काठमाडौं, फागुन ९ : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको लेखनाथ हलमा नृत्यकार शिवराम कासुलाले प्रतिपादन गरेको नृत्य लिपि विषयक विचार विमर्श कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका सभाध्यक्ष नारायण भक्त श्रेष्ठज्यू ले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । स्वागत मन्तव्य प्रस्तुत गर्ने क्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले आवश्यकता नै आविष्कारको जननी भएको बताउँदै नृत्यमा पनि लिपिको आवश्यकता महसुस गरी शिवराम काशुलाले नृत्य लिपिको विकास गरेको बताए । उनको आविष्कार प्ररिक्षण गर्न आजको यस विचार विमर्श कार्यक्रमको आयोजना गरेको तमोटले बताए ।
कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु हुँदै साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले यस्ता नवीनतम विषयमा छलफल कार्यक्रमको आयोजना गर्नु नै प्रज्ञा प्रतिष्ठानको उद्देश्य हुनु पर्ने बताउँदै तिनलाई दस्तावेजिकरण गरिनु पर्ने विचार व्यक्त गरे ।
मन्तव्यकै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ देवी नेपालले संगीत नाट्यका क्षेत्रमा आजसम्म जे भएका छैनन् तिनको खोजी गरी ती विषयहरुलाई छलफल र बहसमा ठाउँ दिनु अति नै प्रसंशनीय रहेको बताइन् ।

सिराकास नृत्य लिपिका प्रवर्तक शिवराम काशुलाले आफूले प्रतिपादन गरेको नृत्य लिपिका बारेमा प्रस्तुतिकरण दिने क्रममा प्राज्ञ सत्यकला राईको आवजमा गाइएको गायत्री मन्त्रलाई नृत्यमार्फत प्रस्तुति दिंदै नृत्यमा प्रस्तुत भएका नृत्यका चाललाई लिपिमार्फत व्याख्या समेत गरे ।
कार्यक्रममा बोल्दै नृत्यका जिउँदो इतिहास मानिने वरिष्ठ नृत्यकार भैरववहादुर थापाले शिवराम जस्ता प्रतिभा देखेर खुसी लागेको बताउँदु हुँदै यस्ता व्यक्तिहरुलाई राज्यले प्रोत्साहित गर्नु पर्ने विचार व्यक्त गरे ।
नृत्य लिपिको विकास यस अघि पश्चिमा देशहरुमा पनि भएका तर ति लिपिले सिमित किसिमका नृत्यहरुलाई मात्र लिपि वद्ध गर्न सकेको कुरा जानकारी गराउँदै शिवराम कासुलाको नृत्य लिपिले सम्पूण नृत्यहरुलाई लिपिवद्ध गर्न सकोस भन्ने शुभकामना दिए ।
यस्तै कार्यक्रममा प्राज्ञ नारायणी देवी प्रधान, विणा जोशी, के.पी पौडेल, महेश हाडा लगायतले आफ्नो भनाइ राखे । कार्यक्रमलाई समापन गर्ने क्रममा कुलपति रायनले यस लिपिका प्रवर्तक आफूसँग पुस्तकका लागि शुभकामना लेखाउन आउनु भएको बेला पुस्तकलाई सरसरती हेर्दा गम्भिर विषय भएकोले प्रकाशनमा ल्याउनु भन्दा पहिले नृत्य विज्ञहरुसँग छलफल गर्न आफूले सुझाव दिए । प्राज्ञ नमूना शर्माले सहजीकरण गरेकी कार्यक्रममा नृत्य क्षेत्रका अग्रज व्यक्तित्वहरु, भारतको आसम राज्यबाट साहित्यकार डा. खेमराज नेपाल तथा रुद्र बराललगायतको उपस्थिति रहेको थियो ।