स्रष्टा समाजको ‘बुद्धभूमिका संवेदनाहरू’
शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ १० : पछिल्लो समय नेपाल स्रष्टा समाजले अनलाइन रचना वाचन कार्यक्रमलाई तीव्रता दिएको छ । बन्दाबन्दीले हरेक व्यक्ति कोठाकोठामा रहनुपर्ने परिस्थितिमा पनि साहित्यकारबीच रचना वाचन गराएर तिनलाई भर्चुअल सम्बन्धको डोरीमा बाध्ने काम संस्थाले गरेको छ ।

समाजले बिहीबार साँझ प्रदेश ५ को रूपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, नवलपरासी र अर्घाखाँचीका स्रष्टाहरूलाई एउटै थलोमा भेला गर्दै ‘बुद्धभूमिका संवेदनाहरू’ सम्पन्न गर्‍यो । कार्यक्रममा पाल्पा, भैरहवा, बुटवल क्षेत्रका कविहरू उपस्थित थिए ।

समाजका अध्यक्ष एवं कार्यक्रम संयोजक विधान आचार्यले आफ्नो कविता वाचन गर्दै प्रारम्भ गरेको कार्यक्रममा कविहरू गंगा लिगल, कृष्ण बस्याल, वनमाली निराकार, हरिप्रसाद भण्डारी, रुद्र ज्ञवाली, रमेश समर्थनले आ–आफ्नो कविता वाचन गरे । ति कवितामा लुम्विनीदेखि लिम्पियाधुरासम्मका भावना पोखिएको थियो ।

त्यस्तै कविहरू मन गहिरे, विजय सागर, सीता काफ्ले, कविराज पौडेल, हिरण्यलाल ज्ञवालीले विभिन्न भाव र छन्दका कविता सुनाए ।
वाचनको अन्त्यमा आए चर्चित गजलकार बुँद राना । सुरुमै उनले एउटा शेर सुनाए :

जडाउरीले जाडो कहाँ जान्छ साथी
हुँदै हुन्न न्यानो त, आफै नताती ।

यति शेर सुनाएपछि उनी आफ्नो मूल गजलमा प्रवेश गरे :
नकल्पेको नसोचेको, कहाँको आपदा आयो
छ अहिले कालले भन्दै, मलाई क्या मजा आयो ।

आफ्नो चीरपरिचित शैलीको गायकीमा बुँदले गजल वाचन गरे पछि साहित्यकार कपिल लामिछानेले आफ्नो एउटा कविता वाचनसँगै कविहरूले वाचन गरेका कवितामाथि छोटो टिप्पणी गरे । उनले ‘बुद्धभूमिका संवेदनाहरू’मा प्रस्तुत कवितामा युगको ढुकढुकी समेटिएको बताए । कार्यक्रम उप्रान्तको बाँकी समयमा छन्द कविता र गजल रचनाका विषयमा चर्चा परिचर्चा भएको थियो । १२खरीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय