काठमाडौं, वैशाख ९ : लकडाउनको समयमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा–२०२०’ को समापन गरिएको छ । किताब जात्रा फाउन्डेसनको आयोजना र चौधरी फाउन्डेसनको प्रस्तुतिमा सोमबारदेखि सञ्चालन भएको एक हप्ते फेस्टिभलको वैशाख ८ समापन गरिएको आयोजकको भनाई छ ।
किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले फेस्टिभल सन्तोषजनक भएको बताए । ‘संकटका साथी कला–साहित्यबारे छलफल गरौं, सुरक्षित रहौं र सिर्जनशिल बनौं भन्ने उद्देश्यसहित फेस्टिभलको आयोजना भएको थियो,’ अधिकारीले भने, ‘छोटो समय सञ्चालन भए पनि फेस्टिभल उत्साहजनक भयो । साथै हामीले नौलो अनुभवको पनि महसुस ग¥यौं, आगामी दिनहरुमा पनि हामीले यस्तै नयाँ कामको आयोजना गर्नेछौं ।’
वैशाख एक गतेबाट सुरु फेस्टिभलको पहिलो दिन दुई सत्रमा बहस गरिएको थियो । पहिलो सत्र ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरू युग पाठक, अमर न्यौपाने र मनिषा गौचनले छलफल गरेका थिए ।
पहिलो सत्र ‘आख्यानको अभिभारा’ शीर्षकको छलफलमा गर्दै आख्यानकार अमर न्यौपानेले हाम्रो जीवन नै आख्यान भएको उल्लेख गरेका थिए । मानिसलाई मिथक बढी नै आवश्यक हुने बताउँदै आख्यानकार युग पाठकले मिथकविना मानिस बाँच्न नसक्ने बताएका थिए । आख्यानकार मनिषा गौचनले विगतमा भोगेका घटना र अहिले भोगिरहेका घटनालाई आख्यानमार्फत रेकर्ड गरी भावी पुस्ताले त्यसको अध्ययन गर्न र महसुस पाउनु नै आख्यानको अभिभारा र देन भएको बताएकी थिइन् ।
त्यस्तै, दोस्रो सत्रमा रङ्गकर्मी अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले ‘भर्चुअल मिडियामा रङ्गमञ्च’ शीर्षकमा बहस गरेका थिए । कला अनुरागीले सहजीकरण गर्ने सत्र अपरान्ह चार बजे लाइभ भएको थियो।
आयोजकका अनुसार फेस्टिभलको दोस्रो दिन मंगलबार पनि ‘शब्दको सयर गर्ने सहयात्री’ र ‘गजल बहार’ शीर्षकका दुई सत्र आयोजना भएका थिए । त्यस्तै तेस्रो दिन बुधबार ‘केटाज कथार्सिस’ र ‘कोरोना विजनेस एण्ड सिएसआर’ शीर्षकमा छलफल गरिएको थियो ।
त्यस्तै चौथों दिन बिहीबार ‘सीमापारिको आवाज’ र ‘समुन्द्रपारिबाट देश लेख्दा’ शीर्षकमा कार्यक्रम लाइभ भएको थियो । पाचौं दिन शुक्रबार ‘बालसाहित्यको लोरी’ र ‘के छ खबर परदेशीको ?’ विषयमा छलफल गरिएको थियो । छैटौं दिन शनिबार तीन वटा सत्र ‘कोरोनाको सामाजिक र आर्थिक प्रभाव’,‘कोरोना,सहकारी र युवा’ र ‘छन्द लहर’ शीर्षकमा वक्ताहरुले आफ्नो राय प्रस्तुत गरेका थिए ।
त्यस्तै सातौं दिन ‘कोरोनाविरुद्ध फ्रन्टलाइनमा उभिँदा’ र ‘महिला आन्दोलनको पुस्तान्तरण’ शीर्षकमा छलफल भएको थियो । फेस्टिभलको अन्तिम दिन ‘कोरोना बिम्बमा काव्यिक दृष्टि’,‘पुष्पासंगमको सांगितिक प्रस्तुति र ‘लकडाउन लाइभ : अ सिनेम्याटिक भ्यू’ शीर्षकका तीन वटा सत्रको आयोजना गरिएको थियो ।
पहिलो सत्रमा भएको ‘कोरोना बिम्बमा काव्यिक दृष्टि’ शीर्षकमा उपेन्द्र सुब्बा, श्रवण मुकारुङ र मनु मञ्जिलले आ–आफ्नो राय प्रस्तुत गरेका थिए । त्यस्तै ‘लकडाउन लाइभ : अ सिनेम्याटिक भ्यू’ शीर्षकमा वक्ताहरु केकी अधिकारी, स्वस्तिमा खड्का, नाजिर हुसेन र दयाहाङ राईले एकआपसमा आफ्ना भनाईहरु राखेका थिए । जसमा सहजकर्ताको रुपमा नायिका रिमा विश्वकर्मा उपस्थित थिइन् ।
फेस्टिभलमा गरिएका हरेक छलफलहरू किताब जात्राको फेसबुक पेजबाट लाइभ गरिएको थियो । नागरिक दैनिक