किवानिज एशिया प्यासिफिक सम्मेलन सम्पन्न
शनिबार, फागुन २४, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २४ : बालबालिकाका क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एशिया प्यासिफिक क्षेत्रको ४५औँ सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । काठमाडौँमा तीन दिनसम्म भएको सम्मेलनमा नेपाली र विदेशी गरेर ४०० जसमध्ये करिब ३०० जना विदेशी पाहुनाको सहभागिता रहेको थियो । सम्मेलनको आज समापनमा सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले सम्मेलन सफलतापूर्ण सम्पन्न भएको बताए ।

उनले बालबालिकामार्फत विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराए । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकूद सामग्रीलगायतका सामान प्रदान गर्दै आएका छौँ । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’, अध्यक्ष लम्सालले भने ।

किवानिज एशिया प्यासिफिक (एस्प्याक)का सचिव माइकल चुले नेपालले यसपटकको सम्मेलन आयोजना गर्नु आफैँमा गर्वको विषय भएको बनाउँदै एशिया प्यासिफिक जोनका नागरिक नेपाल र नेपालीप्रतिको बुझाइमा अझ सकारात्मक भएको उल्लेख गरे । ‘नेपालमा एशिया प्यासिफिक सम्मेलनमार्फत भिजिट नेपाल २०२० लाई सफल पार्न एक हजार ५०० बढी प्रतिनिधि र तीन हजार पर्यटक भित्र्याउने हाम्रो लक्ष्य रहेकामा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सम्मेलनमा सहभागी हुने विदेशी पाहुना घट्न पुगे’, किवानिज इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले भने । उनले किवानिज इन्टरनेशनल नेपालमा हालसम्म देशभर एक हजार ९२ सदस्यसहित ५१ वटा किवानिज क्लब गठन भएको जानकारी दिए ।

किवानिज इन्टरनेशनल नेपालका संस्थापक राष्ट्रिय सचिव लक्ष्मण लम्सालले १०५ वर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपालसमेत हुनुु आफैँमा गर्वको कुरा भएको बताए । उनले नेपालमा आयोजना भएको ४५औँ एशिया प्यासिफिक सम्मेलनले पर्यटन गन्तव्यका लागि अझै पनि नेपाल एक उत्तम गन्तव्य हो भन्ने सन्देश दिएको दाबी गरे । सचिव लम्सालले किवानिज इन्टरनेशनल नेपाल र किवानिज इन्टरनेशनल अष्ट्रेलियाको समन्वयमा नेपालमा उपचार सम्भव नभएका शारीरिक अपांगता भएका १८ वर्षभन्दा कम उमेरका नेपाली बालबालिकाको निःशुल्क शल्यक्रिया अष्ट्रेलियामा गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

यसपटक नेपालमा आयोजना भएको किवानिज इन्टरनेशनल एशिया प्यासिफिक सम्मेलन हेरक वर्ष आयोजना हुने गर्छ, जसमा निर्वाचनमार्फत् अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारी चयन हुन्छन् । सम्मेलनबाट एशिया प्यासिफिकको अध्यक्षमा फिलिपिन्सका केन एलोभेरा, निर्वाचित अध्यक्षमा अष्ट्रेलियाका क्लिटन ग्रीन र उपाध्यक्षमा फिलिपिन्सका म्यारि बेल ग्रासिया चयन भएका छन् । यस्तै एशिया प्यासिफिक क्षेत्रबाट टस्टीमा तीनवर्षे कार्यकालका लागि जापानका बुहेता फुजिवारा र दुई वर्षका लागि फिलिपिन्सका विलफ्रेडो जी आगुइलार निर्वाचित भएका संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय