काठमाडौँ, चैत १ : वागमती करिडोरअन्तर्गत दोभानदेखि बालकुमारी पुल हुँदै लोकन्थलीसम्मको सडक आगामी महिना कालोपत्र हुने भएको छ ।
माइतीघर–सूर्यविनायक सडकको विकल्पका रूपमा रहेको सो करिडोर अहिले नै सञ्चालनमा रहे पनि आगामी महिनासम्ममा कालोपत्र भइसक्ने अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सडकमा गत महिना ग्राभेल भएसँगै सञ्चालनमा आउन थालेको समितिका परियोजना निर्देशक लीलाप्रसाद ढकालले बताए ।
सो सडक कालोपत्र भएसँगै नै मुख्य सडकको विकल्पका रूपमा प्रयोग हुन थालेको उनको भनाइ छ । उनले भने, ‘सडक प्रयोग गर्नेहरू अहिले जाममा बस्नु नपरेको बताइरहेका छन्, कालोपत्र भइसक्दा अझै सजिलो हुनेछ ।’
अहिले बल्खुबाट थापाथली हुँदै संखमूलसम्मको करिडोरमा सवारीसाधन चल्न थालेका छन् । लोकन्थलीसम्मको सडक कालोपत्र भए पनि बल्खुबाट लोकन्थलीसम्म मुख्य सडक नपुगी यात्रा गर्न सकिने परियोजना निर्देशक ढकालले बताए ।
लोकन्थलीबाट कौशलटार हुँदै चारदोबाटोसम्मको करिडोर निर्माणको तयारी भए पनि निर्माणस्थल खाली गराउन कठिन रहेको आयोजनाले जनाएको छ । उनले भने, ‘यो खण्डमा कतिपय व्यक्तिले नदीको जग्गा आफ्नो नाममा दर्ता गरेका छन् भने कतिपय स्थानमा नगरपालिकाले पनि अवरोध गरिरहेका छन् ।’
सरकारले विसं २०५२ देखि नै वागमती र यसका सहायक नदीहरूमा करिडोर निर्माण शुरु गरेको थियो । करिडोरको निर्माणले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा मुख्य सडकको चाप कम हुने विश्वास गरिएको छ । करिडोरको निर्माणसम्पन्न भएपछि बल्खुबाट संखमूल, बालकुमारी, चारदोबाटो हुँदै सल्लाघारीसम्म पुगिनेछ ।
करिडोरको निर्माण तीन प्याकेजमा भइरहेको छ । उपत्यकाको सबैभन्दा बढी सजारी चाप हुने चोकमा थापाथली, नयाँबानेश्वर, कोटेश्वर, जडीबुटीलगायत छन् । करिडोर सञ्चालनमा आउँदा यी चोकका जाम कम हुन थालेका छन् भने पूर्णरूपमा सञ्चालनमा आउँदा त्यो अझै कम हुनेछ ।