विश्वस्तरीय बाल कविता प्रतियोगिता हुँदै
सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख ८ : शैली थिएटरले संस्थागत विद्यालय संघ, नेपाल (इसान)सँगको सहकार्यमा ‘विश्व बाल कविता महोत्सव–२०७७’ आयोजना गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम घटाउन सरकारले लकडाउन गरेपछि घरमै बसिरहेका बालबालिकालाई सिर्जनशील बनाउन कविता महोत्सव आयोजना गरिएको महोसव निर्देशक नवराज बुढाथोकीले जानकारी दिए ।

पहिलो चरणमा राष्ट्रिय स्तरको मात्रै प्रतियोगिताको सूचना सार्वजनिक गरेको शैलीले विश्वका अधिकांश देशमा लकडाउन भएकाले त्यहाँ रहेका नेपाली बालबालिकालाई समेत जोड्नका लागि यसको दायरा फराकिलो पारिएको बुढाथोकीले बताए । ‘कविता पठाउनका लागि अन्तिम अवधि बैशाख मसान्त थपिएको छ ।’ उनले भने, ‘नेपालमा एसइई तयारी गरिरहेका वा त्यसभन्दा तलको कक्षामा अध्ययनरत विद्यार्थी र विश्वका कुनै पनि देशमा रहेका नेपाली बालबालिकाले कविता पठाउन सक्नेछन् ।’

प्रतियोगितामा समावेश हुने कविताको भाषा भने नेपाली नै हुनुपर्ने संयोजक सरस्वती अधिकारीले बताइन् । ‘हामीले बालबालिकालाई आफ्नो भाषाको महत्व बुझाउने हुनाले भएर नेपाली भाषालाई जोड दिएका हौं ।’ उनले भनिन् ।

कविताको शीर्षक वा विषयवस्तु छनोटमा प्रतियोगीहरू स्वतन्त्र रहने भए पनि यसको भिडियोमा भने चार मिनेटको सीमा तोकिएको छ । कविता लिखित र प्रतियोगीले नै वाचन गरेको भिडियो बनाएर पठाउनु पर्ने उनले बताइन् ।

हरेक बर्ष राष्ट्रिय बाल नाटक महोत्सव गरिरहेको शैलीले यस बर्षदेखि कविता महोत्सव पनि सँगै लिएर जाने योजना बनाइरहेको सह–निर्देशक सुवास सुवेदीले बताए । उनका अनुसार राष्ट्रिय बाल नाटक महोत्सवको समयमा प्रतियोगितामा उत्कृष्ट २० कविताले वाचनको मौका पाउनेछन् भने उत्कृष्ट ५ कविता पुरस्कृत हुनेछन् ।

प्रतियोगितमा कविता पठाउन शैलीले इमेल ठेगाना shailee.theatre1@gmail.com र शैली थिएटरको फेसबुक पेजमा म्यासेज गरेर पनि जानकारी लिन सकिने संयोजक अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय