बर्दियामा नौ महिनामा आठ औलो रोगी भेटिए
शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

बर्दिया, बैैशाख १४(फरकसमाचार)/ नौ महिनामा आठ जना औलो रोगी भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताएका छन् । १८औं विश्व औलो दिवसको अवसरमा बिहीबार आयोजित संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख गिरीले औलो रोगीको तथ्यांक सार्वजनिक गरेका हुन् । ‘भेटिएका औलोका केस मध्ये सात वटा केस आयतिय छ’प्रमुख गिरीले भने,‘बढैयातालमा एक वटा केस स्थानीय रहेको छ ।’ स्थानीय केसलाई नियन्त्रण लिन बढैयातालमा काम अघि बढिरहेको छ ।

औलोलाई नियन्त्रण गर्नको निम्ति ज्वरो आएको हरेक केसलाई जाँच परिक्षण गरिरहेको सुनाए । जाँच गर्दा भेटिएका औलोको बिरामीलाई उपचार गर्ने र बिरामी भेटिएको समुदायमा अन्यलाई सरेको छ कि छैन भनेर जाँच गरि खोज्ने गरेका छौं । ज्वरो आउने जो कोहीले औलोको शंका गरि जाँच गराउन र स्वास्थ्यकर्मीले पनि जाँच गरिदिन स्वास्थ्य कार्यालयका प्रमुख गिरीले आग्रह गरेका छन् ।

समयमै औलो रोगी पत्ता लगाई उपचार गरि हामीले औलो रोगलाई निवारण गर्न सक्छौ । सरकारले सन् २०२५ सम्म नेपालबाट औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ । सोही अनुसार हामीले काम गरिरहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

साउन देखि चैत महिनासम्म आठ जना औलो रोगी भेटिएका छन्् । गुलरिया नगरपालिकामा सबै भन्दा बढी औलो रोगी भेटिएको स्वाथ्य कार्यालयको तथ्यांकले पुष्टि गरेको छ । गुलरिया नगरपालिकामा ४, बाँसगढी, ठाकुरबाबा नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा एक/एक जनामा औलो रोगी भेटिएको स्वास्थ्य कार्यालयमा तथ्यांक छ ।

एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोक्दा लामखुट्टेको ¥यालसंगै औलोका परजिवीहरु मानिसका शरीरमा प्रवेश गरेर सबभन्दा पहिला लिभरमा जान्छ । मानिसको शरीरमा परजिवी प्रवेश गरेको १० देखि १५ दिनमा औलोको लक्षण देखा पर्छ । टाउको तथा मांसपेशी दुख्ने, थकानको अनुभुति हुने, चर्को ज्वरो आउने, कलेजो सुन्निने र वाँकवाँकी लाग्ने जस्ता लक्षण देखा पर्छन् । औलोको परजिवी रहेको लामखुट्टेको टोकाईबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा औलो रोग सर्छ ।

औलो रोगको निशुल्कमा उपचार हुन्छ । औषधी खाए पुर्ण रुपमा निको हुन्छ । घरमा बस्दा साँझ बिहान फुल कपडा लगाउने, झुल लगाउने, घर वरिपरि पानी जम्न नदिने र घरको झ्याल ढोकामा जाली प्रयोग गरी लामखुट्टेको टोकाईबाट बचेर औलो रोगबाट सुरक्षित हुन सकिन्छ ।

‘औलो विरुद्व लडाईलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’भन्ने नाराकासाथ स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रम गरि बिहीबार १८औं विश्व औलो दिवस मनाईएको छ । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय