काठमाडौं, चैत २६ : किर्तिपुरस्थित थि" />
लोकप्रिय बन्दै भर्चुअल नाटक महोत्सव
बुधबार, चैत २६, २०७६ मा प्रकाशित

काठमाडौं, चैत २६ : किर्तिपुरस्थित थिएटर मलको आयोजनामा सञ्चालन भइरहेको भर्चुअल नाट्य महोत्सव लोकप्रिय बन्दै गएको छ । चैत १४ गतेबाट सुरु गरिएको महोत्सवमा ११ वटा नाटकको भिडिओ स्ट्रिमिङ भइसकेको छ । जुन दर्शकले खुबै रुचाएका छन् ।

‘घरमा बस्दा के गरौ कसो गरौ भन्ने भइरहन्छ मलाई पनि त्यस्तै भइरहेको थियो ।’ कलाकार खगेन्द्र लामिछाने भन्छन्, ‘नाट्य महोत्सवले एक घण्टा भएपनि समय वित्ने र रिफ्रेस गराएको छ ।’
विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीका कारण चैत ११ गतेदेखि देश लकडाउनमा छ । जसले गर्दा अधिकाशं मानिस होम क्वारेन्टाइनमा छन् । फिल्म हललगायत मनोरञ्जनका क्षेत्र सबै बन्द छन् । यो समयमा धेरैजसोले फिल्म हेर्ने, किताब पढ्नेलगायतका काममा आफूलाई व्यस्त राखेका छन् ।
पछिल्लो समय युट्युबमा अपलोड भएका फिल्म र फेसबुक हेरेरै मानिसहरू समय विताइरहेका छन् । घरमा बस्दा बोर भइरहेका नेपालीलाई मनोरन्जन दिन भर्चुअल नाट्य महोत्सवले सहयोग पुर्याएको दर्शक मुना पाण्डेले बताउँछिन् । ‘म कहिल्यै पनि नाटक हेर्थेन तर फेसबुकमा लाइभ आउन थाले पछि हेर्न थाले, अहिले सधै पाँच कतिबेला बज्ला भनेर कुरिरहेको हुन्छु’ उनले भनिन् ‘समय पनि बित्ने र नाटकबाट ज्ञान पनि पाइरहेका छु, साथीहरुलाई पनि हेर्न सिफरिस गरेको छु ।’
‘लकडाउनको समय नेपाली रंगमञ्च तपाईहरुको साथमा नै रहन चाहन्छ’ कलाकारहरू भन्छन्, ‘मञ्चन भइसकेका नाटकहरू लाइभ देखाइन्छ यसले दर्शकलाई पनि मनोरन्जनका साथैसाथ नाटकप्रति आर्कषित गर्छ ।’ फेसबुक लाइभमा देखाइएको नाटकले नाटकको दर्शक समेत बढाइरहेका उनीहरुको बुझाई छ ।

चौधौं दिन दुई वटा नाटक देखाइने छ । विहिबार दिउँसो १ बजे भारतेन्दु हरिषचन्द्रले लेेखेको नाटक संगीत सापकोटा, आशिष घिमिरेले निर्देशित हाँस्यव्यंग्य शैलीको ‘अँधेरी नगरी चौपट राजा’, र  साझँ ५  बजे एलिज बियन्निक निर्देशित डान्स ड्रामा ‘द फ्लाइट’ (नेपालीमा) देखाइने छ ।

‘नाटकघरमा आएर प्रत्यक्ष रुपमा नाटक नहेरेका दर्शकले पनि भिडिओ हेरेपछि आगामी दिनमा नाटकघरमै पुगेर प्रत्यक्ष नाटक हेर्ने प्रतिबद्धता जनाएको हामीले देख्यौं, नाटक हेरेका दर्शकको प्रतिक्रिया पनि त्यत्तिकै सन्तोषजनक छ,’ महोत्सव निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘हामीले आशा गरे भन्दा बढी महोत्सव लोकप्रिय भयो । दर्शकलाई ध्यानमा राखी यस हप्ताको अन्त्यसम्म नाटक देखाइनेछ ।’ महोत्सवको आयोजना भएपछि नाट्य संस्था र नाटक निर्दैशसँग कुरा गरेर नाटक उपलब्ध गराएको उनको भनाई छ । उनका अनुसार नाटकहरू ‘अन्धेर नगरी चौपट राजा’, ‘पपेट प्ले’, ‘ऊ मरेकी छैन’, ‘लाटीको छोरो’ र ‘गर्भछटा’ पनि प्रदर्शनको सूचीमा छन् ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै विश्व रङ्गमञ्च दिवसको सन्दर्भ पारेर चैत १४ गते शुक्रबार देखि महोत्सव सुरु गरिएको थियो । पाकिस्तानी नाटककार शाहिद नदीमले लेखेको रङ्गमञ्च बर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्र्देिशत नाटक ‘मान भर्सेस मती’ देखाइएको थियो ।
दोस्रो दिन शनिबार एस्थेटिक डान्स स्टुडियोको प्रस्तुतीमा नम्रता केसीको परिकल्पना र निर्देशनमा तयार नाटक ‘राजेन्द्रलक्ष्मी’ र तेस्रो दिन आइतबार ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’ मा संग्रहित कथामा आधारित रहेको नाटक ‘जालिनी’ लाई परिकल्पना र निर्देशन दयाहाङ राईले गरेका नाटक देखाइएको थियो ।
चौथो दिन सोमबार सुदाम सीके निर्र्देिशत नाटक ‘पाँच’ मा पाँच जना कलाकारले आफ्नो शरीरमा आफूलाई खोजे । शरीरसँग प्रयोग गरे । उनीहरूको शरीरलाई त्यसरी प्रयोग गर्दा बाहिरी तत्वको कस्तो प्रभाव पर्याे यस्तै कुराको सुक्ष्म विश्लेषण नाटक नाटक ‘पाँच’ देखाँइएको थियो । यो नेपालमा हुनेभन्दा फरक शैली र शिल्पको नाटक रहेको बताइएको छ ।
पाँचौ दिन मंगलबार ङ समूहको प्रस्तुति, लोककथामा आधारित, सिजन दाहाल लिखित, गोविन्द पराजुली निर्मित, प्रवीण खतिवडा निर्देशित नाटक ‘एक बोली एक दाम’ र छैटौं दिन बुधबार सुभोजित बन्द्योपाध्याय निर्देशित नाटक ‘नथिङ टु से’ नाटक देखाँइएको थियो ।


सातौ दिन विहिबार भारतीय नाटककार सुरेन्द्र वर्मा लिखित, अनुप बरालको पर्यवेक्षणमा सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियो प्रस्तुति नाटक ‘शकुन्तलाको औंठी’ र आठौं दिन शुक्रबार केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको नाटक ‘उपियाँको निबन्ध’ को भिडियो प्रस्तुत गरिएको थियो ।

त्यस्तै नवौं दिन शनिबार सिल्भररस्टेशनको कथा ‘गिमिङ ट्री’ मा आधारित आकांक्षा कार्कीको परिकल्पना तथा निर्देशित कथाघेराको प्रस्तुति नाटम ‘दयालु रुख’ र दशौं दिन आइतबारका सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरूक्षेत्र’ देखाएको छ ।

एघारौँ दिन सोमबार गुरूकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममु निको तिर्खा’ को भिडियो लाइभ स्ट्रिमिङ भएको थियो । युजिन ओनिलको लेखन रहेको यस नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् ।

बाह्रौं दिन मंगलबार श्याम साहको कथामा आधारित सुलक्षण भारती निर्देशित आर्ट स्टुडियो र पुरानो घरको प्रस्तुति नाटक ‘लाटीको छोरो’ र तेह्रौं दिन बुधबार प्रतिक्षा कट्टेल लिखित, विजया कार्की निर्देशित नाटक ‘क्लेशा:’ लिएर देखाइएको थियो ।

लकडाउनमा बसिरहेका दर्शकलाई क्वारेन्टाइनमै मनोरञ्जन प्रदान गर्न यो नाटक महोत्सवको आयोजना गरिएको हो । क्वारेन्टाइन नाटक महोत्सव थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले संयुक्त रुपमा आयोजना गरेको हो । यस महोत्सवअन्तर्गत नाटक हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेजबाट लाइभ स्ट्रिमिङ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय