काठमाडों, फागुन २८ : चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलंकी–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ ।
नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको हो । चिनियाँ टोली यही महिना आउने तयारी भए पनि रोगका कारण तत्काल आउने नदेखिएको सडक विभागले जनाएको छ ।
चक्रपथको कोटेश्वर–कलंकी खण्ड निर्माण गरेको चीन सरकारले नै कलंकी–धोबीखोला निर्माणका लागि विस्तृत अध्ययन गरेको थियो । पहिलो खण्डमा निर्माण शुरु हुँदा पनि सडकमा रहेका संरचना नहटेका कारण यो खण्डमा पहिले संरचना हटाउने गरी सहमति भएको थियो ।
झण्डै सबैतिर निर्माणस्थल खाली भइसकेको काठमाडों चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । महाराजगञ्ज क्षेत्रमा केही घरहरू हटाउन बाँकी भए पनि अरु स्थानमा सडकको अधिकार क्षेत्रमा रहेका बिजुललीका खम्बा, टेलिफोनको खम्बा, खानेपानीको पाइप, ढल, रुखलगायत हटाइएको छ । उनले भने, ‘हामीले आवश्यक तयारी गरिसकेका छों चिनियाँ टोली आउन नसक्ने हुँदा काम शुरु नहुने देखिएको छ ।’
निर्माणस्थल खाली गरेर आगामी महिनासम्म निर्माणका लागि हस्तान्तरण गर्ने सरकारको योजना थियो । सो सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।
कोटेश्वर–कलंकी सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलंकी सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने डिजाइनमा उल्लेख छ ।