कृष्णसार कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै
शुक्रबार, असोज १९, २०८० मा प्रकाशित

बर्दिया,असोज १९(फरकसमाचार) / विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुदैछ । गुलरिया नगर ब्याडमिन्टन संघको आयोजनामा कृष्णसार कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । ब्याडमिन्टन प्रतियोगिता यहि असोज २८ गते देखि कात्तिक १ गतेसम्म हुने जनाईएको छ ।

ब्याडमिन्टन प्रतियोगितामा भाग लिने टिमहरुको लागि आज शुक्रबार असोज १९ गते देखि इन्ट्री खुल्ला भएको छ । इन्ट्री असोज २५ गते साँझसम्म मात्र हुने जनाईएको छ । प्रतियोगिता खुल्ला डबल (पुरुष) र भेट्रान डबल (पुरुष) जोडि गरि २ बिधाको हुनेछ । टिम इन्ट्रीको लागि रु २ हजार लाग्ने आयोजकले जनाएको छ । जिल्लाको आठ वटै स्थानीय तहका खेलाडीहरुलाई सहभागिता गराउने चाहना आयोजकको छ ।

ब्याडमिन्टन प्रतियोगितामा खुल्ला डबलमा प्रथम हुने टिमलाई रु ५१ हजार पुरस्कार दिने आयोजकले जनाएको छ । खुल्ला डबल द्वितिय हुने टिमलाई रु ३१ हजार, भेट्रान डबल प्रथम टिमलाई रु ३१ हजार र भेट्रान द्वितिय हुने टिमलाई रु १७ हजार ५ सय पुरस्कार छ । त्यसैगरी उत्कृष्ट र उदयमान खेलाडीलाई जिन्सी पुरस्कार दिने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताले जिल्लाको ब्याडमिन्टन खेलको विकास एवम विस्तार मात्र नभई जिल्लामा अवस्थित खेलाडीको छनौटलाई समेत ध्यान दिई प्रतियोगिता आयोजना गरिएको गुलरिया नगर ब्याडमिन्टन संघका अध्यक्ष यबराज श्रेष्ठले बताए । ‘खेलाडीले आफु बसोबास गर्ने पालिकाबाट टिम इन्ट्री गर्नुपर्छ’ अध्यक्ष श्रेष्ठले भने,‘टिम जोडि पनि एउटै पालिका भित्रका खेलाडी हुनुपर्छ ।’

ब्याडमिन्टन प्रतियोगिता नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईनेछ । प्रतियोगिता गुलरिया नगरपालिका–४ स्थित कर्भडहलमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय