काठमाडौं, वैशाख २१ : कोभिड–१९ को कहर नहुन्थ्यो त फाइन प्रिन्टका सञ्चालक अजित बराल नयाँ पुस्तक प्रकाशनको चटारोमा हुन्थे यतिवेला । डा. भगवान कोइरालाको आत्मकथा, विजय पाण्डेको नयाँ किताब, मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को नेपाली अनुवाद, राजीव उपाध्यायको राजनीतिक अर्थशास्त्रमाथिको अंग्रेजी पुस्तक र उदीयमान लेखक सुरेश बडालको कथासंग्रह फाइन प्रिन्टबाट प्रकाशोन्मुख छन् । तीमध्ये अधिकांश प्रेसमा पठाउने अवस्थामा थिए ।
कार्यालय बन्द रहेका कारण नयाँ पुस्तक प्रकाशन, बिक्री र प्रवद्र्धन ठप्प छन् । घरमै बसेर गर्न सकिने सम्पादन र पाण्डुलिपि अध्ययन पनि सुस्त रहेको बराल बताउँछन् । ‘लकडाउन लम्बिँदै गएमा अरू उद्योग, व्यापारजस्तै प्रकाशन गृहहरूमा पनि ठूलो क्षति पुग्छ,’ उनी भन्छन् ।
फाइन प्रिन्ट आयोजक रहने नेपाल लिट्रेचर फेस्टिभलको तयारीका कारण असोजदेखि पुससम्म प्रकाशनका काम गर्न समय हुँदैन । त्यसैले, नेपाली नयाँ वर्षको सुरु र अन्तिमको समयलाई प्रकाशनको काममा उपयोग गर्ने गरिन्छ ।
त्यहीवेला कोभिड–१९ को महामारीका कारण नेपाली प्रकाशन गृहहरू मारमा परेको बराल बताउँछन् । फाइन प्रिन्टले गत वर्ष विभिन्न विधाका आठवटा पुस्तक प्रकाशन गरेको थियो । तीमध्ये जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’को विमोचन र बजारमा पु-याउन लकडाउनका कारण अवरोध सिर्जना भयो ।
कोभिड–१९ को महामारीले ई–बुकको अपरिहार्यता महसुस गराएको बराल बताउँछन् । भन्छन्, ‘तर, तत्काल ई–बुकमा गइहाल्ने गरी हामीसँग पूर्वाधार छैन । अब भविष्यमा ई–बुकमा काम नगरी धरै छैन।’
यस्तै, बुकहिल पब्लिकेसन्स पनि चैत÷वैशाखको सिजनलाई लक्षित गरी केही पुस्तक बजारमा ल्याउने तयारीमा थियो । सञ्चालक भूपेन्द्र खड्काका अनुसार कुमार नगरकोटीको कथासंग्रह ‘कल्प–ग्रन्थ’ प्रेसमा थियो । मल्ल के सुन्दरको उपन्यास ‘विमुक्ति’ प्रकाशनको तयारीमा थियो ।
यस्तै, नारायण ढकालको कथासंग्रह ‘तमस’ बजारमा पठाउन बाँकी थियो । यसैगरी, तीर्थबहादुर श्रेष्ठको पुस्तक ‘नेपाल नखुलेका पाटाहरू’को विशेष मुद्रण बजारीकरण गर्न बाँकी थियो । कवि गिरि श्रीस मगरको कवितासंग्रह ‘एकलव्यको देब्रे हात’, वासु शशीको कवितासंग्रह ‘पर्खाल लगाएपछि धेरै कुरा बाहिर पर्छ’ र खगेन्द्र संग्रौलाको ‘जीवन सन्नाटाको एउटा स्वर’ प्रकाशनका क्रममा थिए ।
लकडाउनको फुर्सदिलो समयमा खड्का पाण्डुलिपि अध्ययनमा छन् । यसबीचमा उनले उपन्यास, कथा, गैरआख्यान गरी आठवटा पाण्डुलिपि पढिसके । आफूले ई–बुक र अडियो–बुकका लागि काम गरिरहेको र निकट भविष्यमा नयाँ प्रविधिमा किताब पढ्ने बानीको विकास हुने अपेक्षा रहेको उनी बताउँछन् ।
यस्तै, सांग्रिला बुक्स बालसाहित्यका १४, गैरआख्यान चार, आख्यान तीन र कविताका दुईवटा पुस्तक प्रकाशनमा ल्याउने तयारीमा थियो । तीमध्ये बाल साहित्यका ११ वटा पुस्तक छापिसकिएको थियो । गैरआख्यानका दुई र दुईवटा उपन्यास पनि प्रेसमा पुगेका थिए । कोभिड–१९ को महामारी समाप्त नभएसम्म ती पुस्तक बजारमा पु¥याउने अवस्था नरहेको सांग्रिला बुक्स सिइओ मणि शर्मा बताउँछन् । तत्काल पाठकसम्म पुग्न वैकल्पिक उपाय नरहेको उनको भनाइ छ ।
यस्तै, फिनिक्स बुक्सले गत चैत तेस्रो साता एउटा कथासंग्रह बजारमा ल्याउने तयारी गरिरहेको थियो । लकडाउन खुलेर सबै पाटो व्यवस्थित भएपछि मात्र नयाँ पुस्तक बजारमा ल्याइने फिनिक्स बुक्सका अध्यक्ष गणेश सुवेदी बताउँछन् । उनी पनि अहिले उपलब्ध पाण्डुलिपिहरू पढ्ने, सामाजिक सञ्जालमार्फत प्रकाशित कृतिका बारेमा पाठकलाई जानकारी गराउने र संस्थाको लेखासम्बन्धी काम गरिरहेका छन्।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेल पनि पाण्डुलिपि अध्ययन, सम्पादन र केही डिजाइनका काममा लागिपरेका छन् अहिले । उक्त प्रकाशन गृहले नियात्रा, संस्मरण, उपन्यास र कवितासंग्रह प्रकाशको तयारी गरिरहेको थियो । ‘अब लकडाउन खुलेपछि ती सबै धमाधम प्रकाशित गर्नेछौँ,’ पौडेल भन्छन् ।
मञ्जरी बुक्सले पनि राहुल सांकृृत्यायनको ‘बौद्घ दर्शन’को नेपाली अनुवाद, दीपक सुवेदीको ‘सजिलो नेपाली वर्णविन्यास’ र गणेशप्रसाद लाठको व्यंग्य उपन्यास ‘अघटित’ बजारमा पठाउन पाएन । ‘पसल र गोदाममा भएका पुस्तक मुसाले नष्ट गरिदिने जोखिम छ,’ सञ्चालक कृष्ण अविरल भन्छन् । नयाँपत्रिका