काठमाडौं, फागुन १९ : नेपालका लागि नवनियुक्त भारतिय राजदुत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हालेका छन् । शालिन कुटनीतिज्ञको छवि बनाएका मन्जिभसिंह पुरीको कार्यकाल पुरा भएपछि खाली भएकाे राजदुत पदका लागि भारतले विनयमोहन क्वात्रालाई काठमाडौं पठाएकाे हाे । क्वात्रालाई भारतीय विदेश मन्त्रालयले जनवरी ३० मा नेपालका लागि राजदूत नियुक्तिको निर्णय गरेकाे थियो । क्वात्रा काठमाडौं आउनुअघि फ्रान्समा राजदूत थिए । उनी फ्रान्सबाट कतार हुँदै आईतवार काठमाडौं आइपुगेका हुन् ।
सन् १९८८ देखि भारतीय परराष्ट सेवामा प्रवेश गरेका क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्ति राष्ट्रमा सफलतापूर्वक काम गरेका छन् । उनी भारतमा एक अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा चिनिन्छन् । क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास गरिएको छ । नेपालसँग थाँती रहेका मुद्दाहरु समेत उनको कार्यकालमा अघि बढ्ने र टुंगोमा पुग्ने आंकलन गरिएको छ । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जस्ता संयुक्त राष्ट्र संघका विभिन्न अंगमा पनि काम गरेका छन् । चीन र अमेरिकामा भारतीय कूटनीतिक नियोगलाई सफल रुपमा उभ्याउन उनको उल्लेख्य योगदान छ । भारत र क्यानडा सम्बन्धलाई पनि उचाईंमा पुर्याउन भूमिका खेलेका थिए ।
जेनेभामा मानव अधिकार आयोगमा कार्यरत रहँदा उनले ग्रेजुएट स्कूल अफ इन्टरनेशनल स्टडीजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरे। दक्षिण अफ्रिका र उज्बेकिस्तानमा कूटनीतिक मिसनहरूमा पनि उनले काम गरेका छन्। क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए। यसअर्थमा उनी नेपालसँग पहिलेदेखि नै परिचित छन् । क्वात्राले विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान डिभिजनको नेतृत्व पनि गरे । विदेश मन्त्रालयमा अमेरिका डिभिजन प्रमुखका रूपमा काम गरेका हुन् ।