कोरोना अपडेटः प्रदेश नम्बर १ बढी प्रभावित, कर्णाली प्रदेशमा संक्रमण शून्य
सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख २२ : नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् । कूल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा संक्रमण दखिएको प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यसैगरी प्रदेश नम्बर ५ मा १७ र प्रदेश नम्बर २ मा १३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको उनले बताए । संक्रमित ७५ मध्ये ५८ पुरुष र १६ जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए । अहिले १ सय ६ जना शंकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा १ र उपत्यका बाहिर १ सय ५ जना उपचाररत रहेका छन् । देशभरी २१ हजार ५ सय २३ क्वारेन्टाइनमा रहेका छन् । आजसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जना नमुना परीक्षण भएको छ ।

आरडिटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ५ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ३६ र बागमती प्रदेशमा ८ हजार ६ सय १० जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ३१, कर्णाली प्रदेशमा ८ हजार १ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटी परीक्षण भएको प्रवक्त देवकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय