काठमाडौँ, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष समारोहमा उनको ६९औँ जन्मोत्सवको सुअवसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे ।
प्रधानमन्त्री ओली आइतबार ७० वर्ष टेक्दै छन् । उक्त समारोहमा ९० वर्षीय उनका पिता मोहनप्रसाद ओलीले ६९औँ जन्मोत्सवको अवसरमा मञ्चमा राखिएको पुस्तकको आवरण खोलेर प्रधानमन्त्री ओलीलाई शुभकामना दिए । प्रधानमन्त्री ओलीले अंग्रेजी भाषामा लेखेका पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’ गरी चार भागमा विभाजन गरेका छन् ।
आन्तरिक र विदेशी नीतिका बारेमा विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ । देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको गहिरो सदीक्षा पुस्तकमा प्रकट छ । प्रधानमन्त्री ओलीले मुलुक सञ्चालनका दौरान प्राप्त गर्नुभएको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सार्नुभएको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेटेका छन् ।
पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारणले मानिसले खान, लगाउन र बस्ने ठाउँ नपाएको उल्लेख गर्दै वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको बताए । उनले मुलुकलाई २१औँ शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताउँदै भने, ‘अटोक्रेसी टु डेमोेक्रेसी त आइहाल्यो, अबको गन्तव्य पोभर्टी टु पस्पेरिटी हो ।’
उक्त पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढंगले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको प्रधानमन्त्री ओलीले जानकारी गराए । मेट्नै नसकिने खालको मुलुकको विकासको सम्भावनाहरू अथाह रहेको बताउँदै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिष्पर्धाका साथ अघि बढ्दा सफलता प्राप्त हुन्छ भने । उनले हिमाल, पहाड र तराईमा विविधतायुक्त, समृद्ध र उर्वर प्रकृति रहेको उल्लेख गर्दै विकासका लागि त्यसको खास अर्थ रहेको बताए ।
नेपाललाई ढुंगा, काठ, माटो, दाउरा, बाँस, पराल सबै प्रकृतिले दिए पनि उचित व्यवस्थापनको अभावमा घर बन्न नसकेको सन्दर्भ जोड्दै उनले केही वर्षभित्रमै मुलुक आवासविहीनताको अन्त्य हुने उद्घोष गरे । प्रधानमन्त्री ओलीले देश गरीब भए पनि भोमकमरी नभएको जिकिर लिँदै भने, ‘कोही भोको पर्दैन, कोही भोकै मर्दैन, सरकारले जिम्मा लिन्छ ।’ उनले धेरै ठूलाठूला कुरा गर्नुभन्दा पहिले त्यसको व्यवस्था गर्नुपर्छ भनेर सरकारले काम थालिसकेको प्रधानमन्त्रीले जानकारी दिए । सरकारले सडक बालबालिका, सडकमानव र सडकमा पछारिएका बेहाल मान्छे रहने अवस्थाको अन्त्य गरेको समेत बताए ।
समृद्धिको यात्रामा अघि बढेको मुलुकमा विगतको सुस्ततालाई चिर्दै अहिले हरेक दिन छ किलोमिटर सडक बनिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दुई वर्षमा साढे तीन सय पुल बनेको छ, तुइन विस्थापित भएको छ, ऊर्जा उत्पादनमा असाधारण वृद्धि भएको छ, सञ्चिति र बचतमा वृद्धि भएको छ, व्यापार असन्तुलन अलिकति भए पनि न्यून गरेका छौँ ।’ प्रधानमन्त्री ओलीले व्यापार सन्तुलनमा लैजान उत्पादन र उत्पादकत्व बढाउँदै उपभोगको ढाँचा प्रवृत्ति र तरिकालाई फेर्नुपर्नेमा जोड दिए । उनले ‘केमिकल’ स्वाद भएका वस्तुहरू आयात गरेर स्वास्थ्य र अर्थतन्त्र बिगार्ने काम भइरहेकाले आनीबानी बदल्नुपर्ने सुझाव दिए ।
सार्वसौमसत्ता र जनता निर्णयक भएको वास्तविक लोकतान्त्रिक प्रणालीको थालनी गरिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले ढंग पु¥याइएन भने मुलुक सार्वभौम भए पनि समस्या यथावत रहेन बताए । उनले प्राकृतिक स्रोत साधनलाई समुचित ढंगले उपयोग गर्न सक्ने गरी शिक्षा र तालिमको आवश्यकता महसुस गरे । प्राकृतिक स्रोतभित्रको असाधारण सम्भावनालाई समुचित प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।
बाह्य मुलुकले देशभित्रको सम्भाव्यतालाई प्रयोग गर्न सक्ने सामथ्र्यको विकास गरिरहेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले भने, ‘हामीले त्यस्तो काम गर्नु आवश्यक छ र गर्न सक्छौँ ।’ ‘नेपालीहरू विद्धान पुर्खाका सन्तान हो, त्यसकारण हामीसँग वंशाणुगत मेमेरो छ, हाम्रा पुर्वज बहादुर भनेर बढी चर्चा गरिन्छ, उनीहरू बहादुरभन्दा विद्धान थिए, त्यो विद्धताको कम चर्चा भइरहेको छ’, प्रधानमन्त्रीको थप कथन थियो । उनले दुनियाँ अन्धकार युगमा हुँदा नेपालमा ज्ञान निर्माणको चरणमा अघि बढेको इतिहास रहेको उल्लेख गर्दै अहिले मुलुक केही शताब्दी पछाडि परे पनि नेपालीसँग वंशाणुगत मेरोरी यथावत रहेको जिकिर गरे ।
अन्य देशमा पानी, माटो र श्रम शक्तिको सन्तुलनमा समस्या रहेको तर नेपालमा यथेष्ट जमिन, पानी, खनिज र काम गर्ने जनशक्ति भएकाले मुलुकले विकास गर्ने सामथ्र्य राख्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि भिजन र कार्यान्वयन गर्ने प्रतिबद्धताको खाँचो रहेको औँल्याए । उनले मुलुकको यो अवस्थितिलाई नकारात्मक ढंगले बुझेर त्यसैलाई दोष लगाउनु गलत हो भने ।
प्रधानमन्त्री ओलीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक र वैदेशिक सम्बन्ध विकास गर्दै भिन्दाभिन्दै राजनीतिक, आर्थिक र सामाजिक प्रवृत्ति बोकेको छिमेकीसँग सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘हामी दुई ठुला ढुंगा बीचमा छौँ भने फैलिन नपाउने होला, यसैमा समृद्धि हासिल गर्न सक्छौँ ।’ सूर्य, चन्द्रमा, पृथ्वीसमेत सन्तुलनमा घुमिरहेको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले दुनियाँ नै सन्तुलनमा चलेको अवस्थामा नेपालले दुई छिमेकीसँग सन्तुलन मिलाउन नसक्ने भन्ने कुरै नहुने बताए । पारस्परिक लाभ र पारस्परिक मागका आधारमा अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
सरकारले मुलुकलाई अधुनिक विकासमा केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिए । नेपालका सहयोगी शुभेच्छुकहरू धेरै रहेको र दुनियाँमा लगानी कहाँ गरौँ भन्ने लगानीकर्तासमेत रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई सरकारले अनुकूल वातावरण मिलाउँदै लगेको बताए ।
आयातकर्ताभन्दा पनि निर्यातकर्ता देशको रूपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि उपजलाई आधुनिकीकरण गरी जैविक कृषि प्रणालीको विकास गर्न सके नेपाल दुनियाँकै आकर्षणको देश बन्ने प्रधानमन्त्रीको दाबी छ । अहिलेको सरकार गन्तव्यमा पुग्न हिसाब गरेरै अघि बढेको उनले बताए । ‘ढुंगा टिपेर फाल्दा जहाँ खस्छ त्यहाँ निशाना हो भन्नुभन्दा पनि अहिलेको सरकार पहिले निशाना तय गरेर त्यस निशानामा पुग्ने बाटो तय गर्दै अघि बढेको छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानतासहितको समृद्धिमा जाने मुलुकको चाहना रहेको प्रष्ट्याउँदै आफ्नो पुस्तकमा ती कुरालाई समावेश गरिएको जानकारी दिए ।
