काठमाडाैं, चैत २८ : घरको सबैभन्दा माथ" />
मानिसको मनोविज्ञानलाई अर्मूत चित्रमार्फत प्रस्तुत
शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित

काठमाडाैं, चैत २८ : घरको सबैभन्दा माथिल्लो तलामा पुग्नेबित्तिकै भित्तामा झुन्डाइएका क्यानभासमा तरल पदार्थ सलल बगिरहेझैँ  लाग्छ। त्यहाँ  मानव मुुटु,  हरियो जंगल, नाचिरहेको मयूरको आकृति प्रस्टै देखिन्छ। ती आकृतिमा कालो, नीलो, रातो, हरियो लगायत  रंग समायोजन गरिएको छ, जुन निकै चित्ताकर्षक छन्।

लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा रुमिना खनाल मैनालीको ‘फ्ल्युड’ शीर्षकको चौथो एकल कला प्रदर्शनीमा समेटिएका यस्ता चित्रकलाले नेपाली चित्रकलामा  नयाँपन ल्याएको आभास गराउँछ।

विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी मैनालीले दुई वर्षअघि नेपालमै फ्ल्युड आर्ट प्रदर्शनी गरेकी थिइन्। सन् २००६ मा नेपालमा ‘इम्प्रेसन आफ्टर पिकासो’ र सन् २०१३ मा ‘क्रिएसन’ शीर्षकको कला प्रदर्शनी गरेकी उनको फ्ल्युडसम्बन्धी यो दोस्रो प्रदर्शनी हो।

‘भाँडामा राखिएको तरल पदार्थमा विभिन्न  रंग घोलिन्छ र  यसलाई क्यानभासमा खन्याएर गरिने आर्ट नै फ्ल्युड आर्ट हो,’ मैनाली भन्छिन्। मैनालीले रमेश खनाल (पिता तथा वरिष्ठ चित्रकार) को छत्रछायामा बसेर बाल्यकालबाटै चित्र कोर्न सिकेकी हुन्।

उनी अमूर्त चित्र मनोवैज्ञानिक चित्र भएको बताउँछिन्। उनी भन्छिन्, ‘अमूर्त कलाको कुनै  मूर्त रूप हुँदैन। यस्ता चित्रलाई  दर्शकले जस्तो रूपबाट हेर्छन्, त्यस्तै देख्छन्।’ उनले प्रदर्शनीमा २४ वटा चित्र समेटेकी छन्। गत वर्षको राष्ट्रिय चित्रकला प्रदर्शनीमा उनका फ्ल्युडसम्बन्धी दुई  चित्रहरु छानिएका थिए।

‘नेपालमा फ्ल्युड आर्ट बनाउने प्रचलन अझै भित्रिएको छैन, कहीँ कतै एक–दुई चित्रकारले बनाउने प्रयास गरेको देखिन्छ,’ मैनाली भन्छिन्, ‘फ्ल्युड आर्टलाई नै सिरिज मानेर प्रदर्शनी गरिएको यो नै पहिलोपटक होला। नेपालमा फ्ल्युड आर्ट  विकसित नभए पनि विदेशीमा यसको विकास र बजार राम्रो छ।’

‘मानिसको मनमा जतिखेर जे पनि आउन सक्छ, मानिसको मनोविज्ञानलाई अर्मूत चित्रमार्फत मात्रै प्रस्तुत गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘कुनै कलाकारको मनभित्रको भावनालाई रंगको माध्यमबाट व्याख्या गर्नु नै अमूर्त कला हो।’ चित्रमा प्रयोग भएका रंगबाट चित्रकारले आफ्नो जीवनमा आएका खुसी, हर्ष, उमंग र निराशा प्रस्तुत गरेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय