काठमाडौँ, फागुन १८ : कलाकार जय शङ्करसन श्रेष्ठको तेस्रो एकल प्रदर्शनी ठमेलस्थित दलाइ–ला आर्ट स्पेसमा सम्पन्न भएको छ । एक महिनादेखि जारी प्रदर्शनीमा मानव जीवनका सुखान्त र दुखान्त घटनालाई कलात्मकरूपमा चित्रण गरिएको छ ।
‘अन्त्यहीन यात्रा’ शीर्षकमा गरिएको प्रदर्शनीमा कलाकार श्रेष्ठले जीवन र जगत्का शाश्वत सत्य र विभिन्न परिघटनालाई क्यानभासमा चित्रण गरेका छन् । श्रेष्ठले कुमालेको चक्रजस्तै घुमिरहने जीवनमा कहिले सुख त कहिले दुःखका परिघटनाहरू चलिरहन्छन्, तिनलाई सिर्जनात्मक दृष्टिबाट क्यानभासमा उतार्ने काम गरेको सुनाए । उनले आफ्ना सिर्जनाका विषयमा भने, ‘मैले साँखु वरिपरिकै विषयलाई कलाको ‘थिम’का रूपमा लिएको छु जसमा संस्कृति, प्रकृति, सुख, दुःख, जीवनयात्रालगायतका विषयलाई प्रस्तुत गरेको छु ।’
उनले प्रकृति, संस्कृति, जीवन र जगत्, आरोह अवरोह तथा यावत मानवीय गतिविधि सबै अन्त्यहीन रहेको जिकिर गर्दै कलामा तिनै विषयलाई प्रस्तुत गरेको बताए । विसं २०७२ मा आएको विनाशकारी भूकम्प र त्यसको कहरले निम्त्याएको दुखान्त विषयलाई कलाकार श्रेष्ठले मार्मिकरूपमा उठाउनुभएको छ । भत्किएका घर, सम्पदा तथा सांस्कृतिक धरोहरलाई चित्रमा प्रस्तुत गर्दै भूकम्पका कारण सामाजिक जीवनमा परेको प्रभावलाई केलाउनुभएको छ ।
उनले प्रतिकात्मकरूपमा चित्रमा पुतली, सारस तथा हम्वर्ग चरालगायतका विषयलाई राख्नुभएको छ । जीवन सुन्दर परिकल्पनाको सँगालो रहे पनि त्यसमा जीवन र जगत्का विषय भने कहिले दुखान्त त कहिले सुखान्त रूपमा आउने श्रेष्ठले जिकिर गरे । उनले सांस्कृतिक तथा प्राकृतिक विषयलाई क्यानभासमा उधिन्दै सगरमाथा, विभिन्न मन्दिर, संस्कृतिका विविध पाटालाई चित्रमा प्रस्तुत गरेका छन् ।