पुस्तकको टिप्पणीका क्रममा कूटनीतिज्ञ शम्भुराम सिंखडाले प्रधानमन्त्री ओलीलाई रंगीन, मौलिक र आफ्नो कुरालाई प्रस्तुत गर्नसक्ने शक्तिशाली व्यक्तिको संज्ञा दिँदै उनको पुस्तकमा संयुक्त राष्ट्रसंघ, भारत, चीनलगायत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, लगानी, व्यापारघाटा र त्यसलाई पूर्ति गर्न आवश्यक पर्ने सुधारको बारेमा उल्लेख भएको बताए ।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठनको सयौँ वार्षिकोत्सवमा सम्बोधन गर्नुभएको र सरकारले अघि सारेको सामाजिक सुरक्षाको विषय पनि पुस्तकमा समावेश छ । पुस्तकमा उनले समन्यायिक र सामाजिक विकासको परिकल्पना समेट्नुभएको छ । सन् २०३० सम्ममा मुलुकलाई विकासको नयाँ स्थानमा पु¥याउने लक्ष्य किताबको ठाउँठाउँमा व्यक्त भएको सिंखडाले बताए । ‘वैचारिक धरातल, नीतिगत दृष्टिकोण र कामको फेहरिस्त पुस्तकको रुमपा आएको छ, अब वुद्धिजीवी भन्नेहरूले त्यसको चिरफार गरेर कि सकारात्मक दृष्टिकोण दिनुप¥यो कि आलोचना गर्न छाड्नुप¥यो’, सिंखडाले भने । उनले सबैभन्दा महत्वपूर्ण शक्तिशाली संयन्त्र र त्यसको सवलीकरण तथा प्रभावकारी विकासबिना समाजको रुपान्तरण सम्भव नभएकाले त्यस संयन्त्रको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको बताए ।
आफ्नो र मौलिक किसिमको परिवर्तनको प्रक्रियामा रहेको नेपाललाई वैचारिक चिन्तनको गहिराइका लागि प्रधानमन्त्री ओलीले वौद्धिक विष्लेषण र सार्वजनिक बहसलाई पुस्तकमार्फत खुला गर्नुभएको सिंखडाको भनाइ थियो । ‘सबै कुरा बिग्रियो, भत्कियो भन्ने मनस्थितिबाट माथि उठेर आशा र विश्वासको वातावरण सिर्जना गर्नुपर्छ’, पुस्तकको टिप्पणीको अन्त्यमा सिंखडाले भने, ‘किताबको सबैभन्दा ठूलो पक्ष भनेको आशा र विश्वासका लागि सबैभन्दा आवश्यक कुरा हाम्रो चिन्तन, सोच र काम हो ।’
अर्का टिप्पणीकार डा विन्दु लोहनीले सीप, स्तर र नैतिकतामा आधारित अर्थतन्त्र बनाउने प्रधानमन्त्रीको सोच किताबमा झल्किएको बताए । नेपालका धेरै विकासका कामको अभिभारा प्रधानमन्त्री ओलीले सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले पुस्तकका विषयवस्तुमा पूर्ण सहमति जनाए ।
उनले अहिले मुलुकको आर्थिक अवस्था उकास्ने समयमा ठूला कार्ययोजना कार्यान्वयनमा लैजानुपर्छ भने । सुशासनमा भ्रष्ट व्यक्ति पार्टीमा रहन सक्दैन भन्ने प्रधानमन्त्रीको कुराले आफूलाई छोएको उल्लेख गर्दै लोहनीले थप्नुभयो, ‘पहिलोमा भ्रष्टाचार विकासको शत्रु हो, विकासका लागि भने दोस्रो कानूनको शासन, तेस्रो आर्थिकवृद्धि, चौथो संस्थागत संरचना र पाँचौँ शिक्षा र प्रविधिलाई प्रधानमन्त्रीले आफ्नो पुस्तकमा जोड दिएका छन् ।’
पुस्तक प्रकाशन संस्था रत्नपुस्तक भण्डारका सञ्चालक गोविन्दप्रसाद श्रेष्ठले पुस्तकको असर पुस्तक र पाठकका बीचको सम्बन्धमा मात्र सीमित नभई यस दृष्टिकोणमा आधार भएर मुलुक सञ्चालन भइरहेको छ भन्ने अभिव्यक्ति छ भने । उनले पुस्तक देख्न र पढ्नका लागि मात्रै नभई मुलुक र जनताको जीवनमा परिवर्तनका लागि महत्वपूर्ण रहेको बताए । प्रधानमन्त्री ओलीले आफ्नो दृष्टिकोण मुलुकको हितका लागि पुस्तकमार्फत अघि सारेको श्रेष्ठले बताए ।