काठमाडों, फागनु २८ : नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य–काव्य) विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेललाई इनसाइक्लोपेडिया विकिपोइजियाका तर्फबाट उक्त संस्थाका प्रतिनिधि रोक्को लनटाले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएर क्रस गोल्ड इन्टरनेसनल पोइट्री अवार्ड प्रदान गरेको छ ।
विकिपोइजिया इनसाइक्लोपेडिया पोइजियाको गत जनवरी ३ का दिन इटालीमा सम्पन्न कंग्रेसले प्रा.डा. पौडेललाई मानार्थ अध्यक्षको सम्मान र उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य–काव्य विभागले नेपाली कविता–काव्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान र अवार्ड प्रदान गरिएको उक्त संस्थाका प्रतिनिधि लनटाले बताए । इनसाइक्लोपेडिया विकिपोइजियामा हालसम्म विश्वभरबाट दशलाखभन्दा बढी कविहरू सदस्यका रूपमा समेटिएका छन् ।
अवार्ड प्रदानका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य–काव्य विभागका प्रमुखलाई सम्मान गरेकोमा उक्त विकिपोइजिया इनसाइक्लोपेडिया पोइजियाप्रति धन्यवाद ज्ञापन गर्दैै यस कार्यले विश्वमा कविता–काव्यको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए । उक्त अवसरमा द्विपक्षीय सांस्कृतिक एवम् काव्यिक आदान प्रदान गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।