‘गरिखाने अभियान’ को रोड शो शुरु
शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

‏माघ२३,(फरक समाचार) नेपाली कांग्रेसले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले गरिखाने अभियानको रोड शो शुरु गरेको छ । यो अभियान सीप विकास, स्थानीय सम्भावना पहिचान, उद्यमशीलता प्रवद्र्धन तथा विकासका साथै मुलुकमै रोजगारीको अभियान सिर्जनाको महाअभियान हो ।

राजनीतिक जनपरिचालनका माध्यमबाट मुलुकमा आम मानिसहरूलाई आत्मनिर्भर र स्वाबलम्बी बनाउने अर्थात् आर्थिक सशक्तिकरणमा केन्द्रित हुनुपर्छ भन्ने  मान्यता अनुरुप यो अभियान शुरु भएको समितिले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै समितिले राजनीतिक जनपरिचालनको जगबाट मुलुकमा ठूला–ठूला राजनीतिक उपलब्धि भएका छन् भने प्राप्त उपलब्धिको संरक्षण र जनताले प्राप्त गरेको अधिकार उपभोगका लागि उनीहरूलाई आर्थिक रूपले सशक्तिकरण गर्नुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको भनेको  छ ।

रोड शो कार्यक्रमलाई सम्बोधन गर्दै लगानी, पूर्वाधार र रोजगार समितिका संयोजक विनोद चौधरीले राजनीतिबाट औसत मानिसहरूले विकास र समृद्धिको अपेक्षा राख्ने गरेकोमा नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र जिम्मेवार दल भएकाले सरकारमा रहँदा  र नरहँदा पनि जनताकै बीच रहेर देश र समाजको लागि काम गर्ने बताए ।

‘आज लाखौंलाख युवाहरू विश्वमा भएका परिवर्तन र विकाससँग साक्षात्कार गरिरहेका छन् । इन्टरनेटको विकासले उनीहरूको ज्ञान, सीप र आकांक्षाहरूको दायरा फराकिलो भएको छ,’ चौधरीले भने, ‘हामीले उनीहरूको भावनालाई कदर गर्नुपर्छ । राष्ट्रलाई सुखी र समृद्ध तुल्याउने इमानदार प्रयासले हामीले यो अभियान शुरु गरेका हौं ।’

यो महाअभियानमा मुलुकभरबाट जो कोही जोडिन सक्नेछन् । यसका लागि कांग्रेसले प्रादेशिक समन्वय केन्द्रहरू स्थापना गरेको छ । गरिखाने बन्न चाहानेहरूलाई उद्यमशीलता विकास, स्तरोन्नति, सीप विकास, बजार विकास तथा रोजगारी खोज्ने कार्यका ल विभिन्न व्यावसायिक संस्थाहरूसँग सहकार्य गरे भएको विज्ञप्ति मार्फत जानकारी गराएको छ । यस अभियानमा आवेदन गरेका सबैलाई ‘कर्मभूमि समाज’ नामक  अभियानको साझेदार गैर–सरकारी संस्थाले सेवा प्रदान गर्नेछ ।

‘कर्मभूमि समाज’ वित्तीय स्रोत उपलब्ध गराउने संस्था होइन, तर यसले उद्यमी बन्न चाहानेलाई प्रशिक्षण, स्थानीय सम्भावनाको पहिचान, व्यावसायिक योजना निर्माण, वित्तीय उपलब्धताका उपायहरू, बजार पहुँच, उद्यम÷व्यवसायमा सम्भावित जोखिमहरूको विश्लेषण सेवा उपलब्ध गराई उद्यमीलाई शुरुदेखि अन्तिमसम्मका सबै प्रकारका सेवाहरू उपलब्ध गराउनेछ । अभियानको प्रमुख साझेदार कर्मभूमि समाजका समन्वय केन्द्रहरू सातै प्रदेशमा स्थापना भैसकेका छन् ।

यस अभियानको रोड शो कार्यक्रम माघ १४ गते आर्थिक केन्द्र वीरगञ्जबाट शुरु भई माघ १५ मा हेटौंडा, १६ मा मुग्लिन र १७ गते पोखरामा सम्पन्न भइसकेको छ । अब छिट्टै नै सुर्खेत, कैलाली, मेची र बुटवल लगायत देशका अन्य भागमा पनि यस अभियानको रोड शो आयोजना हुँदैछ ।साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय