‘८ किलोमिटरसम्म पैदलै गएर सडकपेटीमा केरा बेच्छु’
सोमबार, जेठ १३, २०८२ मा प्रकाशित

फूलमति थारू

बर्दिया,जेठ १२ / कैलालीको टीकापुर–६, लक्षणापुरमा बसोबास छ । परम्परादेखि खेती किसानी गरेर गुजारा चलाउँदै आएकी छु । अहिले पनि दुई पैसा कमाउन मेरो दौडधुपमा कमी आएको छैन । बिहान ४ बजे उठेर घरधन्दा सक्छु । थोरै नास्तापानी गरेपछि दिउँसोका लागि खाना पोको पार्छु । मेरो घरबाट पैदल बर्दियाको राजापुर बजार पुग्न २ घन्टाभन्दा बढी लाग्छ । दुई–चार रुपैयाँ होला भनेरै यो सब गरिरहेकी छु । हरेक दिन पैदल आउजाउ गर्दा गर्दै मेरा पैतलामा ठेला परिसके ।

अहिले ४५ वर्षकी भएँ । राजापुरबाट ८ किलोमिटर दूरीमा मेरो घर छ । मोटरसाइकल किन्न हामीसँग पैसा छैन । घरमा एउटा मात्र साइकल छ । त्यहीँ साइकलमा केरा लादेर श्रीमान्ले बिहान राजापुर बजारसम्म ल्याउनुहुन्छ । म घरबाट राजापुरसम्म पैदल हिँडेर आउँछु ।

केरा बेच्न भनेर दैनिक बिहान राजापुर आउँछु र साँझ घर फर्किन्छु । राजापुरबाट साँझ ६ बजे हिँडेपछि ८ बजेतिर घर पुग्छु । के गर्ने ? आफूलाई साइकल चलाउन आउँदैन । अटो त चल्छ । तर भाडा बचाउन पैदलै ओहोरदोहोर गर्छु ।

श्रीमान् पनि ५० वर्षको भइसक्नु भयो । उहाँको एउटा हात कमजोर छ । सानैमा आँप टिप्न रुखमा चढ्दा खसेर हात भाँचिएको थियो । हात सिधा हुँदैन । गाह्रो काम गर्न सक्नु हुन्न । खेतीपातीमा सघाउनु हुन्छ । दुई छोरामध्ये ठूलोको विवाह भएर अलग्गिएको छ । सानो छोराको विवाह भएको छैन । आफ्नो खेत थोरै भएकाले ५ कट्ठा भाडामा लिएकी छु । खेतको वार्षिक ७ हजार ५ सय तिर्नुपर्छ । खेतमा धान, गहुँ, मसुरो इत्यादि लगाउँछौं । आफ्नो र भाडा खेतको उब्जनीले वर्षभरि चामल, दाल र तरकारी खान पुग्छ ।

पहिले तीन वर्ष लगातार केरा बेच्न राजापुर आएकी थिएँ । त्यतिबेला राजापुरको मध्यचोकमा बसेर केरा बेच्थेँ । बीचमा अलि दिन आउन छोडेँ । ज्याला मजदुरीको काम नपाएपछि गत वर्षदेखि फेरि केरा बेच्न राजापुर आउन थालेकी छु । अचेल राजापुर बजारको बाटो विस्तार भएको छ । चोकमा बसेर व्यापार गर्न पाइँदैन । मुख्य सडकको पेटीमा बसेर केरा बेच्छु ।

सडक पेटीमा व्यापार गरेबापत नगरपालिकालाई दैनिक २० रुपियाँ दिनुपर्छ । अचेल राजापुरका बासिन्दाले पनि केरा बेच्न सिकिसके । धेरै जनाले बेच्ने भएपछि व्यापार केही घटेको छ । जाडोमा त झन् केरा बिक्दैन । अहिले गर्मी मौसममा केरा अलि अलि बिकिरहेको छ ।

हामी आफैंले केरा खेती गरेका छैनौं । टीकापुरमा केरा खेती गर्ने किसानबाट किनेर ल्याउँछु । अचेल नजिकै केरा पनि पाइँदैन । केरा खोज्न पनि दूरदूर जानुपर्छ । किसानको खेतबाट किनेर ल्याएर घरमा पकाएपछि मात्र केरा बेच्न तयार हुन्छ । किसानलाई प्रतिदर्जन केराको ४०/४५ रुपियाँ तिर्नुपर्छ । राजापुर बजारमा प्रतिदर्जन ६० देखि ८० रुपियाँसम्म केरा बिक्री हुन्छ । त्यही व्यापारबाट भएको नाफाले परिवार धानेकी छु ।

श्रीमानले घरबाट साइकलमा केरा राखेर राजापुरसम्म पुर्‍याउँदा भाडा बचिहाल्छ । जुन दिन साइकल पेन्चर भयो वा बिग्रियो भने अटोमा ल्याउनुपर्छ । घरबाट राजापुरसम्म केरा ल्याउँदा एकातर्फको २ सय रुपियाँ अटो भाडा लाग्छ ।

महिनाभरि दुःख गरेर बेच्दा १२/१५ हजारसम्म कमाइ हुन्छ । जसबाट नुन, तेल, सर्फ, साबुन र लुगाफाटामा खर्च हुन्छ । मेरो कमाइले जेनतेन घरखर्च चलेको छु । बचत गर्न सकिएको छैन । टोकरीमा केरा बेचेर के नै बचत गर्न सकिन्छ र ! तै घरखर्च चलेको छ, यसैमा सन्तोष छु ।(प्रस्तुति : रामप्रसाद चौहान,स्रोत ईकान्तिपुर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय