मैले बर्दियामा जे बुझें जे देखें
सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित

रमेश कुमार थापा
अनुभुति

आजकल बर्दियामा छु । जन्मेको घर, हुर्केको आगन स्याङ्गजा जिल्लाको सेतिदोभान लाँकुरी गाऊमा थियो । जीविकोपार्जनका लागि परिस्थितिसंग सम्झौता गर्ने क्रममा बर्दियासंग मित्रताको साइनो गाँसियो । कर्णाली र बबईको पानीले सिंचित भूमिको अन्नपानी अनि वन्यजन्तुसंग भावनात्मक सम्बन्ध जोडिए पछि जीवनका उर्जाशील दिनहरु बर्दियामा नै ब्यतित भए । शायद त्यहि भएर होला जहाँ पुगेपनि मेरो मनको घर बर्दियामा मलाई कुरिराखेको होला जस्तो लाग्छ । अनि बर्दियाको मायाले डोर्याएर ल्याउने गरेको छ । कोरोनाको डरले घरभित्रै खुम्चिएर बस्दा देश र दुनिया देखि टाढा भए जस्तो लाग्दो रहेछ । शुरुका दिनमा कोरोनाको डरले त्राहिमाम बनेको समाज बिस्तारै कोरोनाको बिस्तारित स्वरुपसंग मुकाबिला गर्दै सामान्य जनजीवनतर्फ उन्मुख हुँदै गर्दा म पनि त्यहि हुलमा मिसिएर बर्दिया झरेको हुँ । जीवनको उत्तरार्ध्द बर्दियासंगको आत्मीयताले खुशी थपेको महशुस भएको छ मलाई ।

पहिला जस्तो बाक्लो भेटघाट र कुराकानी गर्न त पाइएको छैन तर पनि पुराना साथीहरुसंग सामान्य भलाकुसारी हुने गरेको छ । अन्य जिल्लातीर जस्तै बर्दियामा पनि नेकपा भित्रको राजनीतिक खिचातानीको खिचडी पकाउने काममा साथीहरु तल्लीन भएर लागेको देखिन्छ । बर्दियामाा धेरै चिन्ता थोरै आशाका किरण बोकेर हिंड्ने साथीहरुको बाहुल्यता रहेको आभास हुन्छ । सरसरती हेर्दा बर्दियामा तीन किसिमका कमरेडहरु भेटिने गरेका छन । एकथरी कमरेडहरु सत्ता वा सत्ताधारी शक्तिको आडभरोसामा सिंगौरी खेल्न उध्दत देखिन्छन, उनीहरुको प्रस्तुति र हाउभाउ अत्यन्त आक्रामक र जे हौं हामी नै हौं भन्ने खालको देखिन्छ । दोस्रोथरी कमरेडहरु सत्ताधारीलाइ सत्तोसराप गरेर आफुलाई विधि र पध्दतिको हिमायती साबित गर्न उद्दत देखिन्छन, उनीहरु आफुहरु अरुको दोष मात्रै देखाएर आफु अब्बल देखिने प्रयासमा लागेको पाइन्छ । तेस्रोथरी कमरेडहरु पार्टीका पुराना, धेरै त्याग र योगदान गरेका तर पार्टीले जिम्मेवारी विहिन बनाएर मिल्काइएका जमात छन । तेस्रोथरी कमरेडहरुमा पार्टी फुट्छ कि भन्ने चिन्ता अनि एकजुट र मजबुत रहोस भन्ने भावना पनि प्रबल रहेको देखिन्छ ।

हिजो निर्वाचनको बेला हाम्रो सरकार बन्यो भने तिम्रा सपना पुरा गर्ने जिम्मा मेरो भयो भनी जनता समक्ष बाचा गरेर जनताको भावना जित्न सफल नेकपाका स्थानीय कार्यकर्ता आफुले गर्न पनि नसक्ने आफुले भनेको पनि कसैले नसुन्ने अवस्था आएपछि जनतादेखि भाग्ने वा लाचार भएर प्रस्तुत हुने गरेको देखिन्छ । केहि टपरटुइया भुइफुट्टाहरु मानिसलाई बेबकुफ बनाएर आकास पाताल जोड्ने गफमा मस्त देखिन्छन । अचम्म त के छ भने आफुलाइ अगुवा कार्यकता र स्थानीय नेता भन्न रुचाउने केहि मानिसहरु यस्तै अवसरवादीका पिछलग्गु बनेर हिंडेका छन । अस्तिको कुरा हो, एउटा समूहमा बसेका पाँच सात जना स्थानीय नेताका बीच अगुवा जस्ता देखिने एकजना कमरेडले मलाई देख्नासाथ इसारा गरेर बोलाए । म नजिकै के पुगेको थिएँ ङिच्च दाँत देखाउदै, तपाइ त भरखर काठमाण्डौबाट आउनु भएको के छ खबर हाम्रो पार्टीको अवस्था ? पार्टी फुट्छकि फुट्दैन भनेर प्रश्न तेर्साए । यस्तो गम्भीर प्रश्नको उत्तर कसरी दिनु म अवाक भएँ । तै पनि केहि न केहि त भन्नै पर्यो भन्ने ठानेर मैले “पार्टी फुट्ने नफुट्ने कुरा कसैले पनि ठोकुवा गर्न सक्ने अवस्था छैन तर मेरो बिचारमा दुइवटा अवस्थामा पार्टी फुट्न सक्छ” भनी जवाफ दिएँ । के हुन ति दुइ अवस्था ? भनेर उनले प्रश्न थपे । जवाफमा मैले भनें कि के.पि.ओलीले दुबै पद छोड्नु पर्ने अवस्था आए पार्टी फुट्छ कि के.पि.ओलीले दुबै पद नछोडे पार्टी फुट्छ अन्यथा फुट्दैन ।

मेरो जवाफ सकिनासाथ उनी मुन्टो घुमाएर आफ्नो वरिपरि बसेका साथीहरुतिर फर्किंदै गफ दिन थाले । ऐले पार्टी फुट्दैन, आज बिहान मात्र मेरो बिष्णुजीसंग कुरा हुंदा वहाँले मलाई प्रष्टसंग पार्टी कुनै हालतमा फुटदैन भन्नु भएको छ, भनेर ङिच्च हाँसे । उनको कुरामा विश्वास लागेर हो वा पार्टी नफुटोस भन्ने कामनाको अभिव्यक्ति हो वरिपरि बस्ने कमरेडहरुले पनि उनीसंगै हाँसो मिसाए । तपाईको ब्रम्हाँ, विष्णुसंग कुरा हुँदो रहेछ वास्तविक कुरा आफैलाइ थाहा हुँदाहुँदै मेरो फोकटिया कुरामा किन समय खर्च गर्नुभएको ? भनेर मैले उनलाई प्रश्न गरें । तर मेरो प्रश्नको जवाफ नदिइकन उनी अर्को कुराको पेटारो खोल्न थाले म आफ्नो बाटो लागें । मलाई त्यहाँको परिवेश अनि हाम्रा स्थानीय नेता भनाउदाहरुको अवस्था र हैसियत देखेर दया पनि लाग्यो । त्यो कुन विष्णु होला जो एउटा गाउस्तरको टपरटुइया कार्यकर्तासंग पार्टी फुट्ने र नफुट्ने अग्रिम आधिकारिक निर्णय सुनाउने हैसियत राख्ने ? मैले सुनेका नेकपाका ठूला नेता चाहे महासचिव बिष्णु पौडेल हुन चाहे प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल हुन उनीहरुलाइ आफ्नो ब्यस्थताका कारण खाना खाने फुर्सद त हुँदैन । जिम्मेवार पदमा बसेका ब्यक्तिहरुले कोहि नपाएर यस्ता पाङ्दुरेसंग गलगाफ गरेर बस्ने कुरै भएन । तर पनि दिनेले गफ दिएकै छ, पत्याउनेहरुले यस्तैका कुरा पत्याएका छन । कस्तो विडम्बना !

हिजो स्थानीय निर्वाचनमा एमाले र माओवादी भएर प्रतिस्पर्धा गरेका स्थानीय नेताहरु पार्टी एकता भएपछि सबै नेकपाका नेता भएका छन । तर उनीहरुको बिचार, कामकुरो, ब्यवहार हेर्दा “पार्टीमा एकता” “नेता कार्यकर्तामा अनेकता” देखिन्छ । बिगतका एमाले र माओवादी मात्रै नभएर यी दुइ भन्दा अलग एउटा तेस्रो धार पनि मजबुत तरिकाले उभिएको देखिन्छ बर्दियामा । क्षणिक लाभको स्वार्थमा कसैको पछि नलागिकन समग्र पार्टीको एकताका लागि प्रयासरत देखिने तेस्रोधार पार्टी विभाजन भैहाल्यो भने जुन पक्षमा समाहित हुन्छ त्यो नै निर्णायक शक्ति हुनसक्ने छनक देखिन्छ । तर मेरो कामना चाहिं पार्टी एकजुट होस, सबै धार मिलेर कर्णाली जस्तै अविरल प्रवाह भैरहुन भन्ने नै हो ।

मेरो यस्तो कामनाको कुनै अर्थ रहला नरहला तर जनताका अगाडी बिगत देखि थाती रहेका बाचा र कसम पुरा नगरी नेकपा टुटेर, फुटेर, भागेर कहाँ जाने ? एकपटक नेताहरुले सोच्नै पर्ने अवस्था चाहिं पक्कै हो । राजनीतिलाइ निरन्तरता दिने हो भने भोली पनि जाने ठाउँ त जनता नै हो । उधारो आश्वासनको बन्द बाकस खुलेकै छैन । फेरी कुन अनुहार लिएर जाने जनतामा ? जनताले बिश्वास गर्ने आधार बाँकी रहन्छ ? कदापि रहँदैन ।

