कैलाली, फागुन २२ : सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य ४३ वर्षीय अक्कलबहादुर रावल बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। धनगढीकी एक विवाहित महिलामाथि बलात्कारको आरोपमा बुधबार रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले बताएका छन्। उनका अनुसार धनगढी उपमहानगरपालिका–४, की विवाहित महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उजुरीका आधारमा उनलाई पक्राउ गरेकाे हाे ।
प्रदेश सभाका सदस्य रावलविरुद्ध फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा बलात्कार प्रयासको आरोपमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेशसभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवरजस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन्। महिलाको उजुरी आएलगत्तै प्रहरीले उनको खोजी गरेको थियो, तर नभेटिएको बताउँदै प्रहरी प्रमुख गिरीले बुधबार प्रदेश सभा सदस्य रावल आफ्नाविरुद्ध उजुरी परेपछि सोका बारेमा बुझ्न आफै जिल्ला प्रहरी कार्यालय पुगेको बताए। पक्राउ परेका रावललाई जिल्ला प्रहरीमा राखेर अनुसन्धान थालिएको प्रहरी प्रमुख गिरीले बताए।
रावल अछाम क्षेत्र नम्बर २ को (२) निर्वाचन क्षेत्रबाट निर्वाचित नेकपाका प्रदेश सभा सदस्य हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक समेत हुन्। रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको र आफूलाई अनाहकमा फसाइएको दाबी गरेका छन्।