लकडाउनमा भर्चुअल महफिल
सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख २२ : काठमाडौं कालिकास्थानस्थित सर्वनाम थिएटरमा दुई–दुई महिनामा महफिल जम्थ्यो । दुई घन्टाका हरेक शृंखलामा नयाँ गजलकारहरूको प्रस्तुति हुन्थ्यो । टिकटमा चल्ने सोमा गजलप्रेमीको भिड रहन्थ्यो । पछिल्लो समय एउटा साहित्यिक कृतिसहित त्यसका लेखकलाई निम्त्याएर छोटो परिचर्चा गर्ने चलन थियो, जसले महफिलले गजलसहित साहित्यिक माहोल पनि दिएको थियो ।

महफिलको ८ चैतको शृंखलाको तयारी चलिरहेको थियो । कोभिड–१९ को महामारी विश्वव्यापी बन्दै गर्दा नेपालमा पनि बिरामी देखिन थाले । र, सरकारले २५ जनाभन्दा बढीको भिड नगर्न निर्देशन जारी ग-यो । अनि महफिल स्थगित भयो । निम्त्याइसकेका पाहुना र भइसकेको तयारी रोक्नु पर्दा महफिलका मुख्य सञ्चालक बाबु त्रिपाठी तनावमा थिए । चार वर्ष निरन्तर उनलाई साथ दिएका रंगकर्मी राज शाहसँग के गर्ने भनेर सल्लाह गरे ।

त्यसपछि महफिललाई भर्चुअल अवधारणा अगाडि बढाउने योजना तयार भयो । र, वैशाख दोस्रो सातादेखि तीन–तीन दिनमा डिजिटल फिल्म पत्रिका ‘सेतोपर्दा’मार्फत लाइभ प्रस्तुति सुरु भयो । ‘महफिलमा गजलप्रेमीको उत्साहलाई बचाइराख्न जुम एपमार्फत गजलवाचन सुरु ग-यौँ,’ त्रिपाठी भन्छन् ।

नौलो प्रयोग भएकाले सुरुका दिनमा गजल वाचकहरू जुम एपमा अभ्यस्थ थिएनन् । तर, बिस्तारै उनीहरू बानी पर्दै गएका छन् । दूरदराजमा रहेका कतिपय गजलकार भने समेटिन सकेका छैनन् । कारण, ग्रामीण इलाकामा इन्टरनेट राम्रो पहुँच छैन । तर, समस्याका बीचमै पनि महफिल चलिरहेको छ ।

सबैलाई प्राविधिक रूपमा अभ्यस्थ गराउँदै लगिएको रंगकर्मी शाह बताउँछन् । कोभिड–१९ को त्रासको समयमा गजलप्रेमीहरूलाई मनोरञ्जन दिने प्रयास सफल हुँदै गएकामा त्रिपाठी दंग छन् । गजलवाचन र गायनसहित एक घन्टाको लाइभ प्रस्तुतिमा विदेशमा बस्ने नेपाली गजलकारलाई पनि समेट्ने प्रयास भइरहेको छ ।

महफिलको तेस्रो शृंखलामा समेटिएकी संजिता देउजा बेलायतमा बस्छिन् । उनको परिवारका चारैजनामा कोभिड–१९ पोजिटिभ देखिएको थियो । पेसाले नर्स उनको कोरोना कहरको अनुभवसहितको उक्त शृंखला गजलप्रेमीमाझ चर्चामा रह्यो ।

हालसम्म महफिलमा गैरे सुरेश, विपिन सलामी, आशा साकी, शीतल कादम्बिनी, करुण थापा, सुशीला पौडेल, विष्णु भट्ट र खगेन्द्र अटलले गायन, वाचन गरिसकेका छन् । लकडाउनभरि भर्चुअल महफिललाई निरन्तरता दिने त्रिपाठीको योजना छ । नयाँपत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय