नाटक महाेत्सव शनिबार ‘गर्भछिटा’ र ‘ताराबजी लैलै’ देखाएर सकिने
शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित

काठमाडौं, चैत २८ : क्वारेन्टाइन अभियान नाट्य महोत्सव नाम दिएकाे भर्चुअल नाटक महाेत्सव शनिबार कर्णालीको नाटक ‘गर्भछिटा’ र गुरुकुलको नाटक ‘ताराबजी लैलै’ देखाएर समाप्त हुने भएकाे छ । शुक्रबार ‘टु बी’ र ‘म्याड म्यान्स डायरी’, ‘भोको घर’ गरेर तीन नाटक देखाइएकाे छ ।

तीन नाटक मध्ये ‘टु बी’ डेनमार्कको नाटक हो । यसको लेखक तथा निर्देशक ज्याक्स सेफेरियन म्यथिसन रहेका छन् । सम्बादरहित यो नाटकमा मानवअधिकार र हाम्रो जीवनमा त्यसको अर्थ तथा महत्वको बिषयमा छ । नाटकमा निर्देशक एकल प्रस्तुत हुनेछन् ।

त्यस्तै, नाटक ‘म्याड म्यान्स डायरी’ चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित छ । चे शंकरको निर्देशनमा यो तयार छ । नाटकमा सुदाम सिकेको एकल अभिनय रहेको छ । नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले तीसको दशकमा लेखेको एकाङ्की नाटक ‘भोको घर’ मा केदार श्रेष्ठको निर्देशन रहेको छ ।

आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता पराजुली र अभय बरालको अभिनय यसमा देख्न सकिन्छ । नाटकमा एकै परिधिमा रुमल्लिरहने वा रुमल्लिरहन बाध्य भएका मध्यम वर्गीय सोँच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्या देखाउन खोजिएको छ ।

थिएटर मल कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिनदेखि सुरु गरेको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शनिबारबाट सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय