बर्दिया अस्पतालमा दुई जटिल खाले अप्रेसन सम्पन्न
आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २३(फरकसमाचार)/ पेटको दुखाइ सहन नसकेपछि गुलरिया नगरपालिका–३, तेजिपुरका ३४ वर्षीय रामलखन यादव वैशाख ११ गते जिल्ला अस्पताल पुगे । अस्पतालमा पेटको सिटीस्क्यान,अल्ट्रा साउण्डलगायतको स्वास्थ्य परीक्षण गर्दासमेत उनको समस्या पत्ता लागेन । जसले गर्दा चिकित्सकमा अन्योलता छायो भने बिरामीमा निरासा । कन्सलटेन्ट सर्जन डा.विजय उपाध्यायले अन्ततः उनको पेट खोलेर परीक्षण गर्ने निर्णयमा पुगे ।

निरासाकै बीच १७ गते उनको अप्रेसन भयो । यादवलाई बाल्यकाल देखि नै हर्नियाको समस्या रहेको पुष्टि भयो । अस्पतालले उनको सफल अप्रेसनपछि सोही उपचार विधि अपनायो । अहिले यादवको स्वास्थ्य अवस्था सुधारात्मक छ । मधुवन नगरपालिका–१, कैलासीकी ४० वर्षीया राजकुमारी शाहीको मंगलबार जिल्ला अस्पतालले जटिलखाले सफल अप्रेसन गरेको छ । उनको पित्तथैलीमा पत्थरी थियो । यो अप्रेसन यहाँ पहिलो पटक भएको अस्पतालले जनाएको छ ।

पछिल्लो समय जिल्ला अस्पतालले आफ्नो सेवा विस्तार गर्दै गएको छ । जसले यहाँका नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यस्ता खाले उपचार गर्न यसभन्दा अघि नेपालगन्जलगायतको सुविधा सम्पन्न अस्पतालमा जानु पर्ने बाध्यता थियो । अब बर्दिया अस्पतालबाटै यी उपचार हुने बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डेयले जनाए ।

उनको नेतृत्वमा यहाँ एकपछि अर्को सेवा थपिँदै गएको छ । अघिल्लो साता अस्पतालमा मिर्गौला रोगीका लागि हेमोडायलाइसिस सेवा सुरु भएको छ । त्यसैगरि लेजरबाट पयाल्सको अप्रेसन गर्ने तयारीमा छ । जटिल प्रकृतिका उपचार जिल्लामा उपलब्ध हुनु खुसीको कुरा भएको स्थानीयको भनाई छ ।

विगतमा अस्पतालमा एनेस्थेसियालोजिस्ट डाक्टर नहुँदा सहायकका भरमा सामान्य प्रकृतिका अप्रेसन हुने गरेका थिए । अब एनेस्थेसियालोजिस्ट डाक्टर भएकाले ठूला तथा जटिल प्रकृतिका अप्रेसन गर्ने मनोबल बढेको सर्जन डा. विजय उपाध्याय बताउँछन् ।
‘यादवको हर्निया बिग्रेर पेटमा रहेको बोसोको भाग एकआपसमा बेरिएर नसाहरु बन्द भइ रक्तसञ्चार बन्द भएको रहेछ,’ डा.उपाध्यायले भने, ‘पेटमा कालोकालो देख्दा म आफँै अत्तिएर परिवारका सदस्यलाई समेत देखाएँ ।’ करिब तीन घण्टा लगाएर दुई किलो बढी सडेको मासु पेटबाट निकालेको उनी बताउँछन् ।

यादवलाई आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ । अहिले पेटमा कुनै पनि किसिमको दुखाई नरहेको बिरामी यादवको भनाइ छ । यस्तो जटिल प्रकृतिको अप्रेसन गराउँदा औषधिमा करिब २५ हजार रुपैयाँ खर्च भएको उनले बताए ।

‘गत वर्ष नेपालगन्जमा चेकजाँच गराउँदा पित्तथैलीमा पत्थरी रहेको थाहा पाएको थिएँ,’ शाहीले भनिन्, ‘अप्रेसन गर्दा ८० हजार रुपैयाँ लाग्ने अस्पतालले जनाएको थियो ।’ त्यति धेरै पैसा नहुँदा आफू पत्थरी बोकेरै हिँडेको उनी बताउँछिन् । अहिले १८ हजार रुपैयाँमै उपचार हुँदा उनले खुसी व्यक्त गरिन् । ‘सस्तोमा सस्तो उपचार भयो,’ उनी भन्छिन्, ‘घर नजिकै पनि भयो । टाढा जानु पर्ने झन्झट पनि भएन ।’

बर्दिया अस्पतालमा आएको एक महिना पुगेको कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट डा.दिपेन्द्र महासेठले बताए । ‘एक महिनाको अवधिमा ३५ वटा सफल अप्रेसन भएका छन्,’ उनले भने, ‘जसमध्ये पित्तथैली र पेटको जटिल समस्या भएको सफल अप्रेसन भएको छ ।’ यस्ता प्रकारका समस्या उपकरण उपलब्ध भएको अन्य ठाउँको लागि ठूलो नभए पनि हाम्रो अस्पतालको लागि ठूलो समस्या भएको उनको भनाइ छ । अप्रेसन अवधिमा एनेस्थेसियाको महŒवपूर्ण भूमिका रहने डा.महासेठले बताए । अप्रेसन थ्रेटरमा बिरामी र सर्जनलाई सहज वातावरण बनाएर सघाउँने उनी बताउँछन् ।

बर्दिया अस्पतालमा जिए मेसिन, अर्थो ओटि टेबल उपलब्ध भए हड्डी र घुँडासम्बन्धी सम्पूर्ण अप्रेसन सहज तरिकाले गर्न सकिने अस्पतालले जनाएको छ । त्यसैगरि सरकारले आवश्यक जनशक्ति उपलब्ध गराए भौतिक रुपमा तयार भइसकेको आइसियु सञ्चालन गर्न सकिने एनेस्थेसियोलोजिस्ट डा. महासेठको भनाइ छ ।

दुई जटिल अप्रेसनमा सर्जरी टिमतर्फ सर्जन डा.उपाध्यायको नेतृत्वमा अनमी अर्पना श्रेष्ठ र स्टाफ नर्स ज्योति बुढाथोकी खटिएकी थिइन् । त्यसैगरि एनेस्थेसिया टिमतर्फ डा.महासेठको नेतृत्वमा एनेस्थेसिया निरीक्षक राजेश बर्मा र एनेस्थेसिया सहायक राजाराम बर्मा खटिएका थिए । अप्रेसन सफल भएर शुक्रबार घर फर्किएकी शाही र आइतबार घर फर्किने यादवले अस्पतालको सम्पुर्ण टिमलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय