इन्सेकद्वारा चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित

काठमाडाैं, वैशाख १६ : इन्सेक वाग्मती प्रदेश कार्यालय हेटौँडाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड-१९ को संक्रमण रोक्न सहयोग पुर्याउने उद्देश्यले आज नगरपालिकाको कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यालयमा इन्सेक वाग्मती प्रदेश संयोजक कृष्ण गौतम, इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले संयुक्त रुपमा चार थान थर्मल गन र ५०० सर्जिकल मास्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनालाई हस्तान्तरण गरे ।

कार्यक्रममा गौतमले इन्सेक प्रदेश कार्यालयले कियोस परियोजनाअन्तर्गत कोरोना भाइरसको संक्रमण रोकथामका लागि चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए । इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले संविधानले परिकल्पना गरेको अधिकारलाई स्थापित गराउँदै स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य, आवास अधिकार संरक्षणका लागि सहयोगात्मक भूमिका निर्वाह हँुदै जाने बताए ।

इन्सेकअन्तर्गत कियोस परियोजनाकी शुभेच्छा खड्काले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सात प्रदेशको परियोजना सञ्चालनमा रहेका पालिकाहरुमा आवश्यकता अनुसारको सामग्री प्रदान गरिने बताउँदै चाँगुनारायण नगरपालिकाबाट यसको शुरुआत भएको बताईन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले नगरपालिकामा १० वटा स्वास्थ्य केन्द्रमा थर्मल गन नहुँदा तापक्रम मापनमा समस्या परेको बताउँदै आज प्राप्त थर्मल गनबाट तत्कालै शरीरको तापक्रम नाप्न शुरु गरिने बताए ।

उनले नगरपालिकाका सबै स्वास्थ्य केन्द्रलाई तीन सेटका दरले सुरक्षा कवच (पिपिई), मास्क, पञ्जा, औषधिहरु आवश्यक मात्रामा वितरण गरे पनि बजारमा अभाव र अति महँगो रहेको थर्मल गन लिन नसकेको अवस्थामा इन्सेकले प्रदान गरेको थर्मल गनले सहयोग पुग्ने बताए ।

नगरपालिकाभित्र रहेको अन्य ६ वटा स्वास्थ्य केन्द्रलाई पनि नगरपालिकाले थर्मल गन खरीद गरी पठाउने तयारी गरेको जानकारी दिँदै उनले प्रत्येक स्वास्थ्य केन्द्रमा असारसम्मका लागि पुग्ने औषधि लगायतका स्वास्थ्य सामग्री पठाइएको बताए ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय