बर्दियामा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना शुभारम्भ
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

राम बहादुर थारु

बर्दिया, बैशाख २७/ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना बर्दियाका ५ पालिकामा शुभारम्भ भएको छ । प्लान इन्टरनेश्नल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्रकोे साझेदारी तथा कोइकाको आर्थिक सहयोगमा ठाकुरद्वारामा मंगलबार परियोजनाको शुभारम्भ भएको हो ।

परियोजनाले १० बर्ष उमेरदेखि १९ बर्ष उमेर समुहका किशोर–किशोरीहरुलाई लक्षित गरि समुदायमा यौन शिक्षाका बिषयमा जानकारी दिने उदेश्यले ठाकुरबाबा, गुलरिया, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा परियोजना संचालन भएको छ ।
नेपालमा १० देखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्था मानिन्छ । किशोरावस्था शारीरिक, मानसिक, भावनात्मक सामाजिक तथा यौनिक परिवर्तन तथा विकास हुन्छ ।

यस अवस्थाका किशोर–किशोरीहरूले लिने निर्णय एवं व्यवहारहरूले उनीहरूको भविष्यमा गहन असर पार्ने जोखिम धेरै हुन्छ । किशोर–किशोरीहरुले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीहरू धेरै हुन्छन् ।
परियोजना शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि एवम् मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले स्वास्थ्य नै सबै भन्दा ठुलो कुरा हो, यदि स्वास्थ्य नै ठिक भएन भने केहि पनि गर्न सकिदैैन, शिक्षा र स्वास्थ्यमा गरिएको लगानी तत्काल नदेखिने भएको र त्यसको परिणाम आउन केहि समय लाग्ने बताउँदै बालबालिकाहरुको शिक्षा र स्वास्थ्य प्रति विशेष ध्यान दिनुपर्ने बताए ।

यस्तैगरि कार्यक्रममा बर्दिया स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बालबालिका र किशोर किशोरीमा लागनी गर्नुपर्ने र त्यसमा नैतिक शिक्षालाई पनि जोड दिनुपर्ने बताए । देश र समाज सुधारका लागि पहिले बालबालिका, किशोर किशोरीको स्वस्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने भनाई राखे । यस कुरामा ध्यान दिन सकेमा समुदाय सचेत हुनसक्ने सुनाए । यसैगरि पछिल्लो समय लागु पदार्थ दुव्र्यसनी तथा बालविवाहलाई न्युनिकरण गर्न विशेष जोड दिुपर्ने धारणा व्यक्त गरे ।

प्लान इन्टरनेश्नल नेपाल क्षेत्रिय प्रवन्धक मीना पराजुलीले मानविय सहयोगका लागि विभिन्न प्रकोपहरु न्युनिकरणका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । प्लान इन्टरनेश्नल कोरिया सहायक कार्यक्रम प्रवन्धक किम इरीले कार्यक्रममा सहभागी हुन पाएको प्रति खुशी व्यक्त गर्दै किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सहयोग गर्नै प्रतिवद्धता जनाए ।
राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले यौनका कुराहरु मानव जिवनमा नभइ नहुने बताउँदेै यौनका कुराहरु समाजमा खुलेर बोल्ल नसकेको बताए । जसले गर्दा समाजमा हामीलाई प्रभावित बनाइरहेको श्रेष्ठको भनाई छ ।

बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्नाकुमारी पाण्डेले सहयोगी संस्थाहरुलाई अभिन्न अंगको रुपमा लिएको बताउँदै सहयोगी संस्थाहरु प्रति धन्यवाद व्यक्त गरिन् । यसैगरि गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले परियोजनाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको बताईन् ।

परियोजना शुभारम्भ कार्यक्रममा प्लान इन्टरनेश्नल सहायक कार्यक्रम प्रवन्धक किम इरी, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्साल, गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केशी, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डे, शिक्षा विकास तथा समन्वय इकाईका सुर्य बहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ लगायतको सहभागीता रहको कार्यक्रम संयोजक सुरज अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर