स्वास्थ्य, सुरक्षा, हवाई सेवा, निजामती सेवा, न्याय क्षेत्र र पत्रकारितामा पुरुषजत्तिकै खट्छन् महिला
काठमाडाैँ, फागुन २५ : पछिल्ला केही वर्षयता नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको चर्चा बढेको छ । महिलाले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकसहित विभिन्न क्षेत्रमा झेल्नुपरेका समस्या र यसको अवस्थाबारे वकालत गर्ने र जागरुक बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यो वर्ष संसारभर ‘एन एक्वाइल वल्र्ड इज एन इनेबल वल्र्ड’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
श्रमिक महिलाको हकअधिकार स्थापित गर्न मनाइने महिला दिवस नेपालमा मनाउन थालिएको करिब पाँच दशक नाघिसकेको छ । तर, सहरमा महिला दिवसबारे चर्चा भइरहँदा गाउँ तथा सुदूर बस्तीमा बस्ने महिला, जो सामाजिक आर्थिक रूपमा पिछडिएका छन्, उनीहरू महिला दिवसबारे बेखबर छन् । खासगरी, आपतकालीन सेवामा जोडिएका महिलाको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ । स्वास्थ्य, सुरक्षा, हवाई सेवा, शिक्षा, न्याय क्षेत्रमा महिलाको प्रवेश बढ्दो क्रममा रहेको छ । महिला दिवस मनाइरहँदा पनि यी सेवामा लागेका महिला आफ्नो ड्युटीमा खटिएकै हुन्छन् । उनीहरूले चाहेर पनि बिदा बस्न पाउँदैनन् ।
स्वास्थ्य क्षेत्रमा महिला बिदा बस्नु गलत
२४सै घन्टा बिरामीको हेरचाहमा खटिने स्वास्थ्य क्षेत्रका महिलाको श्रमिक महिला दिवसबारे बुझाइ आमनागरिकभन्दा फरक छ । करिब ३६ वर्ष स्वास्थ्य क्षेत्रमा बिरामीको सेवामा खटिएकी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अचला वैद्य आफ्नो हकअधिकार पाउन हरेक क्षेत्रका महिला आफैँ जागरुक हुनुपर्ने बताउँछिन् । उनी एक दिन ८ मार्च मनाएर हकअधिकार स्थापित नहुने धारणा राख्छिन् । ‘महिलाले आफ्नो क्षेत्रबाट जागरुक हुन आवश्यक छ, हरेक क्षेत्रका महिला श्रमिक हुन् । समाजमा हकअधिकार स्थापित गर्न दिवसका रूपमा एक दिन मात्रै पर्याप्त छैन,’ उनी भन्छिन्, ‘महिला दिवसको दिन सार्वजिनक बिदा चाहिँदैन, यो दिनमा समस्यामा परेका महिलालाई सहयोग गर्ने हो । महिला दिवसको अर्थ, आफूसँगै अन्य महिलालाई कसरी स्थापित गर्न सकिन्छ भन्ने हो ।’
२६ वर्षीया कल्पना खड्का चार वर्षदेखि नर्सिङ पेसामा आबद्ध छिन् । भन्छिन्, ‘बिरामीले महिला दिवस भनेर उपचार नगरी बस्न मिल्दैन । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा चाडबाड, दिवस र हकअधिकारका विषयले स्थान पाउँदैन । बिरामीको उपचारमा खटिनु नै महिला दिवस हो ।’
सुरक्षा फौजमा १५ हजार महिला, नेतृत्व तहमा न्यून
सुरक्षा निकायमा महिलाको सहभागिता बढेको छ तर नेतृत्व तहमा भने अझै न्यून छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महिलाको संख्या करिब १५ हजार पुगेको छ ।
नेपाल प्रहरीमा हाल ७९ हजार ५ सय २३ जना कार्यरत छन्, त्यसमध्ये ६ हजार आठ सय ४१ जना महिला छन् । प्रहरीमा एआइजी तहसम्म महिला पुगेका छन् । प्राविधिकतर्फ डा. आशा सिंह एआइजीका रूपमा कार्यरत छिन् । प्रशासनतर्फ डिआइजीसम्म पुगेका छन् । नेपाल प्रहरीमा पहिलोपटक महिला भर्ना ००८ देखि सुरु भएको हो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी एसएसपी पूजा सिंह त्यतिवेला भर्ना भएकी एक्ली महिला हुन् ।
०६१ सालसम्म पहिला नेपाली सेनामा प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । महिलालाई समेत भर्ना लिन थालेपछि सेनामा महिलाहरूको संख्या बढेको छ । सेनामा प्राविधिकतर्पm महिलाहरू उच्च तहमा पुगेका छन् । सामान्य सेवातर्फ पहिलोपटक मेजर सुलोचना पौडेलले स्टाफ कोर्स पूरा गरेकी छिन् । नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ कोर्स अनिवार्य छ । अहिले सेनामा पाँच हजार ६२ महिला कार्यरत छन् । सामान्य सेवातर्फ महिला अधिकृतको संख्या एक सय ८३ पुगिसकेको छ । त्यस्तै, प्राविधिकतर्फ दुई सय १४ जना छन् ।
सशस्त्र प्रहरी बलमा स्थापनाकाल अर्थात् ०५८ देखि नै महिला सहभागिता थियो । इन्स्पेक्टरमा भर्ना भने ०६० देखि थालियो । पहिलो लटमै इन्स्पेक्टरमा भर्ना भएकी यमुना सिंखडा हाल डिएसपी छिन् । त्यस्तै, पाँचौँ ब्याचमा भर्ना भएका रजनी थापा र लक्ष्मी थपलिया गत वर्ष डिएसपीमा बढुवा भएका छन् । सशस्त्रमा दुई हजार नौ सय ३३ महिला कार्यरत छन् ।
प्रहरी संगठनमा बिदालाई अधिकारका रूपमा लिइँदैन : किरण बज्राचार्य, एसएसपी
किरण बज्राचार्यले प्रहरी पेसा रोजेको २५ वर्ष भयो । राष्ट्रिय फुटबल खेलाडी उनले खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा नाम निकालेकी हुन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई हेर्ने उनको दृष्टिकोण छुट्टै छ । हरेक समाजमा महिलालाई सशक्तीकरण गर्न, उनीहरूलाई आर्थिकलगायत हरेक हिसाबले स्वतन्त्र रूपमा उभ्याउन महिला दिवसले सकारात्मक सन्देश दिने उनको बुझाइ छ । यस्ता दिवसले प्रत्येक निकायमा महिलाको उपस्थिति हुनुपर्ने विषयलाई झकझक्याउने बज्राचार्य बताउँछिन् । हरेक समय कतिवेला, कहाँ, के पर्छ भनेर तयारी अवस्थामा बस्नुपर्ने, आफ्नो पेसा र अवस्थालाई चाहिँ महिला दिवसको प्रभाव र असर त्यति धेरै नपर्ने उनको तर्क छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उनी स्ट्यान्डबाई हुन्छिन् । कुनै पनि वेला उनको फोन बज्न सक्छ । रात होस् या दिन, बिदा लिएर बसेको अवस्थामा पनि फोन बजेर आफ्नो माग भएपछि निस्किन्छन् उनी । भन्छिन्, ‘प्रहरी संगठनमा बिदालाई अधिकारका रूपमा लिइँदैन । बिदा भनेको अधिकार होइन भन्ने मान्यता हुन्छ ।’ देशका जुनसुकै स्थानमा कुनै आपतकालीन अवस्था आयो, दैवीप्रकोप आयो भने सुरक्षाकर्मी कुदिहाल्नुपर्ने उनको भनाइ छ ।
एक दिन बिदा दिँदा महिलाको मनोबल बढ्छ : कस्तुरी भण्डारी ट्राफिक प्रहरी
सुदूरपश्चिम कञ्चनपुरकी कस्तुरी भण्डारी नेपाल प्रहरीमा लागेको चार वर्ष भयो । सात महिनायता उनी महानगरीय ट्राफिक महाशाखा बग्गीखानामा कार्यरत छिन् । हरेक दिन ६/७ घन्टा उनी चोकमा उभिरहेकी हुन्छिन् । महिला नभई नहुने ठाउँमा बाहेक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन महिला प्रहरीलाई बिदा मिलाइदिने गरिएको उनी बताउँछिन् । एक दिन बिदा बस्दा पनि महिला प्रहरीको मनोबल बढ्ने तर्क छ उनको ।
सुरु–सुरुमा रोडमा लामो समय उभिनुपर्दा उनलाई अलि असहज नलागेको होइन । जनताको सेवाका लागि त्यसरी खटिएको तर्क गर्ने बानी परिसकेपछि भने उनलाई अहिले ट्राफिकको ड्युटी नै सजिलो लाग्न थालेको छ । भन्छिन्, ‘हरेक कुरा बानीमा भर पर्ने रहेछ ।’
महिलाले जहाज उडाएको भन्दा आश्चर्य मान्छन् : सिर्जना राउत, पाइलट
सिर्जना राउत नेपाल वायुसेवा निगमकी पाइलट हुन् । उनी ६ वर्षदेखि निगमको आन्तरिक उडानमा क्रियाशील छिन् । वर्षको एक दिन महिला दिवस मनाएर महिला सशक्तीकरण नहुने उनको धारणा छ । अबको आवश्यकता भनेको महिला र पुरुषले एक–अर्कालाई सम्मान गर्नुपर्ने सिर्जना बताउँछिन् । समानताको कुरा गर्दा, भिन्नतालाई स्विकारेर अघि बढ्न सके अझ बलियो हुने उनको भनाइ छ । ‘ए नानी पो हुनुहुन्छ पाइलट’, ‘केटीले प्लेन चलाएको मैले पहिलोपटक देखेको’, ‘महिला पाइलटले चलाएको फ्लाइट पनि यति राम्रो, अझै प्रगति गर्दै जानुहोला’ यस्ता प्रतिक्रिया प्रायः उनले प्लेन ल्यान्ड गरेपछि पाउने गर्छिन् । यी प्रतिक्रियाले अझ हौसला दिने सिर्जना बताउँछिन् ।
अन्तर्राष्ट्रिय महिला दिवस मनाउनु सकारात्मक : प्रिया थापा, सिनियर एयरहोस्टेस
प्रिया थापालाई उनका आमाबाबु पढाइ सकेर अरु कुनै जागिर गरुन् भन्ने चाहन्थे । तर, उनलाई भने कत्ति छिटो एयरहोस्टेस बनेर उड्न पाए हुन्थ्योजस्तो लाग्थ्यो । ‘पहिला मेरी दिदी पनि एयरहोस्टेस हुनुहुन्थ्यो । दिदीलाई देखेर मलाई एयरहोस्टेस बन्न मन लागेको हो । मैले एयरहोस्टेस हुन्छु भन्दा बुबाको सहमति थिएन । किनकि मेरो परिवारमा पढाइलाई निकै महत्व दिइन्थ्यो,’ उनी हवाई सेवामा प्रवेश गर्दाको सम्झना गर्छिन् । २८ वर्षदेखि उनी नेपाल एयरलाइन्समा आबद्ध छिन् । सिनियर एयरहोस्टेस थापा समयसँगै निकै परिवर्तन भएको बताउँछिन् । ‘पहिलेजस्तो महिलाको अवस्था छैन । अहिले महिलाहरूमा शिक्षित हुनुका साथै आत्मबलसमेत बढेको छ,’ उनी भन्छिन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुलाई उनी सकारात्मक कार्य मान्छिन् ।
न्याय क्षेत्रमा महिलाको उपस्थिति
अदालततर्फ
-सर्वोच्चमा जम्मा न्यायाधीश २१ जना, महिला तीनजना
-सात प्रदेशका उच्च अदालतमा दरबन्दी २५७ जनाको, महिला न्यायाधीश आठजना
-न्याय सेवाको प्रथम श्रेणी (सहसचिव/रजिस्ट्रार), दरबन्दी २४ जनाको, महिला दुईजना
-इजलास अधिकृत (उपसचिव/उपरजिस्ट्रार) मा २३० दरबन्दी, महिला १५ जना
-शाखा अधिकृत (न्याय तृतीय/इजलास अधिकृत) ८५८ जनामध्ये १३२ महिला
कानुनतर्फ
-सहसचिव : २८ दरबन्दी, महिला तीनजना
-उपसचिव : ९५ दरबन्दी, महिला आठजना
-कानुन अधिकृत : १७३ दरबन्दी, महिला ४७
सरकारी वकिलतर्फ
-प्रथम श्रेणी (सहन्यायाधिवक्ता) : दरबन्दी ३४, महिला एकजना
-उपसचिव (जिल्ला न्यायाधिवक्ता) : दरबन्दी १५६, महिला आठजना
-तृतीय श्रेणी (शाखा अधिकृत/सहायक जिल्ला न्यायाधिवक्ता) : २६० दरबन्दी, महिला ५६ ।
-अहिले लाइसेन्सका लागि २७औँ समूहको परीक्षा भइसक्दासम्मको नतिजा (स्रोत, बार काउन्सिल)
-वरिष्ठ अधिवक्ता : पुरूष ४२० र महिला २८
-अधिवक्ता : पुरूष १५३२१ र महिला २६६९
नयाँ पत्रिकाबाट साभार