जब भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिए…
मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित

काठमाडौं, भदौ १९/पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मदतमा भारत विरुद्ध २३० रन बनाएको थियो ।

वर्षाले बारम्बार प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो र विना क्षती १४७ रन बनाएर पूरा गरेर खेल जित्यो पनि । खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरुसँग भेट गरे । जहाँ भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमलाई मेडल लगाइदिए ।

जितेको टिमले ड्रेसिङ रुममा गएर हारेको टिमलाई मेडल लगाइदिनुको खास कारण छ । भारतकै प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको जिम्मेवारी लिएसँगै उनले ह्याप्पी ड्रेसिङ रुमको माहोल सिर्जना गरेका छन् । त्यसही अनुसार नेपालले खेलेको विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल लगाएर सम्मान गर्ने चलन मोन्टीले बसालेका थिए ।

सोही अनुसार भारत विरुद्धको खेलपछि पनि तीन नेपाली खेलाडीलाई मेडल दिइयो त्यो पनि भारतीय प्रशिक्षक र खेलाडीको हातबाट । भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो । भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए । यस्तै अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए । नेपालका प्रमुख प्रशिक्षक मोन्टीले सोमपाललाई स्टार अलराउण्ड र दीपेन्द्रलाई स्टार फिल्डरको रुपमा चिनाएका थिए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय