छन्द साहित्यप्रति युवा मोह
सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

काठमाडाैं, वैशाख ८ : कोभिड–१९ को त्रासका बीच सर्जकले घरघरमा नै सामाजिक सञ्जालको उपयोग गरी आज छन्द दिवस मनाइरहेका छन् । जारी लकडाउनका कारण दिवसका अवसरमा औपचारिक कार्यक्रम नभए पनि फेसबुक एवं विभिन्न सामाजिक सञ्जालमा यतिखेर छन्दका कविता राखिएको छ ।

‘हाम्रा वैदिक संहिता सकलमा मन्त्रादिमा छन्द छ
हाम्रा लोक कला गला बगलका यन्त्रादिमा छन्द छ ।
तारा, जून सूर्य झैंँ गगनको त्यो व्याप्तिमा छन्द छ
खोलामा जलमा विशाल थलमा हेर्यौंँ भने छन्द छ ।।’ (छन्दको सुगन्ध, वासुदेव पाण्डेय, कास्की)

पछिल्ला वर्षमा युवा पुस्तामा छन्दप्रतिको आकर्षण त बढेको छ नै यसको गरिमा र महत्वसँगै यसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको छ । छन्द दिवसकै शुभकामनाका क्रममा पाण्डेय छन्द कतै तीव्र त कतै सुषुप्त रहेको चर्चा गर्दै पृथ्वी माटासँग आश्रित भए जस्तै छन्दले साहित्यमा सुगन्ध ल्याउने बताउँछन

‘होला कतै तीव्र कतै सुषुप्त
हुन्थ्यो कहाँ छान्दिक तत्व लुप्त ।
जस्तो धराआश्रित हुन्छ कन्द
उस्तै दुई छन्द तथा सुगन्ध ।।’

साहित्यमा छन्दको आफ्नै महत्व रहेको बताउँदै पाण्डेयले यसले रचनालाई श्रुति माधुर्य बनाउने बताए । पछिल्ला वर्षमा छन्दप्रतिको युवा आकर्षण बढिरहेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा छन्दका रचना पर्याप्त पाउन थालिएको जिकिर गरे ।

छन्दप्रतिको आकर्षणसँगै राष्ट्रिय रुपमा नै छन्द दिवस मनाउन थालिनुले पनि यसको आवश्यकता र महत्व अझै बढाएको उनको भनाइ छ । राष्ट्रव्यापी आन्दोलनका रूपमा सञ्चालित छन्द बचाऔँ अभियान – २०५३ शुरु भएको दिन वैशाख ८ गतेलाई नेपाल सरकार, पञ्चाङ्ग निर्णायक समितिले २०६७ सालमा छन्द दिवसको मान्यता दिएको अभियानका सञ्चालक माधव वियोगीले जानकारी दिनुभयो । त्यसयता वर्षेनी वैशाख ८ गते छन्द दिवस मनाउँदै आएको छ ।

नेपाली साहित्यमा भानुभक्त आचार्य, बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, रमेश खकुरेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल छन्दकै बलमा स्थापित भए र भएका छन् । पछिल्ला वर्षमा युवा वर्गमा छन्दप्रतिको आकर्षण बढिरहेको छ र अभियान देशका कुनाकाप्चा हुँदै अन्तराष्ट्रिय तहसम्म पुगेको छ । अभियानअन्तर्गत रही वियोगीले आफ्नो निवासमा नै छन्द प्रशिक्षण केन्द्र बनाएर आठ हजारभन्दा बढी जनालाई प्रशिक्षण दिइसकेका छन ।

संस्कृत र लोकसाहित्यमा एक हजारभन्दा बढी छन्द रहे पनि नेपालमा करीब १५० छन्द प्रचलित छन् । आफूले ८० छन्दमा विभिन्न रचना तयार गरेको बताउँदै वियोगीले ‘धर्मराज’ महाकाव्यमा ५७ छन्द प्रयोग गरिएको जानकारी दिए । नेपालमा शार्दूलविक्रीडित, मन्दाक्रान्ता, अनुष्टुप्, स्रग्धरा, वसन्ततिलका, शिखरिणी, उपजाति, इन्द्रबज्रा, उपेन्द्रबज्रा, पञ्चचामर, झ्याउरे, त्रोटकलगायत छन्द छन् । वियोगीका अनुसार छन्द सूत्रका प्रणेता पिंगल ऋषिलाई मानिन्छ ।

काव्य रचनामा छन्दको आफ्नै विशिष्ट महत्व रहेको बताउने नेपाली विषयकी शिक्षिका कल्पना पौडेल पछिल्ला वर्षमा युवावर्गमा देखिएको छन्दमोहले यसको आवश्यकता र औचित्य अझै बढाएको धारणा राखे । “काव्य रचनामा छन्द गहना जस्तै हो, यसले रचनालाई सुनौंँ सुनाैं बनाउँछ”, उनले भने, “औपचारिक पुस्तकाकार कृतिका साथै युवा वर्गका फेसबुकका पर्खालहरू यतिखेर छन्दमय रचनाले भरिने गरेका छन् ।”

कविताको लय वा छाँट मिलाउने युक्ति छन्दको पुनर्जागरणमा रत्ननिधि रेग्मी शुक्राचार्य, देवी नेपाल, रामप्रसाद ज्ञवाली, मनोज भण्डारी, सुदेश सत्याल जस्ता युवा एवं प्राज्ञिक व्यक्ति समर्पित छन् ।

हे ! वैशाख यहाँ छरी मधुरता, सौन्दर्य खोल्छ्यौ तिमी,
यो बैँसे दिनमा जगाइ दुनियाँ, झल्केर बल्छ्यौ तिमी ।
मायाप्रीति नयाँ भरी सकलमा, मुस्कान छर्छ्यौ तिमी,
नेपाली दिलमा पसी सुगठिलो, सामथ्र्य दिन्छ्यौ तिमी ।। (अम्बिका घिमिरे, काठमाडौँ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय