चिप्लेढुंगा, फागुन २२ : पोखरामा दशौँ अन्तरराष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरिएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ आज पोखराको लेकसाइडमा दशौँ अन्तरराष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरिएको हो । एभरेष्ट नेपाल कल्चरल ग्रुपको अग्रसरतामा पोखराका पर्यटन व्यवसायीको सहभागितामा सन् २००१ देखि प्रत्येक दुई वर्षमा यो मेला हँुदै आएको छ ।
उक्त अन्तरराष्ट्रिय लोक सांस्कृतिक मेलामा बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, इजिप्ट, भारत, नेपाल, मलेसिया, मेक्सिको, श्रीलंकालगायत १० देशका कलाकारले आफ्नो देशको सांस्कृतिक पोशाकमा कला प्रस्तुत गरेका कार्यक्रममा संयोजक अग्नि कँडेलले जानकारी दिए । उनले सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
एभरेष्ट कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले मेला विशेषगरी विभिन्न देशको कला संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताए । उनले भने, ‘यो मेलाले विभिन्न देशबीचको कला संस्कृतिको सम्मान र प्रवद्र्धनमा भूमिका खेल्दछ र सांस्कृतिक पर्यटनमा टेवा पुर्याउनेछ ।’ कोइरालाले विभिन्न मौलिक लोक तथा सांस्कृतिक झल्कने कार्यक्रम स्वदेश तथा विदेशमा प्रस्तुत गरी पर्यटकीय क्षेत्रमा टेवा पुर्याउन स्थापनाकालदेखि गर्दै आएको जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हरेक देशको पहिचान त्यसको देशको कला संस्कृतिमा झल्कने भएकाले यस्ता कार्यक्रमले एक अर्काको बीचको सम्बन्धलाई मजबूत बनाउने धारणा राखे । उनले मेलाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय देशमा भएका विभिन्न सांस्कृतिक कलालाई एकापसमा आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराई, परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेल लगायतको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा पोखरा पर्यटन क्षेत्रमा आबद्ध संघ संस्था, महिला समूहलगायतको उपस्थिति थियो ।