काठमाडाैं, वैशाख ८ : सिर्जनशील बन्न चित्रकारमा एकाग्रता अत्यावश्यक मानिन्छ । त्यसरी नै एकाग्र भएर क्यानभासमा आफ्ना विचार र भावना पोख्नेका लागि लकडाउनले लामो समयको फुर्सद निकालिदिएको छ । पर्याप्त समय चाहिने सिर्जनशील व्यक्ति यतिवेला के गर्दै छन् ? उनीहरूले नयाँ पत्रिकासँग यसरी आफ्नो दैनिकी बताए :
पेन्टिङमा प्रकृतिको प्वाँख : रागिनी उपाध्याय ग्रेला
- लकडाउनको समयमा चित्रकार रागिनी उपाध्या ग्रेलाले तयार पारेको चित्र ।
पेन्टिङ आफैँमा साधना हो र अहिले पाएको एकाग्रताको सदुपयोग गरेकी छु । लकडाउनयता चारवटा पेन्टिङ बनाएँ । बाधा अडचनरहित शान्त समय भएकाले एकाग्रता अझै बढेको छ । त्यसैले रचनाका लागि दैनिक पाँच घन्टा समय दिइरहेकी छु । पहिलो पेन्टिङ आफैँ कोरोना बनेर बनाएकी थिएँ । मलाई लाग्छ, हामीले प्रकृतिलाई अत्यधिक दोहन गर्यौँ । लकडाउन लम्बिँदै जाँदा वातावरण पनि फरक देखिएको छ ।
त्यसैलाई मध्यनजर गरेर प्रकृतिको प्वाँख भनेर अर्को पेन्टिङ बनाएकी छु । मानव जातिलाई लकडाउन गरेर प्रकृति स्वच्छ भएकी सन्देश दिन्छ, त्यस पेन्टिङले । पाँच वर्षयता प्रकृतिसम्बन्धी नै काम गरिरहेकी छु । सामान्य दिनमा कामको प्रेसर बढी हुन्थ्यो । अहिले भने प्रेसर स्वतः घटेको छ । चराको चञ्चल आवाज सुनेपछि बल्ल मेरो वरिपरि पनि कति धेरै चराचुरुंगी रहेछन् भन्ने थाहा पाएँ ।
लकडाउन सिर्जनशील समय : कृष्ण मानन्धर
कोरोना कहर सकिएपछि प्रदर्शनीको विचारमा छु । केही पुराना काम पनि छन् । त्यसमै नयाँ थपेर प्रदर्शनी गर्ने तयारी थालेको छु । मेरो प्रदर्शनी कोरोनासँग सम्बन्धित हुनेछैन । मेरा आफ्नै सिरिज छन् । तिनलाई पूरा गर्ने विचारमा छु ।
जिन्दगीभर प्रकृतिमा आधारित चित्र बनाएँ । एब्स्ट्र्याक्ट चित्र पनि बनाइरहेको हुन्छु । कुनै ठाउँमा घुम्न गएँ भने त्यहाँको खेतीपाती, रहन–सहनलाई समातेर बढी पेन्टिङ बनाएको छु । हिमाल, बाटोघाटो, रूख सिरिजको पनि थुप्रै पेन्टिङ बनाएँ । हाम्रो काम ‘हार्ड एन्ड फास्ट’ हुँदैन । हतार नगरी बिस्तारै काम गरिरहेको छु । लकडाउन सिर्जनशील समय बनेको छ ।
लकडाउनपारि ‘कोरोना प्रदर्शनी’ : सुष्मा राजभण्डारी
घरमा खासै काम छैन, सबै समय चित्रलाई नै दिएकी छु । लकडाउन सुरु भएयता १२ वटा पेन्टिङ बनाएँ । त्यसैले लकडाउन मेरा लागि लाभदायक बनेको छ । अरूवेला व्यस्त रहनुपथ्र्यो । प्राज्ञ भएकाले कलाकारले प्रदर्शनी, उद्घाटनलगायत कार्यक्रममा बोलाइरहन्छन् । विभिन्न कार्यशालामा देशभर पुगिरहनुपर्छ । चित्र कोर्ने फुर्सद कमै मिल्थ्यो । त्यो सौभाग्य अहिले लकडाउनले दिलाइदिएको छ ।
स्वच्छ हावा र सुनसान वातावरणमा बसेर चित्र कोर्ने दुर्लभ अवसर जुरेको छ । पहिले गाडीको आवाजले दिक्क बनाउँथ्यो । अहिले चराचुरुंगीको आवाज नै मेरा लागि अलार्म बनेको छ । चित्रकलामा लागेको ३५ वर्षमा यस्तो मौका कहिल्यै आएको थिएन । गणेशमा शोध गरेकी हुनाले गणेशको चित्र नै बढी बनाउँछु । लकडाउनलाई चित्रित गर्दै मास्क लगाएका गणेश बनाइदिएँ । अहिले एब्स्ट्र्याक्ट पेन्टिङ गरिरहेकी छु । लकडाउन सकिएपछि ‘कोरोना प्रदर्शनी’ गर्नेछु ।
प्रदर्शनीको तयारीमा व्यस्त : पृथ्वी श्रेष्ठ (म्युजियम अफ नेपाली आर्टले )
- कोभिड–१९ को महामारीले मानव जीवन संकटमा परेको संकेत गर्ने चित्रकार पृथ्वी श्रेष्ठको सिर्जना ।
‘कोरोना विशेष सो’ आयोजना गर्दै छ । त्यसकै लागि काम गरिरहेको छु । काम गर्ने तरिका र उत्साह त एकै हो । विषयवस्तुमा भने फरकपना आएको छ । घरमा कोही पनि नआउने र आफू पनि कतै नगइने भएकाले कसैबाट पनि काममा बाधा छैन । शान्त वातावरणमा हतार नगरी काम गर्न पाएको छु । लकडाउन अवधिमा रफ पेन्टिङ गरिरहेको छु । म प्रायः रियालिस्टिक पेन्टिङ गर्छु ।
एउटा काम सकिन कम्तीमा दुई साता लाग्छ । ‘थ्योरिटिक’ काम गर्ने भएकाले मलाई अलि समय लाग्ने गर्छ । कोरोनाबाहेकको विषयवस्तुमा पनि काम गरिरहेको छु । तर, करिब एक महिनादेखि घरभित्रै भएकाले विषयवस्तुमा कोरोनाकै वर्चश्व हुने रहेछ ।
चित्र बनाउने मुड आएन : शंकरराज सुवाल
यस्तो वेलामा के काम गर्नेजस्तो भइरहेको छ । फुर्सद मिले पनि यस्तो वेलामा काम गर्न ‘फिलिङ्स’ नआउने रहेछ । तर, सिर्जना नगरी बस्न कहाँ सकिन्छ र ? लकडाउन सुरु भएयता दुईवटा चित्र बनाएँ । तर, अरू समयमा पेन्टिङ गर्दाजस्तो हृदयदेखि नै आउने फिलिङ्स अहिले छैन । अहिले बाहिरबाट देख्दा मात्र फुर्सदमा छु तर, मनैदेखि स्वतन्त्र महसुस गर्न सकेको छैन ।