काठमाडौं, वैशाख १९ : रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुक्रबार विहान ८४ बर्ष उमेरमा काठमाडौँमा निधन भएको छ ।
उनले वि.सं २००६ सालमा विराटनर जुट मिलमा मजदुर आन्दोलनकालागि स्थापना भएको नेपालको पहिलो प्रजातान्त्रिक रेडियोमा ‘आज देशको क्रान्ति भूमीमा यही एउटा नारा छ, लडदा लडदै यही मरौंला देशको आज यही पुकारा छ ’ भन्ने पहिलो गीत गाएकी थिइन ।
उनको जन्म २७ नोभेम्बर सन् १९३६ वीरगञ्जमा भएको थियो । सानैदेखि गीत संगीतमा रुचि राख्ने र सुरिलो स्वरकी धनी रानुदेवीलाई पहिलो पटक तारणीप्रसाद कोइरालाले जुट मिलमा स्थापना गरेको प्रजातान्त्रिक रेडियोमा गीत गाउन लगाएका थिए ।
त्यही समयमा रानुदेवीले कलकत्ता पुगेर आफ्ना आधा दर्जन गीत रेकर्ड गराएकी थिइन् । जसमध्ये ‘जुनेली रात हजुर गम्किन्छ बास हजुर फागुनको सितल बतास’ बोलको गीत चर्चित भएको थियो । उनका एक छोरा र दुई छोरी छन् ।