बर्दिया,असार ४ (फरकसमाचार) / कर नतिर्ने व्यवसायीलाई करदाता सेवा कार्यालयले नामावली सार्वजनिक गरेको छ । जिल्ला स्थित व्यवसायीले व्यवसाय स्थापना गरि लामो समय देखि कर नतिर्ने व्यवसायीको नामावली करदाता सेवा कार्यालयले फेसबुव पेजमा सार्वजनिक गरेको हो ।
कार्यालयले कर प्रणालीको पारदर्शिता र करदाताको जिम्मेवारी बोधलाई बढाउने उद्देश्यले आठै वटा स्थानीय तहसँग समन्वय गरी कर नदिने व्यवसायहरुको विवरण सम्बन्धित पालिकाको सुचना पाटीमा समेत टाँस गरिएको करदाता सेवा कार्यालयका प्रमुख राजेन्द्र खड्काले बताए । ‘लामो समय देखि कर नतिर्ने व्यवसायहरुलाई स्वेच्छिक रूपमा सम्पर्क गरी कर दाखिला गर्न आग्रह छ,’उनले भने,‘कर नतिर्ने व्यवसायहरूलाई आवश्यक परे कानुनी कारवाही अगाडि बढाइनेछ ।’
कार्यालयका अनुसार गैर दर्ता वा दर्ता भई नियमित रूपमा कर नतिर्ने व्यवसायहरुलाई कर प्रणालीमा ल्याउन र समयमै कर दाखिला गराउने वातावरण बनाउने अभियान अन्तर्गत करदाताको सूची सार्वजनिक गरिएको छ ।
स्थानीय तह, उद्योग वाणिज्य संघ तथा सरोकारवाला निकायसँगको सहकार्यमा कर कार्यालयले विवरणको प्रचार प्रसार गर्दै सम्बन्धित व्यवसायीलाई कानुन बमोजिम आय विवरण दाखिला गर्न तथा कर तिर्न अनुरोध गरेको छ ।
‘करदाता सेवा कार्यालय गुलरियाले हालै पठाएको विवरण अनुसार कृषि तथा पशुपंछि फर्म, होटल, खुद्रा व्यापार, निर्माण सामग्री विक्रेता देखि पेट्रोल पम्प र मेडिकल जस्ता व्यवसायहरु कर नतिर्ने सूचीमा परेका छन् ।