक