बनेपा, चैत ६ : कोभिड–१९ का कारण हरेक चैत ६ गते काभ्रेपलाञ्चोकको अनैकोटमा मनाइने सांस्कृतिक प्रतिरोध दिवस यस वर्ष अनौपचारिकरुपमा मात्रै मनाइएको छ ।
तत्कालीनरुपमा आन्दोलनलाई जनताको घरदैलोमा पु¥याउने क्रममा जनकलाकारले सांस्कृतिक कार्यक्रमका माध्यमबाट क्रान्तिको चेतना जगाउनका लागि लाग्नेक्रममा विसं २०५चैत ६ ५ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं १ अनैकोट (साविक अनैकोट गाविस)मा स्थानीयको एक घरमा आश्रय लिएर बसिरहेका अवस्थामा तत्कालीन राज्यपक्षका सुरक्षाकर्मीबाट घरमा घेरा हाली सात जनकलाकारको हत्या भएको थियो ।
सो क्रममा माओवादी सांस्कृतिककर्मी च्यांबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठको हत्या भएको थियो ।
कोरोना भाइरस सन्त्रासले ठूला कार्यक्रम गर्न नमिल्ने भएपछि नेकपा पार्टी कमिटी अनैकोट र जिल्लाका नेताको उपस्थितिमा सांस्कृतिक शहीदको शालिकमा टीका र माल्यार्पण गरी मनाएको हो । नेकपा काभ्रेपलाञ्चोकका अध्यक्ष रुक्कु चौलागाईले शहीदको अधुरो सपना पूरा गर्न पार्टीपंक्ति र आफू सधैँ दृढताका साथ लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
अब अनैकोटको शहीद भूमिको विकास र शहीद पार्कलाई पूर्णता दिनका लागि अनैकोट सांस्कृतिक प्रतिष्ठान गठन गर्ने कामलाई तीव्रता दिने काममा आफू छिट्टै लाग्ने उनले बताए ।
अहिले सो ठाउँमा सात जना शहीदको शालिक निर्माण गर्नुका साथै शहीद स्मृति मञ्च निर्माणको काम भइरहेको छ । त्यससँगै शहीद स्मृति पार्क निर्माण गर्न डिपिआर तयार गर्ने काम भइरहेको वडा नं २ का वडाध्यक्ष हरि खतिवडाले बताए ।
‘करिब तीनदेखि चार करोडको डिपिआर तयार हुँदैछ, करिब दुई हप्ताभित्रमा त्यो सम्पन्न हुने कुरा भइरहेको छ’, उनले भने, ‘त्यसका लागि करिब ७०÷८० रोपनी जग्गामा शहीद स्मृति पार्क निर्माण गर्ने तयारीमा छौँ ।’
विसं २०७० देखि नै सो ठाउँमा शहीद स्मृति पार्क निर्माण गर्ने कुरा उठाइरहेको भए पनि अझै त्यसलाई पूर्णता दिइएको छैन ।