बर्दिया राष्ट्रिय निकुञ्ज खुल्यो, स्वास्थ्य मापदण्ड अपनाउन पर्ने
शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित

दुर्गा आचार्य

१ कार्तिक, बर्दिया । बिश्व व्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरसका कारण पर्यटकीय गतिविधी वन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ ।

जैविक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज हिन्दुहरुको महान पर्व विजया दशमीलाई मध्यनजर गर्दै शनिवार देखि खुल्ला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी गराएको छ ।

कोरोना भाईरस (कोभिड–१९) का कारण स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि चैत्र ७ गते देखि निकुञ्ज बन्द गरिएको थियो ।

नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना हुने गरि निकुञ्ज खुला गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वर प्रसाद निरौलाले बताए ।

निकुञ्ज प्रवेश गर्दा अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग, भौतिक दुरी लागाएतका स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई निकुञ्जमा प्रवेश निषेध गरिएको उनले बताए ।

जंगल सफारी तथा वाक गर्न जाँदा अनिवार्य रुपमा नेचर गाईड हुनुपर्ने, जंगल सफारीका लागि गाडीको क्षमताको ६० प्रतिशत मात्रै पर्यटक राख्न पाईने व्यवस्था निकुञजले गरेको छ ।

जंगल वाकको हकमा गाईडसमेत गरि एकपटकमा ४ जना मात्रै प्रवेश गर्न पाईने निकुञ्जले जानकारी गराएको छ । निकुञ्जले तोकेको रुटमा मात्रै जंगल ड्राईभ र वाक गर्न पाईने र निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका लागि पर्यटकीय गतिविधी संचालन आचार संहिता २०७६ को अनिवार्य रुपमा पालना गर्नुपर्ने सहायक संरक्षण अधिकृत निरौलाले जानकारी गराए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको २०२९ र नियमावली २०३० तथा बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली २०५३ को पालना नगरी निकुञ्ज प्रवेश गर्न नपाईने निकुञ्ज प्रशासनले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर