कोरोना जोखिम हुन नदिन अनुगमन
आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

विराटनगर, वैशाख ७ : कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवासँगको सहकार्य र  समन्वयमा शनिबार मस्जिदको अनुगमन गरिएको जानकारी दिए । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी, काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, वडा १५ का अध्यक्ष असलम आलमलगायत सहभागी थिए ।

मुस्लिम समुदायको अवस्था बुझ्‍न आग्रह गरिएअनुसार  अनुगमन गरिएको र  आपसी धार्मिक सद्‍भाव तथा एकतालाई अझ बलियो बनाउँदै  कोरोना भाइरसको जोखिमविरुद्ध लड्न आवश्यक रहेको प्रमुख  पराजुलीले बताए ।

यहाँस्थित वडा १५ मा रहेको रानीमरकज जामे मस्जिदमा अनुगमनको क्रममा बहिरबाट नयाँ आगन्तुक आएको नदेखिएको महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । अनुगमनमा सहभागी काङग्रेस केन्द्रीय सदस्य अन्सारीले मुस्लिम समाज कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा सचेत रहेको उल्लेख गरे ।

वडाध्यक्ष आलमले  अन्यत्रबाट कोही पाहुना आएका भए तत्काल प्रहरी अथवा स्थानीय निकायलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा कोरोना भाइरसको जोखिम हुन नदिन सचेत भएको र सहयोगी भूमिका खेलेको बताए । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर