अपहरणको नाटक गर्ने फिरौतीसहित पक्राउ
बुधबार, फागुन २८, २०७६ मा प्रकाशित

विराटनगर, फागुन २८ : आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।

यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन ३० लाख चाहिने सूचनासहित बुबाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । छोराको मायाले बुबा शिवनारायणले २१ लाख फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।

फिरौती रकमसहित बूढीगंगा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो । प्रहरीले कृष्णबाट नगद १६ लाख ५३ हजार र तीन लाखको चेक पनि बरामद गरी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

यसैगरी प्रहरीले मोरङको बेलबारी नगरपालिका–८ निवासी २९ वर्षीय कमानसिंह राईलाई खैरो हिरोइन १५ ग्रामसहित पक्राउ गरेको छ । भारतको जोगबनी हुँदै नेपाल रानी प्रवेश गर्ने क्रममा फागनु २५ गते प्रहरीलाई शङ्का लागेपछि खोजतलास गर्दा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बजार मूल्यअनुसार सो हिरोइन करीब ५० हजारको हो । प्रतिडोज सेवनकर्ताले एक हजारका दरले खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । निज राईलाई प्रहरीले लागुऔषध ओसारपसार गरेको अभियोगमा कारवाही गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय