राहत सङ्कलनार्थ ‘फुड बैंक’ सञ्चालन
बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

काभ्रेपलाञ्चोक, वैशाख २४ : विपन्न परिवारलाई राहत वितरण गर्न काभ्रेपलाञ्चोकको स्थानीय तहले ‘फुड बैंक’ सञ्चालनमा ल्याएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सरकारद्वारा क्रमशः थपिएको लकडाउनका कारण खाद्य जोखिम न्यूनीकरण गर्न फुड बैंक स्थापना गरिएको जनाइएको छ । राहत सङ्कलन तथा वितरणमा एकद्वार प्रणाली लागू गराउन यहाँका दुई नगरले फुड बैंकको अवधारणा ल्याएका हुन् ।

नमोबुद्ध नगरपालिकाले हालैमात्र फुड बैंक स्थापना गरी आफ्ना क्षेत्रका विपन्न परिवारलाई राहत वितरण गरिरहेको छ । पहिलो चरणमा विपन्न परिवार पहिचान गरी सोही आधारमा राहत वितरण भइरहको नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले बताए ।

‘असङ्ठित क्षेत्रका मजदुरलाई विशेष प्राथमिकता दिँदै राहत वितरण गर्दैछौँ’, तिमल्सिनाले भने । उनका अनुसार नगरका ५८० विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण भइरहेको छ । नगरले प्रतिपरिवार एक बोरा चामल, दुई केजी दाल, दुई लिटर तेल र दुई केजी नुन वितरण गरेको हो ।

नगरद्वारा सञ्चालित फुड बैंकमा राहत आउने क्रम जारी भएकाले थप विपन्न परिवार पहिचान तथा दोस्रो चरणको राहत वितरबारे नगर कार्यपालिका बैैठकमा छलफल भइरहेको वडाध्यक्ष तथा नगर प्रवक्ता सञ्जीव ढकालले बताए । उनका अनुसार अन्य संस्था एवं दाताबाट राहत लिएकालाई हाल नगरको राहत वितरण गरिएको छैन । फुड बैंकमा हालसम्म १९ हजार किलो चामल, एक हजार २०० किलो दाल, एक हजार ३०० लिटर तेल र एक हजार ५०० किलो नुन सङ्कलन भएको छ ।

ढकालले भने, ‘फुड बैंकमा राहत आउने क्रम जारी छ ।’ यस्तै पनौती नगरले एक महिनाअघि नै फुड बैंक सञ्चालनमा ल्याएको थियो । नगरका अतिविपन्न परिवारलाई पहिलो चरणको राहत प्याकेज वितरण गरिएको थियो । नगरले वडामार्फत छनोट भएका १३० अतिविपन्न परिवारलाई एक हप्ताका लागि खाद्यान्नसहित फुड बैंकमा उपलब्ध स्वास्थ्य सामग्रीको प्याकेज वितरण गरिएको नगरप्रमुख भीम न्यौपानले बताए ।

उनले भने, ‘राहत सङ्कलन तथा वितरणमा एकद्वार प्रणाली लागू गराउन हामीले जिल्लामा पहिलोपटक फुड बैंक स्थापना गर्‍यौँ ।’ न्यौपानेका अनुसार दोस्रो चरणमा सडक, सिँचाइ, खानेपानीजस्ता निर्माणका क्षेत्रमा खटेका मजदुर तथा अन्यत्रबाट आएका विपन्न ४७० परिवारलाई पहिलो प्याकेज हुँदै हालसम्म तेस्रो चरणको राहत वितरण भइरहेको छ । नपाले ‘फुड बैंक’ स्थापना गरी दाता तथा नगरको रु २० लाखबाट स्वास्थ्य सामग्रीसहित चरणबद्ध राहत वितरण गर्दै आएको हो ।

नगरको राहत प्याकेजअन्तर्गत चार जनासम्मको परिवारलाई १० किलो चामल र त्योभन्दा बढी भएमा २५ किलो, दाल, आलु, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, बिस्कुट, साबुन, चिनी, चियापत्ती, चिउरा, दालमोठलगायत १७ प्रकारका छन् ।

‘सबैलाई एकैपटक राहत उपलब्ध दिन नसक्ने भएकाले चरणबद्ध योजना बनाएका हौँ, लकडाउन अझै लम्बिए सोहीअनुसार राहतको व्यवस्था गरी दोस्रो प्याकेजमा राहत वितरण गर्नेबारे छलफल भइरहेको छ’, न्यौपानेले भने । फुड बैंकमा हालसम्म १०० भन्दा बढी सङ्घसंस्थाले राहत सहयोग गरिसकेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय