काठमाडाैं, फागुन २२ : बलात्कारको अभियोगमा फरार रहेका पूर्व डिएसपी राजकुमार खिउजू पक्राउ परेका छन्। बुधबार दिउँसो महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो।
२१ वर्षीया युवतीलाई चापागाउँस्थित प्रहरी कार्यालयमा जबरजस्ती करणी गरेको अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजूविरूद्ध प्रहरीमा गत माघ २२ गते उजुरी परेको थियो।
एक वर्षअघि चापागाउँस्थित प्रहरी कार्यालयमा प्रहरी रिपोर्ट बनाउन जाँदा आफूलाई खिउजूले बलात्कार गरेको निवेदनमा उल्लेख छ। त्यसपछि ६ महिनासम्म निरन्तर खिउजूबाट बलात्कारमा परेको पनि ती युवतीले निवेदनमा लेखेकी छन्।
कसरी भइन बलात्कारकाे सिकार ?
पढ्ने र कमाउने रहरले गाउँबाट सहर आएकी थिइन्। सहर आउन त आइन् तर काम पाइहालेकी थिइनन्। उनले कतैबाट महाराजगञ्जस्थित एक संस्थाले सेक्युरिटी गार्डको लागि मान्छे मागेको छ भन्ने कुरा सुनिन्। सोध्दै खोज्दै त्यहाँ पुग्दा ‘प्रहरी रिपोर्ट लिएर आउन’ भन्यो।
२०७५ साल मंसिर ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रहरी कार्यालयमा रिपोर्ट बनाउन पुगेकी थिइन्। त्यहाँ उनको भेट डिएसपी राजकुमार खिउजूसँग भयो। डिएसपी खिउजूले उनलाई चिया खाएर जान प्रस्ताव राखे। एक प्रहरीले चिया लिएर आएपछि खिउजू पनि सँगसँगै आइपुगे। बर्दीमै रहेका डिएसपी खिउजूले ढोकाको चुकुल लगाएरर युवतीमाथि जाइलागे।
‘उसले मेरो मुख थुनिदियो। म चिच्याउन सकिनँ,’ उनले भनिन्, ‘प्रहरीको बर्दीमै मलाई बलात्कार गर्यो।’
बलात्कार गरेपछि खिउजूले आफूलाई धम्क्याएको युवतीले बताइन्। आफूले सबै कुराको भिडिओ खिचेको र कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिएकाे बताउँछिन्।
‘गाडी अर्कैले चलाएको थियो। ऊ मेरो छेउमा बसेर पनि मलाई बाटाेमा धम्क्याउँदै म बस्ने ठाउँसम्म पुर्याइदियो । म निकै डरएकी थिए ।’ उनले भनिन् ।
त्यस दिनदेखि खिउजू बिहान बेलुकै ती युवतीको कोठामा पुग्न थाले। ‘त्यसपछि पनि झण्डै छ महिनासम्म ऊ मेरै कोठामा आएर मलाई धम्क्याउँदै बलात्कार गर्यो,’ उनले भनिन्, ‘यो कुरा मैले कसैलाई भन्नै सकिनँ न परिवारलाई न त साथी भाइलाई नै।’