काठमाडौं, वैशाख २८ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न डेढ महिनादेखि जारी बन्दाबन्दीका बेला मासिकरूपमा गरिने कवि गोष्ठीसमेत भिडियो सम्मेलनमार्फत हुन थालेको छ ।
अभिनव साहित्य समाजले प्रत्येक महिनाको अन्तिम शनिवार गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित बाहुनधारामा मासिकरूपमा साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको थियो ।
गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण भिडियो सम्मेलनमार्फत मासिक साहित्यिक शृङ्खला गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए।
विसं २०५७ फागुन ५ गते शनिवारदेखि शुरु भएको मासिक साहित्यिक शृङ्खलाको शनिवार २१९औँ महिनाको कार्यक्रम थियो । कोरोनाबाट बच्न हलमा जम्मा भएर कविता वाचन गर्न नसकिने भएकाले भिडियो सम्मेलनबाट कार्यक्रम सम्पन्न गरिएको उनले बताए। सामाजिक सञ्जालमा ‘घुम्ती कवि गोष्ठी अभिनव’ नामक समूह बनाएर त्यसमार्फत भिडियो सम्मेलन गरिएको हो ।
साहित्यकार पारिजातको १७औँ स्मृति दिवस एवं ८४औँ जन्मजयन्तीको अवसर पारेर वैशाख महिनाको साहित्य शृङ्खला आयोजना गरिएको थियो । कार्यक्रममा ३५ कवि एवं कवयित्रीले रचना पाठ गरेका थिए। बमबहादुर थापा ‘जिताली’, भाग्यशाली अधिकारी, पिताम्बरा काफ्ले, ओम खनाल, परशुराम पराशर, घनश्याम प्रसाइँ, मानन्धर अभागी, प्रदीपरत्न शाक्यलगायतले भिडियो सम्मेलनमार्फत कविता वाचन गरे ।
विगत वर्षमा पारिजात स्मृति दिवसका अवसरमा वैशाख महिनाको अन्तिम शनिवार आयोजना गरिने मासिक शृङ्खलाका अवसरमा पारिजात स्मृति पुरस्कार वितरण गर्ने गरेकामा यस वर्ष बन्दाबन्दीका कारण स्थगन गरिएको समाजले जनाएको छ । यस वर्षको पुरस्कारसमेत अर्को वर्ष प्रदान गरिने जनाइएको छ । पुरस्कार समाजले नै स्थापना गरेको हो ।