माडी उपत्यका बिकासका अवसर र चुनौति
शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित

टीकाराम पौडेल

केहि समय यता चितवनको माडी बिशेष चर्चामा रहेको छ । खासगरीकन बिश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा गरिने बिकास निर्माण कार्यलाई वन्यजन्तु एवं वातावरणमैत्री बनाउने र माडी उपत्यकालाइ बिकासको मुल प्रबाहमा जोड्ने बिषय जोडतोडका साथ उठ्ने गरेको छ ।

बाटोघाटोको सरल पहुँच, वन अतिक्रमण, भूमिहिन तथा सुकुम्बासी समस्या, मानव वन्यजन्तु द्वन्द लगायतका समस्याबाट बाट घेरिएको माढी उपत्यकाका बिषयमा आफ्नो अनुभव र बिचारलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । आजको लेखमा माडीबासी जनसमुदायको पहिलो प्राथमिकतामा रहेको सडक संजालको पहुँचमा केन्द्रित रहनेछ ।

माडी उपत्यका

चितवन जिल्लाको दक्षिण पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज भन्दा दक्षिण र सोमेश्वर पहाड (चुरे पहाडको एक खण्ड ठोरीको दक्षिणबाट उत्पत्ती भएर पश्चिम तर्फ माडीको दक्षिण र सो को पश्चिममा निकुञ्जको दक्षिणी सिमाना हुदै दाउन्ने तर्फ गएको देखिन्छ भने अर्को भाग निरन्तर दक्षिण हुदै त्रिवेणीमा गएर टुङ्गिन्छ) भन्दा उत्तरमा पूर्व पश्चिम फैलिएर रहेको यो सानो दुन उपत्यका माडी भ्याली हो ।

पश्चिम र बीचमा फराकिलो भएता पनि पूर्व अयोध्यापुरीमा यो भ्याली सांगुरो रहेको छ । यो उपत्यकाको पूर्व पश्चिम लम्बाई करिब २० कि.मि र उत्तर दक्षिण चौडाई बढिमा करिब ३ कि.मि. रहेको छ । उत्तर तर्फ निकुञ्ज र दक्षिण तर्फ पनि सोमेश्वर पहाडको मध्यवर्ती वन एवं मध्यवर्ती सामुदायिक वनहरु रहेको र पूर्व पश्चिममा पनि जंगल नै पर्ने भएकोले माडी भ्याली प्रदुषण रहित ग्रिन भ्यालीको रुपमा रहेको छ चितवनको दुर्गम क्षेत्रका रुपमा मानिने यो भ्याली सदर मुकाम भरतपुरबाट ३३ कि.मि. दुरीमा रहेको छ ।

माडीको बिकासका लागि सडक संजालको सहज पहुँच पहिलो प्राथमिकता

जिल्ला सदरमुकाम सम्म जोडिने हुलाकी राजमार्ग भनिएको भरतपुर-माडी-ठोरी सडक खण्डको भरतपुर देखि जगतपुरसम्म पिच सडक भएको छ भने माडीमा गरिएको पिच सडक पुरानो भई पुनः जिर्णोध्दार गर्ने तयारी भई रहेको छ । माडीमा रहेका मगुई बांदरमुडे, परुई, घांघर, बगाई जस्ता मुख्य खोलाहरुमा पुल निर्माणको कार्य भईरहेको छ । पुल निर्माणको कार्य सम्पन्न भए पछि बाह्रै महिना २४ सै घण्टा गाडी चल्न सक्ने अवस्थामा पुग्दछ । माडीमा पीचको कार्य भए पछि चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने (हालको ९ कि.मि.) बाटो मात्र ग्राभेल सडक बांकी रहन्छ । हुन त कसरादेखि ध्रुव सम्मको ४ कि.मि.बाटो चितवन राष्ट्रिय निकुञ्जको नियमावलीमा सुविधा प्राप्त बाटोमा हालसम्म पनि समाबेश छैन । कसरामा मात्र पुल रहेकोले नियमावली संशोधन विना नै उक्त बाटो माडी बासीलाई प्रयोग गर्न दिईएको छ । हाल पनि सुबिधा प्राप्त बाटो ध्रुव—बनकट्टा नै हो । कसरामा पक्की पुल नबन्दासम्म ध्रुबबाटै डुङ्गाबाट आवत जावत गर्ने गरिन्थ्यो । पुल ध्रुबबाट बन्नु पर्नेमा निकुञ्जको असहमतिका बाबजूद कम लागत लाग्ने भन्दै कसरामा बनेकोले माडी बासीहरु ४ कि.मि.बाटो थप निकुञ्ज भित्र हिड्न बाध्य छन । यसबाट मानब वन्यजन्तु द्वन्द र वन्यजन्तुको वासस्थानमा समेत नकारात्मक असर परिरहेको छ । सुबिधाप्राप्त बाटोमा समाबेश नभएता पनि सुबिधाप्राप्त बाटोको रुपमा प्रयोग गर्न पाउनु माडी बासीको लागि एउटा थप सुबिधा हो । चितवन राष्ट्रिय निकुञ्ज नियमावलीमा सुबिधाप्राप्त बाटोमा सुर्योदय देखि सुर्यास्तसम्म मात्र हिंडडुल गर्न पाईने प्राबधान भएता पनि व्यवहारिकतामा माडी बासीको लागि विहान ५.०० बजेदेखि बेलुका १०.०० बजेसम्म आवतजावत गर्ने सुबिधा दिईएको छ भने अति जरुरी काम र विरामी पर्दा एम्बुलेन्स सेवालाई २४ सै घण्टा खुला गरिएको छ । यि बिषहरु माडी बासीहरुको आवश्यकताको गाम्भिर्यतालाई मध्यनजर गरी सहमतिको आधारमा संचालन व्यबस्थापन भएका छन । माडीबासीको माग २४ सै घण्टा निर्बिबाद रुपमा सार्बजनिक सवारी साधन चलाउन पाउनु पर्ने भन्ने छ । यसको आवश्यकता कति हो ? यो अध्ययनको बिषय हो । २४ सै घण्टा निकुञ्ज भित्र सवारी साधन चलाउंदा वन्यजन्तुको वासस्थान खण्डीकरण हुन गई वन्यजन्तुहरु आफ्नै घरभित्र पनि आवत जावत गर्न बन्देज हुने अवस्था आउछ । यसको प्रत्यक्ष असर अध्ययन गर्न टाढा जानु पर्दैन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीको सिमान पूर्व पश्चिम राजमार्गको टिकौली खण्ड अध्ययन गरेमा यसले सबै वास्तविकता.छर्लङ्ग देखाउंछ । यो क्षेत्र नेपालमा चुरे पहाडदेखि महांभारत पहाडसम्म वन्यजन्तु ओहोर दोहोर गर्ने प्रमुख कोरिडोर ( जैविक बाटो) मानिएको छ ।

माडी लगायत समग्र चितवनको बिकाससंग सरोकार रहेको सडक सञ्जाल बिस्तार र बिकासमा गम्भिरतापूर्वक ध्यान दिन जरुरी छ । गहिरो अध्ययन र सरोकारवालाहरुको समन्वय र सहकार्य बिना गरिने सडक निर्माणका कारण चितवनबासिले बिकास भन्दा बिनासको कहर ब्यहोर्ने दिन नआवस भन्ने तर्फ पनि त्यतिकै ध्यान दिन जरुरी छ । सरसर्ति हर्दा माडीलाइ जोडेर समग्र चितवनको सडक संजालमा समेत तत्कालिन र दिर्घकालिन असर पुर्याउन सक्ने गरी थालनि गरिएका सडक निर्माण कार्यको वर्तमान अवस्थालाइ निम्न दृष्टिकोणबाट हेर्न सकिन्छ ।

पूर्व पश्चिम हुलाकी मार्गको यस खण्ड निर्माणमा ढिलाईः-

पहिला नेपालमा यातयातको लागि राजमार्गहरु नबनेको अवस्थामा मित्रराष्ट्र भारतको सिमावर्ती क्षेत्रमा रहेको बाटो र साधन प्रयोग गरेर नेपालको पूर्व वा पश्चिम जानु पर्ने अवस्था थियो । उक्त अबस्थामा व्यापार लगायतका धेरै सुबिधालाई हेरेर तराईका धेरै जसो सदर मुकाम समेत भारतको सिमाना नजिक बनाईएको तथ्य हाम्रो सामु छ भने सुरुवाती अवस्थामा नेपाल भित्रबाट नै हिड्नको लागि हुलाकीबाटो भनेर तराईको दक्षिणी क्षेत्रबाटै खण्ड खण्डको रुपमा बाटोको विकास भएको पाईन्छ । नेपाल सरकारले हाल केही क्षेत्रमा त्यसैलाई र कही नयां रेखाङकन गरेर हाल भई रहेको पूर्व पश्चिम राजमार्ग भन्दा दक्षिणी भागबाट हुलाकी राजमार्गको निर्माण कार्य गरिरहेको छ । त्यही हुलाकी राजमार्गको बिरगंज- ठोरी, ठोरी-माडी-नवलपुर खण्डमा केही भाग चितवन राष्ट्रिय निकुञ्ज भित्र र केही भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । नियमानुसार वन क्षेत्रमा र ठुलो संरचना बनाउन पूर्ब जुन सुकै स्थानमा वाताववरणीय प्रभाब मुल्याङकन (EIA) गर्नु पर्ने प्राबधान रहेको छ । उक्त कार्य गर्दा वढी चालू रहेको पत्रिकामा सूचना प्रकाशित गर्नु पर्ने र सो को आधारमा फिल्डमा नै गई सरोकारवालाहरुसंग प्रत्यक्ष रुपमा छलफल गरि सम्वन्धित पक्षको लिखित राय समेत वातावरण प्रभाब मुल्याङकन प्रतिबेदनमा समाबेश गरि पेश गर्नु पर्ने हुन्छ । यस्ता ठुलो कामको लागि भौतिक योजना मन्त्रालय र वातावरण मन्त्रालयले समेत अध्ययन गरि सहमति दिनु पर्ने व्यवस्था छ । तर हुलाकी राजमार्गको चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा पर्ने खण्डको वातावरणीय प्रभाव मुल्याङकनको फिल्डमा गर्नु पर्ने छलफलमा चितवन राष्ट्रिय निकुञ्जलाई सूचना दिने र छलफलमा बोलाउंने काम हुन सकेन । जसको फलस्वरुपत उक्त वातावरणीय प्रभाब मुल्याङकन रिपोर्टमा चितवन राष्ट्रिय निकुञ्जको कुनै राय समाबेश हुन पाएन । जबकि ठोरी माडी १५ कि.मि निकुञ्ज र मध्यवर्ती क्षेत्रको सिमाना सम्पूर्ण वन क्षेत्र पर्दछ । माडी जगतपुर ५ कि.मि. सम्पूर्ण निकुञ्ज भित्र पर्दछ । मेघौलीको गोलाघाटदेखि कावासोती.खण्ड करिब ५ कि.मि. सम्पूर्ण निकुञ्ज भित्र पर्दछ भने निर्मलवस्ती र ठोरीमा १३ कि.मि., माडीमा २५ कि.मि. पश्चिम चितवनको जगतपुर शुक्रनगर र मघौलीको गोलाघाट सम्म गरि करिब १७ कि.मि, हालको कावासोती नगरपालिका देखि दाउन्नेसम्म करिव ४० कि.मि सडक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । यसैका कारण हुलाकी राजमार्गको पश्चिम चितवन -कावासोती खण्ड अन्तर्गत मेघौलीको गोलाघाटमा नारायणी नदीमा पुल निर्माणको ठेक्का स्वीकृत भई पप्पु कन्ट्रक्सन प्रा.लि ले काम शुरु गरेको भएता पनि वातावरणीय प्रभाव मुल्याङकनमा चितवन राष्ट्रिय निकुञ्जलाई समाबेश नगराएको र कुनै जानकारी बिना काम शुरु गरेको हुँदा काम अगाडी बढ्न नसकेको अवस्था छ ।

चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकोले यस भित्र कुनै पनि निर्माणका कार्यहरु गर्दा युनेस्कोले सहमति दिनु पर्ने प्राबधान छ भने कामको आबश्यकता र उक्त कामबाट न्यून जोखिम हुन्छ भन्ने लागेमा मात्र युनेस्कोले सहमति दिन सक्दछ । यो अन्तराष्ट्रिय संस्था भएकोले नेपाल सरकारको अनुमति भए पनि यसले अनुमति नदिएमा काम हुन सक्दैन । त्यसैले कम जोखिम वा डिस्टर्ब हुने गरि योजना बनाउन र उक्त कुरा बुझाएर अनुमति लिएर काम गर्नु नै बुद्धिमत्ता हुन्छ । अतः हुलाकि सडकका सन्दर्भमा निम्न उपायहरु अवलम्वन गरेर अगाडी बढ्नु मुनाशिव देखिन्छ ।

(क) ठोरी—माडी खण्डः

राष्ट्रिय निकुञ्ज र मध्यवर्तीको सिमानामा पर्ने ठोरी—माडी सडक खण्डमा पर्ने चुरेको भाग दबुवाखोला देखि अमुवा खोला नजिक सम्म अण्डर ग्राउण्ड र अन्य खण्डमा ओभरहेड पुल र सतहमा बाटो बनाउन सकिने अवस्था देखिन्छ । यसबाट चितवन राष्ट्रिय निकुञ्ज र मित्रराष्ट्र भारतको बाल्मिकी टाईगर रिजर्भसम्म वन्यजन्तु ओहोर दोहोर गर्ने कोरिडोर सुरक्षित हुन्छ । बगाई, दबुवाखोला, अमुवाखोला दिपकनगर शिकारीबास जंगली हात्तीको बासस्थान एवं पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा ओहोर दोहोर गर्ने मुख्य बाटो हो । बर्षभरी यो बाटो हात्तीले प्रयोग गर्ने गरेको पाईन्छ भने पटक पटक यस खण्डमा मानिसहरुले हात्ती भेट्ने र कैयौ पटक हात्तीले मानिसलाई आक्रमण गरेको मृत्यु र घाईते भएका घटनाहरु पनि छन । बिगतमा जंगली हात्तीले बसलाई लखेटेको र हात्तीले रुख ढलाएर अबरुद्ध गरेको सडकमा उक्त रुख हटाउन बसबाट झरेको अबस्थामा हात्तीले आक्रमण गरी मानिसको मृत्यु समेत भएको छ । तसर्थ मानिसको सुरक्षाको साथसाथै वन्यजन्तुको वासस्थान र कोरिडोर संरक्षणको लागि पनि ओभरहेड र अण्डरग्राउण्ड गरि बाटो बनाउन उपयुक्त हुने देखिन्छ ।

(ख) धुब— बनकट्टा (जगतपुर माडी) खण्डः-

माडीबासीहरु सदर मुकाम भरतपुर आवत जावत गर्दा पार गर्नु पर्ने निकुञ्ज भित्रको मुख्य भाग हो । यस खण्डमा चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको चुरे पहाड पूर्वबाट क्रमश होचो हुंदै यहांसम्म आई पुग्दा निकै होचो भएकै कारण यहांबाट सजिलोसंग गाडी चल्ने बाटो बन्न सकेको हो । अन्यथा यहांबाट माडी जांदा माडी पश्चिमको अन्तिम मागमा पुगिन्छ भने चुरे पहाड नभएको भए पटिहानीबाट सिधा माडीको करिब बीचमा पर्ने मुख्य बजार बसन्तपुर जान सकिने थियो । यस खण्डको बीचमा अग्लो भाग पर्ने भएकोले उक्त भागमा अण्डर ग्राउण्ड र उत्तर तर्फ राप्ती नदीबाट देउरालीसम्म ओभरहेड पुल र दक्षिणबाट रिउखोलाबाट करिब १ कि.मि.भित्रसम्म ओभरहेड पुल बनाएमा वन्यजन्तुको बासस्थानको खण्डीकरण नहुने, नेपालमै पहिलो निकुञ्ज भित्र ओभरहेड पुलबाट वन्यजन्तुको अवलोकन गर्दै माडी आवागमन गर्न सकिने र चौबीसै घण्टा गाडी चलाउन मिल्ने अवस्था हुन्छ । यसले गर्दा माडी आन्तरिक एवं वाह्य पर्यटकको राम्रो गन्तव्य स्थल बन्न सक्दछ । साथै निकुञ्जको नियमावलीमा नै नभएको हाल थप निकुञ्ज भित्र हिड्नु पर्ने वाध्यतामा रहेको ध्रुवदेखि कसरा सम्मको बाटो हिड्नु पनि नपर्ने हुन्छ ।

 

(ग) नारायणी नदीको उत्तरी र दक्षिण भंगालोको बीचमा पर्ने (चितवन र नवलपुर जोड्ने खण्ड)

धुबबाट शुक्रनगर हुदै मेघौलीको गोलाघाटबाट नवलपुरको पिठौली जोड्नको लागि गरिएको बाटोको योजना निम्न कुराहरुले गर्दा त्यति उपयुक्त देखिंदैन ।

 

(१) गोलाघाट राप्ती नदी र नारायणीको दक्षिणी भंगालोको संगम स्थल हो । राप्ती र नारायणी एकै पटक बढेको अबस्थामा उक्त क्षेत्र डुबानमा पर्ने गरेको छ । पुल बनाउंदा दुबै तर्फ बाध लगाउनु पर्ने हुन्छ र उक्त बांधले पानीको बहाब रोकिदिनाले पानी उक्त पुल बनाएको स्थान भन्दा पूर्बबाट नै गाउ पसेर नारायणी नदी नै राप्ती नदी तर्फ जान सक्ने अवस्था रहन्छ । यसले मेघौलीको स्यालबास र गोलाघाट नजिकको बस्ती नै जोखिममा पर्दछ ।

(२) गोलाघाट क्षेत्र अत्यन्त दुर्लभ घडियाल गोही र सोसको समेत राम्रो बास स्थान हो भने चितवन राष्ट्रिय निकुञ्जको मुख्य खण्डबाट बाघ,गैंडा निकुञ्जको नारयणी बीचको टप्पुहरुमा आवत जावत गर्ने मुख्य स्थान हो । साथै गोलाघाट वरिपरिको क्षेत्र बाघ गैंडाको राम्रो बासस्थान भएको क्षेत्र पनि हो ।

(३) गोलाघाटबाट हुलाकी बाटो पार गराउंदा नारायणी नदीको दक्षिणी भंगाले र नवलपुर (निकुञ्जको दक्षिणी सिमना र उत्तरी सिमाना) तर्फको भंगालोमा पुल बनाउन त पर्छ नै त्यसका साथै यस क्षेत्रमा धेरै संख्यामा आईल्याण्डहरु पर्ने भएकोले दुई मुख्य भंगालोको बीचमा पनि (निकुञ्ज भित्र) धेरै संख्यामा पुल बनाउन पर्र्दछ । किनभने हिंउदमा पानी कम हुंदा जमिन देखिएता पनि बर्षादको समयमा नारायणी नदी बढेको समयमा होचो भाग पुरै पानीले ढाक्दछ । बर्षादको समयमा गरिएको स्थलगत अवलोकन र त्यतिबेला खिचिएको फोटोहरुको बिष्लेषणबाट मात्र वास्तविक अवस्था आंकलन गर्न सकिन्छ ।

उपयुक्त बिकल्पः

माडीबाट जगतपुर निस्केपछि उक्त स्थानबाट सोझै उत्तर जाने हो भने चनौली हुदै गुञ्जनगरको गांजीपुर पुगिन्छ । नारायणगढबाट त्यहांसम्म नारायणी नदी एकत्रीत भई बगेको छ भने गांजीपुरबाट भंगालो फाटेर मुख्य दुई (नवलपुर तर्फ र चितवन तर्फ) भागमा बाँडिएको र सो को बीचमा स-साना धेरै भंगालोहरु भई बगेको छ । उक्त स्थानमा पुल बनाउंदा नवलपुर तर्फ हर्कपुर नजिक जोडिन्छ । यस स्थानमा नदीको बहाब अलि तेज जस्तो देखिने भएकोले ओरालो बढी भए जस्तो लाग्दछ । त्यसैले पुल बनाउंदा पानीको बहाब रोकिने जस्तो लाग्दैन तथापी अध्ययन गर्न आवश्यध पर्दछ । यस स्थानमा पुल निर्माण गरिएमा निम्न फाइदा देखिन्छ ।

क. निकुञ्जको क्षेत्र भन्दा बाहिर मध्यवर्ती क्षेत्रमा पर्ने ।

ख. दियालो मध्यवर्ती सामुदायिक वनको केही भाग मात्र पर्ने ।

ग.नवलपुर तर्फ कुनै पनि वनक्षेत्र नपर्ने ।

घ नारायणी नदीमा एउटै पुल बनाए पुग्ने ।

ङ. पश्चिम चितवनको सबै क्षेत्रलाई सजिलो हुने ।

च. मेघौलीबाट पनि करिब ६-७ कि.मि पूर्ब जांदासाथ उक्त बाटोमा पुगिने ।

छ. माडीबाट जगतपुर हुंदै सिधा उत्तर जांदा गांजीपुर पुगिने र बाटो घुमाउरो पनि नहुने

कम लागत खर्च, कम दुरी, वन्यजन्तु एवं वन्यजन्तु मैत्री र दिगो एवं धेरै जनसमुदायले लाभ लिनसक्ने गरी हुलाकि सडक निर्माण गरिएमा माडी उपत्यकालाइ सडक सञ्जालमा जोड्न र माडीको समग्र बिकासमा समेत महत्वपूर्ण सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

बाँकी अर्को अंकमा क्रमशः

(लेखक चितवन राष्ट्रिय निकुञ्जका सेवा निबृत्त संरक्षण अधिकृत एवं चितवन जगतपुर निवासि हुन )

 

प्रतिक्रिया

सम्बन्धित खवर