बर्दियामा मेरो एकजना साथी छन । उनको नाम कालिराम थारु हो । साबिक शिवपुर गा.बि.स.को बठनपुरमा बस्छन । उनी कहाँबाट आएर बसेका हुन मलाई यकिन भएन तर म उनलाई २०५० साल देखि चिन्दछु । उनका बाबु आमा पनि हुनुहुन्छ । मैले देखे देखि ऐलेसम्म पनि वहाँहरु सरकारी वन क्षेत्रमा बस्नु भएको छ । कालिराम निकुञ्जमा ज्यामी काम गर्दथे तर आजकल त्यो काम पनि छुटेछ । कालिरामलाई पहिले देखि नै कम्युनिष्ट भनिन्थ्यो । माओबादी शसस्त्र द्वन्दका बेला कालिराम आतंककारी हो भनेर आरोप लगाइन्थ्यो, पक्राउ गर्न दबाब दिइन्थ्यो तर सौभाग्यको कुरा उनी कहिल्यै पक्राउ परेनन । बिगतमा बनेका शुकमबासी आयोगले कालिरामलाई कम्युनिष्ट देखे तर शुकुमबासी देखेनन । मुक्त कमैयाका नाममा धेरैले जग्गा पाए तर कालिरामको नाम त्यहाँ पनि काटियो ।

हरेक निर्वाचनमा कम्युनिष्टको झण्डा बोकेर हिंडने कालिराम नेकपाको सरकार बन्दै गर्दा अब त हाम्रो सपना पुरा होला नि भनेर मुस्कुराउने गर्दथे । केहि दिन पहिला उनले मलाई फोन गरेका थिए । यसपालि यता काम पाइएन, ज्याला मजदुरी गर्न नुवाकोट जाने बिचार गरेको छु । पार्टी फुट्छ भन्ने हल्ला छ । पार्टी फुटेपछि सरकार पनि ढल्ने होला । हाम्रो पार्टीको सरकार बनेपछि ओत लाग्ने छाप्रो बनाउने ठाउँ पाइएला भन्ने सपना पनि अधुरो रहने भयो भनेर निरासा प्रकट गरेका थिए । म बर्दिया आएको पनि हप्ता दिन बितेको छ । कालिरामलाई फोन गर्ने र भेट गर्ने हिम्मत पनि आएको छैन मलाई । यस्ता धेरै अधुरा सपना बोकेर बाँचेका आत्माहरुको आशा र भरोसा बनेको पार्टीका नेताले एकपटक छातीमा हात राखेर आफ्नो बिगतलाई फर्केर हेरुन, आफ्नो धरातल सम्झिउन र मात्र निर्णय गरुन भन्ने कामना मात्र हो ।

हिजोका दिनसम्म नेकपाको एकमना सरकार बन्न सकेन । मनमोहन अधिकारीको नेतृत्वमा बनेको नौ महिने सरकारले जनतामा आशाको किरण जलाएको थियो । त्यसपछि बनेका मिलीजुलि खिचडी सरकारमा समाबेश भएता पनि खासै जनहितकारी काम भएनन । जनताले देख्न चाहेको कम्युनिष्टको एकमना सरकार बनेपछि वास्तवमै जनतामा एक किसिमको उत्साह र खुसी पैदा भएको थियो । तर तीनै तहमा अत्यन्त मजबुत र शक्तिशाली अवस्थामा रहेको नेकपाको सरकारले द्रुत गतिमा जनताका सपना पुरा गर्नेतर्फ भन्दा पनि परम्परागत शैलीमा दिन कटाउने र झारा टार्ने प्रबृत्तीबाट काम गरिरहेको छ । केही आसेपासे र अन्धभक्तहरुको झुण्डमा घेरिएर आफु मात्र सर्वेसर्वा हुँ, मैले जे गरेपनि हुन्छ भन्ने शैली माथी देखि तलसम्म हावी देखिन्छ । यदि यहि पाराले काम गर्ने हो भने दुइतीहाइ होइन तीन चौथाइ बहुमतको सरकार बनेपनि जनताका अधुरा सपना पुरा गर्ने र जनताको मुहारमा हाँसो छर्नेतर्फ केहि उपलब्धि हुने छाँटकाँट देखिंदैन । यहि परिपाटी, यहि कार्यशैली र यस्तै मनपरि किसिमको शासन, प्रशासनको निरन्तरता रहने हो भने यो पार्टी जुट्नु वा फुट्नु अनि सरकार बन्नु वा ढल्नु जनताका लागि कागलाई बेल पाके सरह हुनेछ । अब जनता सपनाको खिचडीमा बिश्वास गर्ने मनस्थितिमा देखिंदैनन । मैले बर्दियामा जे बुझें, जे देखें, त्यहि लेखें ।

प्रतिक्रिया

सम्बन्धित खवर