विवादास्पद अभिव्यक्तिबाट ब्याक भए राजेन्द्र महतो
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

 

सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका उनले अभिव्यक्ति सच्याएका हुन् । उनले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् ।

 

मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाती, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

महतोको अभिव्यक्तिलाई लिएर एमालेका माधव कुमार नेपालसहितका १५ नेताका साथै विभिन्न संघसंस्थाका साथै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । उसो त एमालेकै संस्थापन पक्षका नेताले पनि महतोको अभिव्यक्तिको विरोध गर्दै सच्याउन माग गरेका थिए । कतिपयले विवादास्पद अभिव्यक्ति दिने उनलाई मन्त्रीबाट हटाउनुपर्ने माग समेत गरेका थिए । यस्तै विद्यार्थीहरुको एक समूहले उनको पुतला समेत दहन गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय