भजनी, फागुन ३० : टीकापुर नगरपलिकाको मुख्य बजार चोकमा सार्वजनिक शौचालय नहुँदा यात्रु समस्यामा पर्दै आएका छन् । बजारको मुख्य चोक भनेर खडक चोकलाई चिनिन्छ । सबैभन्दा बढी मानिसको जमघट हुने खडक चोकबाट नै लामो तथा छोटो दुरिका यात्रुबाहक बस छुट्ने गर्दछन् ।
यात्रुहरू टीकापुर झर्दा र बाहिर यात्रा गर्दा खडक चोकबाटै यात्रा शुरु गर्दछन् । वर्षाैंदेखि सो क्षेत्रमा सार्वजनिक शौचालय नभएकै कारण यात्रु खुला ठाउँमा शौच गर्न बाध्य छन् ।
टीकापुर बजार क्षेत्रमा दुईटा सार्वजनिक शौचालय छन् तर एउटा शौचालय कहिलेकाहीँ खुल्ने गरेको भए पनि अर्को शौचालयमा वर्षौँदेखि ताला झुण्डिएको देखिन्छ । बजारमा सार्वजनिक शौचालय नभएकै कारण कि त व्यापारीको होटल धाउनुपर्ने बाध्यता छ नभए खुला झाडीमा गएर शौच गर्नुपर्ने बाध्यता छ ।
व्यापारीले पनि कुनै सामान नकिन्दासमेत शौचालय प्रयोग गर्न दिँदैनन् । व्यापारीले आफ्नो शौचालयमा ताला लगाइराख्ने, ग्राहकले सामान किन्दा शौचालयको साचो दिने नभए शौचालय नै छैन भन्ने गरेको यात्रुको भनाइ रहेको छ ।
विसं २०६५ देखि कर्णाली रिभर साइड प्रालिको टिकट काउन्टरमा काम गर्दै आएका नवीन चौलागाईंले शौचालय नभएका कारण बस समितिका कर्मचारीभन्दा पनि यात्रु धेरै समस्यामा परेको बताए । ‘शौचालय निर्माणको लागि नगरपालिकासँंग धेरै पटक हारगुहार गरियो । तर, नगरपालिका शौचालय निर्माणको काममा बेखबर जस्तै बनेको छ ।’ चौलागाईंले भने, ‘हामीहरूलाई बाध्यता छ, खुला ठाउँमा शौच गर्न ।
कसैको पसलमा जाउँ पैसा माग्छन् । नभए केही किन्नुपर्छ । खुल्ला ठाउँमा सबैका आँखा छलेर शौच गर्नुको विकल्प छैन ।’ उनले सार्वजनिक जग्गा हुँदाहुँदै पनि नगरपालिकाले शौचालय बनाउन कन्जुस्याइँ गरेको बताए ।
त्यस्तै सुदूरपशिचमयातायात प्रालिका कर्मचारी शम्शेरसिंह राठोरले नगरपालिकासंँग इच्छाशक्ति नभएकै कारण यात्रुले सास्ती भोग्नु परिरहेको बताए । उनले वार्षिक करोडौँंको बजेट नगरपालिकाले विनियोजन गर्ने गरेको भए पनि बजारको मुख्य चोकमा सार्वजनिक शौचालय निर्माण गर्न नसक्नु दुःखद कुरा भएको बताए ।
‘नगरपालिकाले खुला दिसामुक्त नगरपालिका घोषणा गरेकै तीन वर्षभन्दा बढी भयो । तर, मानिस खुला ठाउँमा शौच गर्न बाध्य छन्’, राठौरले भने, ‘भएका सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउन नसक्ने नगरपालिकाले शौचालय निर्माण गरी सहज बनाउला भन्ने आश पनि मर्न थालिसक्यो ।’
उक्त चोकको पश्चिमपट्टि अधिकांश यात्रुले शौच गर्दछन् । जुन ठाउँमा टीकापुर नगरपालिकाकी उपप्रमुख केशरी विष्ट र पूर्व प्रमुख पदमबहादुर रावलको घर पर्दछ । उनीहरूले घरको आँगनमा शौच गरेको भन्दै उजूरीसमेत हालेको बताउँदै राठौरले उजूरी हाले पनि शौच गर्ने अर्को विकल्प नभएका कारण यात्रुहरू सोही ठाउँमै शौच गर्न बाध्य रहेको बताए ।
विसं २०६३ देखि ठेला व्यवसाय गर्दै आएकी रूपमा महत्तोले पैसा तिरेर व्यपारीको शौचालयमा शौच गर्ने बाध्यता रहेको बताए । उनले खुला झाडीमा शौच गर्न जान महिलालाई समस्या हुने भन्दै कतिपय महिला यात्रुले समस्या खेप्दै आइरहेको बताए । ‘महिला हामीलाई सोध्न आउँछन्, शौचालय कहाँ छ ? भनेर ।
हाम्रो उत्तर त्यहीँ झाडी हुन्छ’, महतोले भने, ‘महिला बाटोमै महिनावारी हुँदा शौचालय नभएकै कारण झनै समस्यामा पर्ने गरेका छन् । कैयौँपटक मैले नै व्यापारीको शौचालयमा लिएर महिलालाई सहयोगसमेत गरेकी छु ।’
टीकापुर बजारमा दुईवटा शौचालय भए पनि मानिसको सबैभन्दा बढी भिडभाड हुने खडक चोकमा शौचालय छैन भने टीकापुर अस्पताल नजिकै रहेको सार्वजनिक शौचालय वर्षौंदेखि बन्द अवस्थामा छ ।
अस्पतालमा आउने बिरामीले अस्पतालको शौचालय प्रयोग गर्दै आए पनि निजी क्लिनिकमा उपचार गर्ने बिरामीलाई शौचालयको समस्या हुँदै आएको पाइन्छ ।